मुक्तक -१
सद्भाव हुन्जेल प्यारो सबै, सारा कुरा सहिँदोरैछ
जस्तै वचन लाए पनि, पहाड जस्तै रहिँदोरैछ
सम्बन्धले नेटो काटे, गन्तव्यको बाटो फाटे
मन भाँचिँदै जान्छ अनि, दु:ख कतै नकहिँदोरैछ ।
मुक्तक -२
दुनियाँ आफ्नै पार्ने नाता, गाँस जसरी गाँस्न सक्छौ
कृत्रिमै सही मुस्कान ओठमा, टाँस जसरी टाँस्न सक्छौ
नाटक रैछ जिन्दगानी, जिउनै पर्छ जानी नजानी
तिमीभित्रै छ खुशीहरु, हाँस जसरी हाँस्न सक्छौ ।
मुक्तक -३
व्यवहारले नचिनुन्जेल, जस्लाई पनि जाँचिंदो रैछ
विपत पर्दा लाएका गुन, जिन्दगीभर साँचिंदो रैछ
गुन र बैगुन चिन्नू पर्छ, सत्य बाटोमा हिन्नु पर्छ
बदला लिए दु:ख पर्दा, जसको नि मन भाँचिंदोरैछ
मुक्तक -४
मलाई आफ्नै नियतीले, कम्ति हुर्मत लिएन अहो
दु:ख-कष्ट, हण्डर पनि, दिनु यति त दिएन अहो
र पनि चाह गल्ने होइन, महत्वाकांक्षा ढल्ने होइन
मृगतृष्णा यो जिन्दगीका, कहिले पनि सकिएन अहो ।
मुक्तक -५
सुखको भ्रम परेपछि, सानै स्वार्थमा फकिँदो रैछ
बिबेकशून्य भएपछि, विद्वान पनि छकिँदो रैछ
खुशी-आनन्द खोज्दा-खोज्दै, गन्तव्य आफ्नो रोज्दा-रोज्दै
ख्यालै ख्यालमा थाहै नपाई, जीवन यसै सकिँदो रैछ
✍ गोम बिक्रम
[email protected]
कल्लाबारी, पाल्पा ।