कविता :रगतको मूल्य

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • ५५ पटक पढिएको
Post Thumbnail
सपनाको गर्भमा ब्रम्हलुटको भ्रुण पाल्ने ए राष्ट्रवादीहरु!
तिमीलाई शव्दको सानो कोसेली पठाउँदैछु
हिम्मत गरेर खोल र हिम्मत गरेरै ग्रहण गर
चुनौति या अवसर जेसुकै मान तर मनन गर।
तिमीले वाँडेका फोस्रा सपनाहरु एकएक फिर्ता लैजाऊ
र गुदी भरेर आशाका बस्तीबस्तीहरुमा पठाऊ
हिजो तिमीले छेडेका युद्धले उजाड बनाएका पाखाहरुलाई
विकासको हरियालीले सिंगारेर सजाऊ
हिजो तिमीले छेडेको युद्धबाट निस्किएको आगोले
संसार जलाएर निस्किएको खरानी
आजसम्म पनि आँखै बिझाउने गरि उडिरहेको छ
त्यहि आगो तापेर आफ्नो शरीर न्यानो पार्नेहरु
आजसम्म न्यानोको न्यानै छन्
तर
त्यही युद्धमा आफ्ना सन्तान गुमाउने आमाहरुका
परेली अझै ओभाएका छैनन्
श्रीमतीहरुको सिउँदो रंगहीन भएको छ
टुहुरा छोराछोरीहरु अलपत्र छन्
के कुनै आधिकारिक लेखाजोखा र सहानुभूति छ तिमीसँग?
म कुन चिहानमा गाडिएँ र कुन गेटमा उभिएँ
अझै कतितिर ठडिउँला इतिहासमा
कुन स्वार्थ उचाल्ने मुद्दाको पात्र बनें
तर मेरो बगेको रगत तिम्रो दरबारको कार्पेट रंगाउने र तिम्रो संघार पोत्ने रंग हैन
तिम्रा सस्ता नारा लेख्ने तुल रंगाउने मसी हेैन
मेरो छिनेको टाउको तिम्रो दाउ लाउने बाजीको यन्त्र हैन
मेरो अस्तित्वबनाको तिम्रो राज्य राज्य हैन
त्यसैले मैले बगाएका पसिनाका खोलाहरु तिम्रो राजनीतिको दुर्गन्धित ढलमा मिसाइनु हुँदैन।
बरु,
खुइलिएको मेरो देशको झन्डा मेरो रगतले पोतिदेऊ
दुस्मनले हडपेका मेराे देसदका भू-भागहरुमा
मेरो रगतले सिमाना कोरेर संसारलाई देखाइदेऊ।
अब लालुपाते र लालीगुराँस मात्र हैन
तिम्रो बस्तीभरी हरेक फूल रातो हुनुपर्छ
पातपात टल्किनुपर्छ र मेरो रगत टल्किनुपर्छ
बाह्रै महिना सेतो हुने मेरो उत्तरको हिमाल
अब फटिक रातो हुनुपर्छ
किनभने मेरो रगत यी हिमालमा जम्ने हिउँभन्दा
पनि धेरै नै बगेको छ।
आऊ, मेरो रगत लगेर मेरी प्रेयसीलाई देऊ
अनि त्यही रगतले सिउँदो रंगाउने अनुमति पनि देऊ
मेरो सन्तानलाई टीका लगाइदेऊ र सम्झाइदेऊ
“तिम्रो बाबाको रगत हो यो”।
त्यसपछि यो बस्ती राताम्मे हुनेछ
रातो फूल, रातो रुख र रातो अन्न मात्र हुनेछ
अनि मेरो मुटुकलेजो पकुवा लगाएर खाने
मेरा ती कायर दुस्मनहरुलाई सम्झाइदेऊ कि
मेरो रगतबाट हजारौं विरहरुको जन्मिएका छन्
रातो रङ देख्न नमान्ने तिनका आँखा
तिनै राता काँडाहरुले फुटाउनु अघि
तिनले पनि रातो संसारको सौन्दर्यताको
पूरापूर अनुभुति गरून्।
रंगिन र रंगहीन दुनियाँको भिन्नता बुझुन्
अनि मेरो जीवित रगतको परिचय पाउन्।
त्यसैले तिमीलाई फेरि भन्छु,
मेरो रगतको सदुपयोग गर
झन्डा रंगाऊ, सिमाना रंगाऊ,
 सिङ्गो ईतिहास रंगाऊ
गाउँ र बस्तीहरु रंगाऊ,
 विचार र जोसजाँगर रंगाऊ
बाटाघाटा र पाखापखेरा रंगाऊ
हिमाल, पहाड र तराई रंगाऊ
राष्ट्रिय एकता, सार्वभौमसत्ता
 र अखन्डता रंगाऊ
स्वाभिमान र स्वतन्त्रता रंगाऊ
रंगहीन ओठका रहरहरु रंगाऊ
मैले छातीमा बोकेर हिड्दाहिड्दै
म आफैं सालिकमा सिमित हुन पुगेको
मेरो प्यारो र पवित्र जन्मभूमि
सिङ्गो नेपाल रंगाऊ
अनि मलाई सुनाउन आऊ
मेरो रगतको मूल्य कति भयो!
                             ✍️रामचन्द्र अधिकारी, झापा

ताजा अपडेट

खोजी गर्नुहोस