बाहिरी चक्रपथ विस्तार आयोजना अलपत्र: मन्त्रालयको निर्णय कुर्दै प्राधिकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

परिवर्तन देवकाेटा ।

फागुन ६, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाउन लागेको बहुप्रतिक्षित बाहिरी चक्रपथ विस्तार आयोजना अलपत्र बनेको छ ।

उपत्यकालाई व्यवस्थित बनाउने भन्दै प्राधिकरणले यो सडकखन्ड बनाउने जिम्मा पाएको थियो । जिम्मा पाएको लामोसमयसम्म पनि काम सुरु नहुँदा आयोजनाको काम अलपत्र परेको हो ।

कुल ७२ किलोमिटर सडकखन्डमध्ये पहिलो चरणमा चोभारदेखि गाम्चाहुँदै सतुंगलसम्मको ६ दशमलब ६ किलोमिटरको काम सुरु गर्न लागिएको थियो ।

गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकबाट पहिलो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत भइसकेको छ ।

प्राधिकरणले अहिले पहिलो चरणको सडकखन्ड निर्माणका लागि शहरी विकास मन्त्रालयमा कार्ययोजना समेत पेश गरिसकेको जनाएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले उक्त फाइललाई मन्त्रीपरिषद् बैठकले स्विकृत गरेपछि मात्रै आफुहरुले काम सुरु गर्ने जनतापाटीलाई जानकारी दिए ।

उनका अनुसार, माघ १५ गतेभित्रमा मन्त्रीपरिषद्ले यसबारेमा निर्णय गरीसक्नको लागि प्राधिकरणले कार्ययोजनामा उल्लेख गरेको थियो । तर मन्त्रालयले उक्त कार्ययोजना अझैसम्म पनि स्विकृत गरेको छैन ।

मन्त्रालयले उक्त फाइल क्याविनेटमा पेश गर्नुपर्नेमा त्यो काम नै अहिलेसम्म बाँकि बसेको छ । प्रवक्ता न्यौपानेले भने, ‘क्याविनेटले उक्त कार्ययोजना स्विकृत गरेपछि हामी काम सुरु गर्छौँ, यसमा कुनै दुविधा छैन ।’

मन्त्रीपरिषद्को निर्णयपछि बाहिरी चक्रपथ निर्माणको लागि जग्गा प्राप्ती, जग्गा अधिग्रहणलगायतका काम सुरु गर्ने प्राधिकरणको तयारी रहेको छ । प्रवक्ता न्यौपानेका अनुसार, काम सुरु भएको पाँचवर्ष भित्रमा मोटामोटी काम सक्ने गरी काम अघि बढ्ने छ ।

मन्त्रालय भन्छः सबै काम प्रक्रियामा नै

उता शहरी विकास मन्त्रालयका सुचना अधिकारी गणेश कर्माचार्य भने बाहिरी चक्रपथ निर्माणको काम प्रक्रियामा नै रहेको बताउँछन् ।
जनतापाटीसँग कुरा गर्दै उनले भने, ‘यो काम प्रक्रियामा नै छ । कहिले टुंगीन्छ भन्ने कुरा चाहिँ ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

उपत्यका प्राधिकरणले पठाएको फाइल प्राप्त भएपनि यसबारेमा निर्णय भने नहुँदा काम अलपत्र बनेको हो ।

८ सडकको डिपीआर सम्पन्न

उपत्यका विकास प्राधिकरणले निमार्ण गर्न लागेको कुल ७२ किलोमिटर लामो बाहिरी चक्रपथलाई विभिन्न १० सडकखन्डमा विभाजन गरि विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) गरिएको छ ।

यी १० सडकखन्डमध्ये अहिलेसम्म जम्मा ८ वटा सडकखन्डको डिपीआर भैसकेको छ भने दुईवटा सडकखन्डको डिपीआर हुन बाँकि नै छ । बाँकी दुई सडकखन्डको डिपीआर आगामी आर्थिक बर्षको बजेटले गर्न सकिने सम्भावना रहेको प्रवक्ता न्यौपानेले जनतापाटीलाई जानकारी दिए ।

प्राधिकरणका अनुसार काठमाडौं जिल्लाभित्रका ६.६ किलोमिटर लम्बाईमा रहेको चोभार–सतुङ्गल सडकखन्डको डिपीआर भैसकेको छ । त्यस्तै, १०.९२ किमी लम्बाई भएको सतुङ्गल–पैयाँटर सडकखन्ड, ६.० किमी लम्बाईको पैयाँटार खड्का भद्रकाली सडकखन्ड, ३.९६ किमीको सनडोल–नयाँपाटी–थलीडाँछी सडकखन्डको डिपीआर भएको छ । त्यस्तै, ६.५ किमी लम्बाई भएको खड्का–भद्रकाली–सनडोल खन्डको भने डीपीआर हुन बाँकी रहेको हो ।

त्यस्तै, भक्तपुर जिल्लाभित्रको कुल ३ सडकखन्डमध्ये २ वटाको डिपीआर भैसकेको छ । प्राधिकरणका अनुसार, ९.५१२ किलोमिटरको थली–डाँछी–भातेढिकुरो सडकखन्ड, अरनीको राजमार्गमा पर्ने ३.५ किलोमिटरको दधिकोट–सिरुटार सडकखन्डको डिपीआर भएको छ । तर, ५.६ किमी लम्बाईको भातेढिकुरो–अरनीको राजमार्ग–नयाँठिमी खन्डको डिपीआर बाँकी रहेको छ ।

ललितपुर जिल्लाभित्रमा पर्ने सबै सडकखन्डको डिपीआर भैसकेको छ । कुल ५.० किलोमिटर लम्बाईको लुभु–हरिसिद्धि खन्ड र ८.९९ किलोमिटरको हरिसिद्धि–खोकना खन्डको डिपीआर भएको छ ।

स्वरुपमा बाहिरी चक्रपथ

उपत्यका विकास प्राधिकरणले बनाउन लागेको बाहिरी चक्रपथले उपत्यकाका तीनवटै जिल्लालाई जोड्नेछ । यसका साथै, अरनिको, त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गसँग पनि जोडिने यो सडकखन्ड ८ लेनको हुनेछ ।

सडकका दुवै भागमा साइकल ट्र्याक तथा ग्रीन बेल्टसहितको फुटपाथ र ५० मिटरको बाटो बन्नेछ । बाटोको दुवै भागमा २ सय ५०–२ सय ५० मिटरको जग्गा विकास योजना बन्ने छ ।

प्राधिकरणका अनुसार, बाहिरी चक्रपथमा चारवटा फ्लाइओभर पनि बनाइनेछ । झन्डै १० वर्षसम्ममा सम्पन्न गर्ने योजनामा रहेको बाहिरी चक्रपथ निर्माणकोे लागि करिब ६८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

हट्ला त काठमाडौंको सडक जाम ?

आधुनिक, व्यवस्थित सहरिकरण तथा ग्रीनसिटीको रुपमा बाहिरी चक्रपथ कोषेढुङ्गा सावित हुने प्राधिकरणको दावी छ । त्यस्तै, उपत्यकाभित्रको अव्यवस्थित सवारी चापलाई नियन्त्रण गर्नको लागि बाहिरी चक्रपथले महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्राधिकरणका अनुसार, बाहिरी चक्रपथले सहरी तथा ग्रामीण क्षेत्रलाई प्रत्यक्ष जोड्ने छ भने बहुप्रतिक्षित काठमाडौं तराई द्रुतमार्ग पनि यहि चक्रपथमा जोडिनेछ पैदलयात्रीहरुका लागि पनि सहज हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस