साउन २७,काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।
रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।
भोलि आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडक खण्डमा चल्ने साना गाडीलाई यो समयमा चमेरे–राखुरपिप्लेबेगखोला सडक खण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।