नलगाड जलविद्युत् आयोजनाको काम शुरु, बाँधस्थलसम्म जाने सडक बनाउन विस्फोट गराईयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २६, शनिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ २६,जाजरकोट । नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ ।

विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति (एमओयु) भएपछि तीन महीनादेखि रोकिएको काम शुरु भएको हो । सहमति भएसँगै आयोजनाको बाधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनका काम शुरु भएको छ ।

सेनाले सहमति बिना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग गरेको थिएन । सेनाको अडानपछि करीब तीन महीना आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो । आयोजना र सेनाबीच सहमतिपछि नलगाड नगरपालिका–७ स्थित दल्ली र चिमिरे ओडार नजिक सडकका काम शुरु भएको छ । त्यस्तै विद्युत् उत्पादन गृहको भूमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट)मा विस्फोट गराउने काम पनि शुरु भएको छ ।

सम्झौतामा विस्फोटनमा खटिएका सेनाको बीमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवा सुविधा आयोजनाले उपलब्ध गराउने सहमति भएको छ । सेनासँग सम्झौता नहुँदा सडक निर्माणका लागि चट्टानमा खोपिएका दुई हजार ७०० ‘होल’ विस्फोट हुन नसकेर काम रोकिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए  ।

सम्झौतापछि अहिले तीव्ररुपमा काम अगाडि बढेको छ । ड्रिफ्ट टनेल टेस्ट कार्यमा विस्फोटन नहुँदा डिपिआर अलपत्र परेको आयोजनाका इञ्जिनीयर थापाले बताए । नलगाड जलविद्युत् आयोजनाको डिपिआर, पहुँचमार्ग, मुआब्जा वितरण, कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्यमा ढिलाइ भएको थापाले बताए ।

कम्पनीको डिपिआरमा ढिलाइ हुँदा आयोजना नै अलपत्र पर्ने हो कि भन्ने शङ्का बढेको थियो । डिपिआर शुरु भएको ३२ महीनामा ६५ प्रतिशत काम मात्र पूरा हुँदा स्थानीयस्तरमा यस्तो शङ्का गरिएको थियो ।

३० महीनामा सम्पन्न गर्ने सर्तसहित अष्ट्रेलियाका स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए । कम्पनीले ड्रिलिङ कार्य ८० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको उनले बताए।

परामर्शदाता कम्पनीले विद्युत् उत्पादन गृहमा ३४५ मिटर भूमिगत सुरुङ नमूना परीक्षणको काम गर्नुपर्नेमा अहिलेसम्म १५५ मिटर मात्र सुरुङ निर्माण भएको छ । बारेकोट गाउँपालिकाको अधेरीखोलामा रहेको बाँधस्थलमा २४० मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा उक्त कार्य पनि शुरु हुन सकेको छैन ।

डिपिआर गर्ने समय अवधि गत मङ्सिरमा सकिएपछि छ महीना थप गरी काम गरे पनि कामले गति नपाउँदा जिल्लावासी चिन्तित भएका थिए । यो आयोजनाबाट ४१० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विज्ञका अनुसार आयोजनाबाट ६०० मेघावाट विद्युत् उत्पादन गर्न सकिने दाबी छ ।

जाजरकोट, रुकुम र डोल्पामा निर्माण हुन लागेका विद्युत् आयोजनाको विद्युत् सव स्टेशनका लागि सरोकारवाला निकायले नलगाड नगरपालिका–७ दानीपिपलमा जग्गा अधिकरणको काम शुरु गर्ने बताएको छ ।

उत्पादन कम्पनी, ग्रेट कम्पनी, नलगाड जलविद्युत् आयोजनाका अधिकारीले दानी पिपलमा जग्गा हेरेर उपयुक्त भएको भन्दै केही दिनमा जग्गा अधिकरण गरिने इञ्जिनीयर पदम थापाले बताए । जग्गा अधिकरण गरेपछि ४०० केभी प्रसारण लाइनका वितरण केन्द्र निर्माण हुनेछ । त्यसबाट डोल्पाको जगदुला हाइड्रोपावर, रुकुमको उत्तरगङ्गा, जाजरकोटको नलगाड जलविद्युत् आयोजना, भेरी ए, बी, सी, र डाँडागाउँ चिसापानी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वितरण गर्ने योजना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस