*राज ढुंगाना
फागुन १३,काठमाडौँ । नेपाली कांग्रेस आफुलाई लोकतन्त्रको हिमायती मात्रै भन्दैन अन्तिम लक्ष्य समाजवाद बोक्ने मै हुँ भन्दै तिनका नेताहरु भाषणबाजीमा लाग्छन् । अरुमाथी विरोध पर्दशन गर्दा त जुनसुकै पार्टीको पारा उस्तै हो । तर आईतबार पार्टी मुख्यालय सानेपामा नेविसंघका नेताहरु आफै एक आपसमा आक्रमणमा उत्रिए । उनिहरु कति लोकतान्त्रिक र सभ्य छन त्यही संग्रामबाट बुझ्न सकिन्थ्यो । भाईभाई लडेर सानेपामात्रै होईन विगतमा कांग्रेस र नेविसंघलाई यहाँ सम्म पुर्याउन योगदान गर्ने पुर्खा हाँसिरहेका थिए होलान् भन्ने त्यही कतै भिडबाट सुनिन्थ्यो । यसबाट थाहा हुन्छ, नेपालका राजनितिकदलका नेता र कार्यकर्तामा कसरी शिष्टताको हरण हुँदैछ ?
नेविसंघमा ३२ वर्षे हदबन्दी हटाउनुपर्छ भन्ने पक्ष र विपक्षमा दुई समुह जुलुससहित पार्टी कार्यालयमा पुगेको थियो । हदबन्दीको पक्षधरको नेतृत्वमा निवर्तमान उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदी थिए भने विपक्षमा पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा पार्टी कार्यालय पुगेका थिए । दुवै तर्फको जुलुस आएसँगै ऋषिकेशजंग शाहको नेतृत्वमा रहेको समुहले अर्को पक्षमाथि एकाएक सांघातिक आक्रमण गरेपछि झडप स्थिति बनेको उपाध्यक्ष अधिकारीले अनलाईन केन्द्रलाई बताए ।
नेतृत्व नै असभ्य बन्दैछ कांग्रेसमा
पछिल्लो समय कांग्रेसभित्र जो अगुवा उही बाटो हगुवा भनेजस्तो उखान चरितार्थ भएको छ । केही दिनअघि विराटनगरमा पार्टी सभापति शेरबहादुर देउवाले एक केन्द्रिय सदस्यको नाम नै काढेर त्यो को हो ? भन्दै उर्लिएका थिए । देउवाले केही महिनाअघि कांग्रेसकै एक विशेष कार्यक्रममा एक नेतालाई ओई–ओई !! भन्दै माईकमै कराएका थिए ।
उनको यो तुच्छ अभिव्यक्तिबाटै थाहा हुन्छ की कांग्रेसमा सभ्यता हराउदै गएको छ । किसुन जी र बिपीहरुको आर्दशमै धावा बोल्न थालेका छन,कांग्रेसका नेतृत्व देखि कार्यकर्तासम्म । पछिल्लो समय सभापतिमात्रै होईन,अन्य मान्यगुन्य नेता समेत भाषणमा छुद्र र असहिष्णु हुन थालेका छन । नेताले नै त्यस्तो सुनाएपछि कार्यकर्ताले के सिकुन् ? अन्य राजनितिक दललाई अराजक र अधिनायकवादको आरोप लगाउने र लोकतन्त्रको पाठ सिकाउने कांग्रेस किन यती विघ्न भएका होला ? यहाँनेर गम्भिर प्रश्न उब्जिएको छ ।
भाई/भाई लड्दा प्रहरीलाई छुट्याउनै हम्मेहम्मे
सोनपामा यस्तो देखिदै थियो की त्यहाँ कुनै एउटै पार्टीको कार्यकर्ता वा आफ्नै–आफ्नै नलडेर फरक पार्टीका वा शत्रु/शत्रु लड्दै थिए । एउटाले भन्दै थियो-‘मारिदे त्यसलाई’, अर्को भन्दै थियो-‘ठोक्नुपर्छ’ । यसरी संग्राम चल्दै गर्दा पुगेको प्रहरीले दुई समुहको एक्कासी परेका झगडालाई मत्थर बनाउन हम्मेहम्मे नै पर्यो । तथानाम गाली गलौज र सुन्न नसकिने भाषा प्रयोग गरेर विद्यार्थी नेताहरु एक अर्कामाथी झम्टिरहेका थिए । मानौ भोलीदखि सदाका लागी यो समुहसंग कित्ताकाट नै गरेर अघि बढ्न सकियोस् । समग्र पार्टीको कार्यकर्ता भन्दापनि लडाकु शैलीमा उनिहरुको भिडन्त र हानाहान देखिन्थ्यो ।
नेताहरुले यस्तै चाहेका हुन् ?
यसैगरी सानेपामा संग्राम हुँदै जाने र अगुवालै नै ओई ! होई !! भन्दै गरिरहने हो भने कांग्रेसका नेता कार्यकर्ता सभ्य हुँदैनन् भन्ने सन्देश जान सक्छ । उनिहरु भित्र होईन खुल्ला मैदानलाई रणमैदान बनाउन पनि तयार हुन्छन् भन्ने तितोसत्य बनेर सधै रहन सक्छ । नेविसंघको विवाद घरमा मिलाउनुपर्नेमा सडकमा आएर छताछुल्ल पार्ने काम अरु कोही नभएर शिर्ष नेताहरुले नै गरेका हुन ।
पछिल्लो समय नेविसंघ विघटन गरेर नयाँ तदर्थ समिती बनाउने सवालमा नेताहरुको मैतक्यता मिल्न नसक्नु नै आईतबारको झगडा हो । आफ्नो भातृसंगठन वा संगठनका कार्यकर्तालाई एक ठाँउमा उभ्याउन नसक्नु नेतृत्वको कमजोरी हो । यसबाटै देखिन्छ की नेताहरु यो विवाद मिलाउन भन्दा पनि उछाल्न उद्यत छन । यसले कालन्तरमा नेविसंघलाई कोमामा पुर्याउन सहयोग त गर्ला नै तर नेतृत्व जन्माउने र कांग्रेस अड्याउने संगठन घाईते हुदाँ यसको मुल्य सिंगो कांग्रेसले कतिहदसम्म चुकाउनु पर्ला त्यो भविष्यले नै देखाउला ।