-राज ढुंगाना
केही दिन अघि यसै क्षेत्रका प्रदेश सभाका सांसद राजेन्द्र पाण्डेले भनेका थिए–जनताप्रती उत्तरदायी नहुने ईट्टाभट्टा माथी डोजर चलाउनुपर्छ । केही हप्ता अघि नै नगर प्रमुख बालकृष्ण आचार्यले एक कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा नगरपालिकामा आफु आएदेखि ईट्टाभट्टा दर्ता रोकिएको र मापदण्ड विपरित रहेका ईट्टाभट्टामाथी अव एक्सन लिन्छौँ भनेका थिए । त्यस्तै केही महिना अघि नगर उपप्रमुख निरु खरेलले एउटा प्रशंगमा भन्दैथिईन–यो धुनिवेशी नगर होईन,धुवाँवेशी नगर भन्न सुहाउने भईसक्यो । यतिमात्रै होईन एक कार्यक्रममा नगरको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती दिपेन्द्र पाठकले चिन्ता गर्दै नगरलाई धुवाँमुक्त बनाउन सबैजनाले गम्भिर भएर सोच्न पर्ने दिन आएको बताएका थिए ।
यी माथीका उद्धरणहरु यो पङ्तीकारले यस कारण लिएको हो की नगरपालिकालाई स्वच्छ,हराभरा र सौन्दर्यता कायम राख्न चिन्ता सबै नेता र नगरका जिम्मेवार व्यक्तिहरुले गरेका छन । कुनैबेला सर्वदलिय बैठकमा त्यही ईट्टाभट्टा राख्न सहमती दिने नेता देखि अहिले नगरको नेतृत्वसम्म ईट्टाभट्टामाथी कडा रुपले प्रस्तुत भईरहेको देख्न र सुन्न सकिन्छ ।
कुनै समय भक्तपुर ईट्टाभट्टाले जर्जर अवस्थामा रहेको थियो । यदाकदा आजपनि त्यो दृष्य देख्न सकिन्छ तर नब्बे प्रतिशत भट्टाहरु त्यहाँबाट हटिसकेका छन । केही संख्यामा मात्रै उद्योगीले भट्टा सञ्चालन गरिरहेका छन । यस्तै केही बर्ष अघि राजधानीकै एउटा कुना दहचोकमा खेतीयोग्य जमिन मासेर ईट्टाभट्टा सञ्चालन गर्नदिन त्यहाँका नागरिकले सहमती दिए । त्यसको व्यापक प्रदुषण र भएको जमिनमा खेती नै हुन छाड्ने परिस्थती आउने संकेतपछि भट्टा हटाईयो ।
केही हप्ता अघिमात्रै काभ्रेको नमोबुद्ध नगरपालिकामा ईट्टाभट्टा सञ्चालक र नगरपालिकाबिच भट्टा नै हटाउने सहमती भयो । भलै व्यवसायीले अमिलो मन नबनाएका होईनन् । विभिन्न बाधा र अड्चनको बिचमा पनि नगरपालिकाले त्यो आँट देखायो । सम्भवत नगरले बर्षमा उठ्ने लाखौ करको वास्ता गरेन् । किनकी नगरको नागरिकको स्वास्थ्य सबैभन्दा प्राथामिकताको विषय थियो । नगरलाई आधुनिक कृषिको बाटोमा डोर्याउने नगरप्रमुखको दृढ ईच्छा रहको बताइएको छ ।
अव यहाँ आफ्नै नगरको विषय उठाऊ, यति जिम्मेवार र चिन्तित नेता र नेतृत्व भएको नगरमा ईट्टाभट्टाको सही व्यवस्थापन गर्न सकिदैन ? यो प्रश्न नगरमाथी गम्भिर बनेर तेर्सिएको छ ।
ईट्टाभट्टाको व्यवस्थापन की विस्थापन ?
खासमा भन्ने हो भने अहिलेको नगरको नेतृत्व ईट्टाभट्टाको सही व्यवस्थापन गर्ने की यसलाई पुरै विस्थापन गर्नेमा दोधार देखिन्छ । पटक–पटक ईट्टाभट्टामाथी एक्सनमा जाने भन्ने तर कहिले देखी भन्ने कुराको स्पष्ट नहुँदा नागरिकले नेतृत्व कतै यति भन्दै टार्ने प्रयत्नमा हो की भन्ने आशंका गर्न थालेका छन । ईट्टाभट्टालाई व्यवस्थापन गर्न सकिने आधारहरु के हो ?, धुँवामुक्त हुन भट्टाको अहिलेको संरचनामा सकिन्छ ? की अब नगरले उद्योगको सही व्यवस्थापनको लागी सही ठाँउ सिफारिस गर्ने ? यो विषयमा नगर अस्पष्ट भएको देखिन्छ । व्यवस्थापन की विस्थापन ? भन्ने सवालमा नगरपालिका स्पष्ट हुन सक्यो भने दुवै विषयमा एउटा निष्कर्ष निस्कन सक्छ । तर त्यो दुश्साहस नगरपालिकाले गर्न सक्छ की सक्दैन ? मुख्य प्रश्न यहाँनेर छ ।
कहाँनेर चुक्यौ हामी ?
यो पङ्तीकारले पटकपटक यहाँको ईट्टाभट्टाको प्रदुषण र जिम्मेवार संस्थाले निभाएको भुमिकाका विषयमा लेख्दै र बोल्दै आएको छ । आजपनि यो विषय उठान गर्दा मुख्य कुरा हामी यो परिस्थितीमा आउन के–के ले घर गर्यो ? हामी कहाँनेर चुक्यौ भन्ने कुरा प्रमुख विषय हो । कृषि पकड क्षेत्र धुनिवेशीमा सबैभन्दा पहिला हामीले कुन आधारमा यहाँ ईट्टाभट्टा राख्न दियौँ ? बस्तीको बिचमा खेतीयोग्य जमिनलाई मासेर बर्षमा २० हजार आउने लोभले यहाँका नागरिकले धुँवा र धुलोयुक्त उद्योगलाई सुन फल्ने आफ्नो जग्गा सुम्पिदिए ।
आज न यहाँ कुनै राम्रो तरकारी उत्पादन गर्न सकिन्छ । न त मुख खुल्ला गरेर हाई गर्न नै सकिन्छ । यो गम्भिर स्थितीमा हिजोको महाभुलबाट सिक्दै अव हामीलाई ईट्टाभट्टा चाहिदैन भन्ने आँट यहाँको स्थानियले पनि गर्ने की नगर्ने ? हिजो यो कुरामा चुकेको हामी नै हो की होईन ? नगरपालिकालाई धारे हात लाएर धुलो उड्यो,धुँवा उड्यो भन्न चाँही सक्ने, आफु जमिन दिईराख्ने यस्तो दोधारे चरित्रले हामी कसरी नैतिकवान नागरिक बन्न सक्छौँ ? त्यसकारण नागरिकको ईच्छापछि मात्रै नगरपालिकाले पनि एक्सन लिन सक्छ । सबैभन्दा पहिला जग्गा दिएर भट्टा चलाउन सहयोग गर्ने नागरिक ब्युतने कहिले ? यो मुख्य विषय हो । हामी नागरिक नै चुकेपछि कसैलाई दोष दिएर हामी उम्कन मिल्दैन । आफै हलो अड्काउने अनी आफै गोरु चुट्ने यो दोहोरो चरित्र हामी नागरिकले देखाईरहेका छौँ ।
अव समाधान के ?
मुलुकमा उद्योगको विकास र विस्तार सही ढंगले भईरहेको छैन । यसको प्रष्ट उदाहरण हो । धुनिवेशी नगरपालिकामा पछिल्लो पटक स्थापना भएका विभिन्न खाले उद्योग । मानववस्तीको छेउमा ईट्टाभट्टाको मुस्लो धुवाँदेखि बस्तीको बिचमा ग्याँस उद्योगसम्मले सिंगो नगरवासीलाई गिज्याईरहेको छ । स्वासप्रश्वासमा आउने समस्यादेखि सिमेन्ट र भट्टाको धुलो र धुँवाले समग्र नगरवासी अस्वस्थ र सौन्द्रयहीन भईरहेको बर्तमान परिप्रेक्ष्यमा अव यो विकराल स्थितीको अन्त्य गर्न जरुर आवश्यक भईसकेको छ । यसमा सर्वप्रथमत नागरिक स्तरबाटै शसक्त आवाज आउनु जरुरी छ । त्यसपछि नागरिकको साथ लिएर स्थानीय सरकारले सही र सुझबुझपुर्ण निर्णय लिन आवश्यक छ । नगरपालिका भित्र विभिन्न किसिमका उद्योग सञ्चालनमा रहेको अवस्थामा कुन उद्योगलाई कहाँ व्यवस्थापन गर्ने बस्ती नजिक भएका उद्योगलाई कुनै निश्चित ठाँउमा करिडोर बनाएर लैजान सकिन्छ की भन्ने सवालमा नगरपालिकाले अव एउटा गुरुयोजना बनाएर अघि बढ्न जरुरी देखिन्छ । सबैभन्दा पहिले ईट्टाभट्टा र सिमेन्ट उद्योगमा धुवाँमुक्त बनाउने प्रयास थाल्नु आवश्यक छ ।
सिमेन्ट उद्योगबाट निस्कने धुवाँलाई उद्योगीले व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रारम्भिक अध्ययनले देखाएको छ । तर ईट्टाभट्टाको सवालमा अहिलेको संरचना अनुसार धुवाँ हटाउन सकिने अवस्था नभएको विज्ञहरु बताउछन । यद्यपी जे हुनु भईसक्यो , अव यसको व्यवस्थापन नै नगरको मुख्य चुनौती हो । यसमा सबैपक्षसंग बहस गरेर नगरलाई औद्योगिक क्षेत्र बनाउने की हिजो कै हरियाली सहितको कृषि पकड क्षेत्र धुनिवेशी बनाउने भन्ने निर्णय गर्नु तड्कारो आवश्यक भईसकेको छ । सबैभन्दा पहिला त धुनिवेशीलाई के भनेर चिनाउने यो मुख्य कुरा हो । यसमा नगरपालिकाको नेतृत्व अलमलमा पर्न हुन्न । नगरको विकास कुन मोडलबाट गर्ने ? उद्योगको सवालमा उद्योगी,यहाँका जनता र स्थानीय सरकार नै बसेर यो विकराल अवस्थाको समाधान खोज्न सकिन्छ ।
यस विषयमा नगरपालिकाले आफ्नो ठोस धारणा ल्याउन जरुरी छ । उद्योगको कसरी व्यवस्थापन गर्ने ? यदी हानीकारक उद्योग छ भने तिनिहरुलाई म्याद दिएर हटाउने अवस्थासम्म जान अब ढिला गर्नुहुन्न । भोलीको सम्बृद्ध नगरपालिकाको सपना देख्ने आजको नगरपालिकाको नेतृत्वले नगरलाई मरुभुमीकरणको बाटोमा लैजाने की साँच्चिकै देश दुनिँयाले चिनेको हिजोको हरियाली धुनिवेशीलाई फर्काउने यहाँहरुकै हातमा छ ।