सउन २२,काठमाडौँ । चीनले केरुङ– काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता रिपोर्ट तयार गरेको छ । भदौ १५ भित्र रिपोर्ट बनाउने लक्ष्यसहित काम गरेको चिनियाँ प्राविधिक टोलीले प्रक्षेपितभन्दा झण्डै एक महिनाअघि नै काम सकेको हो ।
चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टले के–के निश्कर्ष निकाल्यो भन्ने जानकारी नेपाललाई अहिलेसम्म दिइएको छैन । यसबारे जानकारी लिन आगामी भदौ ४ गते नेपाली भौतिक पूर्वाधार मन्त्रालय एवं रेल्वे विभागका अधिकारीहरु चीन जाँदैछन् ।
रेल्वे विभागका एक उच्च अधिकारीका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसहितको टोली चीन जाने तयारी भएको जानकारी दिए ।
‘प्रारम्भिक सम्भाव्यता अध्ययनबाट के–के निश्कर्ष प्राप्त भयो भन्ने प्रिजेन्टेशन चिनियाँ पक्षले गर्नेछ । त्यसपछि केरुङ–काठमाडौं रेल्वे निर्माणको योजना अघि बढाउन सकिने हाम्रो विश्वास छ,’ ती अधिकारीले भने ।