जसले जिते जेलबाटै पुस्तक लेखेर अस्ट्रेलियाकै सबैभन्दा उच्च धनराशिको साहित्यिक पुरस्कार

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौं । इरानस्थित कुर्दिस म्यागेजिन ओर्याको कार्यालयमा सन् २०१३ मा इरानी रेभुलुसनरी गार्डले छापा मारेपछि पत्रकार तथा लेखक बेहरूज बोचानीले ३ महिनासम्म लुकेर ज्यान जोगाए।

त्यसै वर्षको मे २३ मा इरानबाट भागेका बोचानी इन्डोनेसियाबाट डुंगामार्फत अस्ट्रेलिया पस्न लाग्दा क्रिस्मस टापुमा पक्राउ परे।

पक्राउ परेपछि उनलाई पपुवा न्युगिनीस्थित मानुस टापुस्थित अस्ट्रेलियाली थुनावा केन्द्रमा राखियो।

६ वर्षदेखि थुनामा रहेका तिनै बोचानीले अहिले आएर अस्ट्रेलियाकै सबैभन्दा बढी धनराशिको साहित्यिक पुरस्कार जितेका छन्। रोयटर्समा प्रकाशित खबर अाजकाे कान्तिपुर दैनिकले छापेकाे छ।

थुनामा परेपछि बोचानी बेचैन भए। उनी साहित्य लेख्न थाले। फारसी भाषामा लेख्थे र त्यसलाई ह्वाट्सएपबाट अनुवादक ओमिड तोफिघियानलाई पठाउँथे।

करिब ६ वर्षसम्म यस्तै चलिरह्यो । परिणाम निस्क्यो- ‘नो फ्रेन्ड बट द माउन्टेन्सः राइटिङ फ्रम मानुस प्रिजन’ पुस्तक।

यही पुस्तकले सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन पुरस्कार जितेको हो। साहित्यतर्फ अस्ट्रेलियाकै उत्कृष्ट यो पुरस्कारको राशि १ लाख अस्ट्रेलियन डलर छ।

यसले २५ हजार अस्ट्रेलियन डलर राशिको गैरआख्यानतर्फको अर्को पुरस्कार पनि जितेको छ।

‘यो मेरा लागि विरोधाभासपूर्ण अनुभूति हो,’ पुरस्कार घोषणाको खबर सुनेपछि उनले भने, ‘केही कुराले म धेरै खुसी छु । हाम्रा दुस्खबारे धेरैको ध्यान तानियो र धेरै मानिसले हाम्रो अवस्था थाहा पाए ।’

थुनुवा केन्द्रबाट मुक्त हुनु र नयाँ जीवन सुरु गर्नु पुरस्कारभन्दा पनि महत्त्वपूर्ण रहेको उनले बताए।

‘ह्वाट्सएप मेरा लागि कार्यालयजस्तै हो,’ उनले भने, ‘मैले कागजमा लेखिन किनभने सुरक्षाकर्मीले नियमितजसो हाम्रो कोठामा छापा मार्थे। मलाई आफ्नो लेखन हराउने वा सुरक्षाकर्मीले नियन्त्रणमा लिने डर थियो। त्यसैले ह्वाट्सएपमार्फत लेख्दै पठाउन सजिलो लाग्यो ।’

निर्णायकहरूले उनको पुस्तक ‘साधारण विवरणभन्दा माथि उठेको कला र आलोचनात्मक सिद्धान्तको अविश्वसनीय कार्य’ ठहर्‍याएका छन् ।

पुरस्कारका लागि अस्ट्रेलियन नागरिक वा त्यहाँको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान हो। तर पुरस्कार प्रदान गर्ने संस्था ह्वीलर सेन्टरले निर्णायकहरूको अनुरोधमा बोचानीलाई अपवादका रूपमा दिइएकाे जनाइएकाे छ।

ताजा अपडेट

खोजी गर्नुहोस