भाषण सुनी अघाइयाछ !

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ चैत्र १४, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

गोम बिक्रमका ५ मुक्तकहरु

मुक्तक- १

चलोस भित्र कुही-गन्ध, बाहिर मुखमा टलक देख्छु
आदर्श छाँट जहाँ-जति, बेइमानीकै झलक देख्छु
निर्धालाई रुवाइकन, गोहीका आँसु चुहाइकन
अगाडी पुग्ने सधैभरी, मिचाहाकै खलक देख्छु ।

मुक्तक – २

संघर्ष गरे बेलै माथी, तालुमा आलु फल्दोरैछ
जुङ्गाले छेक्ला खाने मुख, ईर्ष्यालु लोक जल्दोरैछ
कागले जति भुक्दै गर्छ, पिना आखिर सुक्दै गर्छ
चार अरबको कुरामा नि, हल्ला त ‘ठूलै’ चल्दोरैछ ।

मुक्तक -३

मुहार हेरूँ पौरखीको, जहिले मुजै-मुजा हुन्छ
सधै मनले आश गरेका, सपना धुजै-धुजा हुन्छ
राजनीतिका मेलै कस्ता, धूर्तहरुको खेलै कस्ता
करोडौं खाई पचाउनेको, देशमा पूजै-पूजा हुन्छ ।

मुक्तक -४

भ्रष्टाचारी गुण्डा तस्कर, बलात्कारी सब मच्चिनुपर्छ
मच्चिनु जति मच्चिएसी, नउठ्ने गरी थच्चिनुपर्छ
तमासा यिनका धेरै भए, स्वच्छ बलिदानी खेरै गए
लोकतन्त्रका हिमायती, अब त साँच्चै सच्चिनुपर्छ ।

मुक्तक – ५

मनको बागमा समृद्धिका, बोट अनेक लगाइयाछ
पूरा हुन जेसुकै होस, सपना मीठा सजाइयाछ
विवेक सधै भुट्दै गए, मुलुक सधै लुट्दै गए
गर्न ‘उलाङ्ग’ भए पनि, भाषण सुनी अघाइयाछ ।

गोम बिक्रम

ताजा अपडेट

खोजी गर्नुहोस