कोपिला त्यो सानो फूल आज फक्रिने सुर गर्यो ।
घरमा सुनाउ मैले कसो गरी पर्नु पिर पर्यो ।।
मनमा अनेक डर बोकिकनआमाको नजिक सरी ।
आमा मलाई के भो यस्तो भनेँ सुँकसुँक गरी ।।
ठुली भयौ छोरी तिमी अब रुन हुन्न ।
भन्दै थिइन् बाउमाइती र घर छुन हुन्न ।।
घुर्क्याउँदै भनेँ आमा बरु केही खान्न ।
आफ्नै कोठाभित्र बस्छु,बिन्ती अन्त जान्न ।।
भयो छोरी अब तिमीले जिद्दी नगर्नु ।
गाई गोठमा बस्नु अनि नौ दिनसम्म बार्नु ।।
सुन्ने कोही भएनन् त्यहाँ मैले जति रोए पनि
जबर्जस्ती गोठमा छाडे यहीँ बस भनी ।
टन्टलापुर घाम थियो बाहिर मनमा धब्बा कुहिरो ।
हल्ला भयो गाउँभरि लाग्यो जिस्काउनेको धुइरो ।।
गिज्याउँदै भन्दै थिए ,ओइ के भो साँच्चै भन्न ।
परिपक्क भैछ्स् तँ पनि अब आमा बन्न ।।
मुख मिठाई आउँथे अनेक गिद्दे सिमा मिचीमिची ।
रुँदै बस्नु पर्या थियो आफूले मनपेट थिचीथिची ।।
मलाई जस्तो दुःख नहोस् अब बानी फेर्नुपर्छ ।
गाह्रो पर्ने यही बेला हो सबले बुझी हेर्नुपर्छ ।।
अन्धविश्वास हटाउन आफैँ लाग्नुपर्छ डटेर ।
केही हुनेवाला छैन यहाँ पुस्तक मात्र रटेर ।।
रजस्वलाबिना सृष्टि कतै चल्नेवाला छैन ।
प्रकृतिको नियम बुझौँ हामी अभिशाप हैन ।।
बिनिता पौडेल ‘बिनु’
इटहरी , सुनसरी