माघ २४, काठमाण्डौ । प्रगतिशील लेखक संघ (प्रलेस) को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन गरिने भएको छ । २३ फागुनमा भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा व्यवस्थापन र आरएम डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । अभिनन्दनका अवसरमा प्रलेसका पूर्वअध्यक्ष भट्टको जीवनी, व्यक्तित्व र कृतित्वसम्बन्धी लेखरचना समेटेर अभिनन्दन ग्रन्थ र परिचय पुस्तिका पनि प्रकाशन गरिने छ । कृतिका लागि फागुन १० गतेसम्म लेखरचना पठाउन आयोजक समितिले लेखकहरुलाई आग्रह गरेको छ ।
विसं १९९३ असोज २५ गते पिता जयदेव र माता हीरादेवीको कोखबाट जुम्लामा जन्मीएका भट्टका काव्य, समालोचना एवं समीक्षा, निबन्ध, दर्शन, भाषा र राजनीतिसम्बन्धी कृति र अनुवाद गरी १६ कृति प्रकाशन हुनाका साथै उनले केही साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् ।
उनले करीब ३५ वर्ष त्रिविअन्तर्गतका धनकुटा, सुनसरी, चितवनका कलेज, अङ्ग्रेजी केन्द्रीय विभागमा अध्यापन, त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक भएर काम गरेका थिए ।