मनस्तरङ्गिणीः ज्ञानको सुमेरू (पुस्तक समीक्षा)

Post Thumbnail

टी.एन. विश्वामित्र

उमेरले  सत्तरी वसन्त पार।  होचो होचो कद।  चिटिक्क सुहाएको गोरो अनुहार। त्यहि गोरो अनुहारमा फुस्फुसाइरहने मन्द मुस्कान। झोलामा दुइ चारवटा किताब बोकेर, कहिले बस चढ्दै, कहिले हिड्दै युवा जोश बोकेर हिड्ने एक जना सकरात्मक सोच राख्ने साहित्यकार, कवि र दार्शनिक याने – प्रकाशमणी दाहाल। सायद, अझै कम भने क्यार! म शब्द भन्डारमा गरिब छु।

उनको झोला एउटा स- सानो पुस्तकालय हो जसमा सबै उमेर समुहका मान्छेलाई मन पर्ने थरि थरिका कविता, आख्यान, गैर आख्यान हुन्छन्। त्यसो त  अनुवाद  देखि समालोचना र दर्शनका पुस्तकको चाङ् पनि हुन्छ उनको झोलामा। एक दिन त्यहि झोलाबाट आधि दर्जन पुस्तकहरू हामफाले मेरो काखमा। मायाको पछेउरारूपी झोलाले ढाक्दै ल्याएँ मेरो लाइब्रेरी सम्म। ती आधा दर्जन पुस्तकको विचमा एउटा आकर्षक देखिने पुस्तक थियो कथालयले प्रकाशन गरेको  ‘मनस्तरङ्गिणी’। जान्दा जान्दै पनि यो पुस्तकको वारेमा जति लेखे पनि कम हुन्छ र न्याय हुदैन, पुस्तकले स्टिमुलेट गर्यो। मेरो पनि प्रकाशमणी दाहालले यो पुस्तकमा भने झै, मेरो पनि त मनै हो, चन्चल बन्यो।

कस्तो अफ्ठेरो नाम!  कनिकुथी अँग्रेजी साहित्य पढेको आलोकाचो मैले करिब तीन पटक उच्चारण गरे त्यो शब्द ‘‘मनस्तरङ्गिणी’। उच्चारण गर्न त यति गाह्रो छ भने पढ्दा कति गाह्रो होला? मन मनै सोचें। मन नै मान्छे हो र मन जति संवेदनशील हुन्छ मान्छे त्यत्तिकै अशल हुन्छ भन्ने मूल उध्येस्यका साथ लेखिएको यो पुस्तकमा मनको उत्पत्ति, निर्माण विकास लगायत मुख्य प्रकृति , प्रवृत्ति र विशेषताका साथै मौलिक अङग भय र प्रेम लगायात विभिन्न पक्षलाई सके सम्म औपन्यासिक ढाँचामा लेख्ने प्रयास गरिएको छ।

पूर्वकथनबाट शुरु भएको यो पुस्तकभित्र धेरै विषयवस्तु छन्। पढ्दा उपन्यास हो जस्तो पनि, उपन्यास हैन जस्तो लाग्ने यो पुस्तकको बान्कि चाहि उपन्यास नै परेको छ। वहुत चातुर्यपूर्ण तरिकाले लेखकले जीवन दर्शन, इतिहास, मनोविज्ञान, र विज्ञानका विषयवस्तुलाई उपन्यासको साँचो भित्र हालेर बौदिक खुराक पस्केका छन्। वास्तवमा भन्ने हो भने एकोहोरोरूपमा दर्शन, इतिहास, साहित्य र विज्ञानका विषयबस्तु पढ्दा अल्छि लाग्ने हुन्छ जव यी कुराहरूलाई आख्यानको साँचोमा हालेर पस्किन्छ अनि पढौं पढौं लाग्ने हुन्छ। हो, यस्तै छ यो पुस्तक। प्रकाशमणी दाहालभित्र दर्शन, इतिहास र मनोविज्ञानको अथाहा भण्डार छ जुन पाठक सम्म आउनु जरूरी थियो नत्र यो समय र आउने समयले समेत यो महत्वपूर्ण ज्ञानको लालित्यवाट शुसोभित हुने अवसर गुमाउथ्यो। त्यसो त गैर आख्यानकै रूपमा लेखेको भए पनि कतिलाई आकर्षित गर्थ्यो थाहा छैन, तर जब यो औपन्यासिक ढाचामा आयो, यसले पाठकलाई आकर्षित मात्र हरेन, आवश्यक ज्ञान र दर्शन पनि बाड्यो।

अचम्म तरिकाबाट सुरु हुन्छ यो आख्यान। पूर्वकथनमा उल्लेखित ‘नरु र निरुले’ यो पुस्तकको प्रभावबाट शिक्षा क्षेत्रमा कसरी योगदान गरे भन्ने कुरा देखाइएको छ। नरु र निरू यि दुइ भिन्न जात र संस्कृतिबाट आएका  पात्रहरू हुन जो बस मा भेट हुन्छन। एउटा नाम बिहिन पुस्तक पढ्छन। त्यो पुस्तक उनीहरूको प्रेमको पुल बन्छ। त्यो वेलाको समयमा पनि कथित जातभातको कुसंस्कारलाई लत्याउदै बिहे गर्छन। पुस्तक पढेर उत्साहित हुदै दुबैले स्कुल खोल्छन र समाज सेवामा लाग्छन। सुविज्ञ र उनका गरु विचको सम्वादबाटै कथा अनाडि बढ्छ जसलाई ५८ वर्ष अगाडि ‘नरु र निरुले’ पढेका थिए नाम बिनाको पुस्तक।  पछि यसको नाम भयो- मनस्तरङ्गिणी’

कथा यसरी नै अगाडि बढ्छ जहाँ नरु र निरूले गुरु चेला विचको संवाद पढ्छन। त्यसमा संवादमात्र कहाँ हुन्छ र संवाद भित्र प्लेटो र उनका चेलाविचको संवाद जस्तो जसले जीवनको वारेमा, ज्ञानको वारेमा, धर्मको वारेमा, इतिहासको वारेमा, विज्ञानको वारेमा, मनोविज्ञानको वारेमा, समाजशास्त्र मानवशास्त्र देखि धर्मको वारेमा विस्तृत रुपमा वयान गर्छन। फरक के मात्र हो प्लेटोले औपन्यासिक साँचो भित्र हाल्दैनन दाहालले चाही उपन्यासको फ्रेम भित्र बडो चातुर्यपूर्ण तरीकाले अटाउदै गैर आख्यानलाई आख्यानको फ्लेवर दिन्छन जसले गर्दा यो तिहास र दर्शन पढेजस्तो बोरिङ् हुदैन बरु विच विचका संवाद, प्रयोग भएका मिथक, यौनको चर्चा, प्रेमको माधुर्यताको वर्णन आदिले पुस्तकलाई पाठकको मन छुने बनाउछन। पाठकले इतिहास वा दर्शन पढेको महशुस गर्न दिदैनन् लेखकले।

लेखकको मुख्य उद्धेश्य चाँहि काल्पनिक कथा बुनेर पाठकलाई रुवाउनु वा हसाउनु हैन। उनको मुख्य उद्धेश्य अनुसन्धानमा आधारित निचोड, जीवन दर्शन, खासगरि मन र मनले अङ्गमा ल्याउने तरङ्ग र तरङ्ले ल्याउने प्रभाववाट तरङ्गित जीवन र यस्का सकारात्मक पाटाहरू पाठक समक्ष बाड्नु नै लेखको मुख्य उध्येस्य हो। त्यसो त कति कति बेला स्वयम् लेखका अनुभव, जीवनका कथा र मनका तरङ्ग पनि नभिने चाहि हैनन्। एउटा अचम्म लाग्दो कुरा चाहि यो पुस्तकमा के चाही छैन भन्ने नै हो। एकजना मान्छेले कति सम्म पढ्छ, कति सम्म अनुषन्धान गर्न सक्छ, ज्ञानको सिमा कति हो… कहा सम्म हो… के एकजना व्यक्तिले आफ्नो जीवनमा यी यावत कुरा जान्न वा वटुल्न सक्छ? त्यसो त लेखकले इमान्दारीपुर्वक सन्दर्भ सामाग्री राखिदिएर पुस्तकको विस्वासनियता र एउटा अनुषन्धान कर्ताको इथिकालिटी पनि राम्रोसँग देखाएका छन। तर किताव पढ्दा यस्तो लाग्छ लेखक प्रकाशमणी दाहाले के चाही जानेका छैनन्? के चाही पढेका छैनन? के चाही बटुलेका छैनन? माहुरी जस्ता देखिन्छन प्रकाशमणी र यो किताव माहुरीको घर जस्तो।

जीवनका महत्वपूर्ण पहलुहरू संवेदनशीलता, संवेदनहीनता, मान्छेको मन, मनका प्रकार( आदिमन, भावनामन, ज्ञान मन, विचार मन, कार्य मन) मनको ब्याख्या, मनको द्न्द, द्न्दका कारण र त्यसको व्यवस्थापन, अनुभव र अनुभूती,प्रेम र यौन,विस्वास, विवेक, भ्रम, धर्म र राज्य, मानवको उत्पति, समाजको विकास, समाजशास्त्र, राष्ट्र र राष्ट्रीयता, कला, साहित्य र त्यसको उपयोगिता ई. कति हो कति बिषय बस्तु अटाइएका छन यो पुस्तकमा। मनका अङ्ग—उपाङ्गको सेरोफेरोमा पारेर भोगेका देखेका र अनुभव गरेका कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। त्यसकारण, उपन्यासै भन्दा पनि सर्वत्र छरिएको मानव जीवनको लागि आवश्यक ज्ञान एउटै पुस्तकमा त्यो पनि अति सरल र बोधगम्य तरीकाबाट पस्किदिएर  प्रकाशमणी दाहालको पढ्न खोज्ने र जान्न खोज्नेलाई ठुलो गुन लगाएका छन्। यो उनको खुवी हो जुन खुवी थोरै मान्छेमा मात्र हुन्छ। किनकी, त्यो खुवी हुनको लागी अध्ययन अनुषन्धान, लगाव, धर्यता र प्रस्तुतीको लागि कलात्मक सिपको पनि आवश्यक पर्दछ। यो किताव ज्ञान-म्युजियम हो। मनका तह, अनियन्त्रित मन, ध्यान आदि नियन्त्रणका उपाय, सपना, स्मरण—विस्मरण आदि प्रवृती बारे अध्ययन गरिएको यो पुस्तक मनोविज्ञान मनवशास्त्र तथा साहित्यको त्रिवेणी  पनि हो जसले पाठकलाई पर्याप्त ज्ञान र मनोरञ्न दिने विश्वास गर्न सकिन्छ।

यत्रो पुस्तक लेख्नु आफैमा महान कार्य हो। त्यसो त पुस्तकमा आफैमा संपूर्णता पनि हुदैन। औपन्यासिक ढाँचामा ढाल्दा ढाल्दै पनि कति ठाँउमा तालमेल मिलेको देखिदैन। त्यसो त पुस्तकलाई ध्यान पुर्वक पढिएन भने विच विचमा नबुझिने र अल्झिने समस्या पनि उत्तिकै आउन सक्छ। कता कता समय रेखामा चिप्लिएको देखिन्छ। जस्तो कि पुस्तकमा ५८ वर्ष अगाडि बिहे भएको भनेर त्यो समय र त्यसपछिका समयलाई देखाउन खोजिए पनि ‘ आज भन्दा ५८ वर्ष अघि, भन्नाले २०७२ तिर (पेज, २८) ले टाइम लाईन चाहि नमिलेको संकेत गर्छ। यद्धपि, यो पुस्तक ज्ञानको खानी हो, जति निकाल्यो त्यती मिठो र पोसिलो कुरा निस्किदै जान्छ। तर सकिदैन…।

लेखकः प्रकाशमणी दहाल

प्रकाशकः कथालय

पेजः ४१२

मुल्य रूः ५५०

जय होस्।

 

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस