असार ४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन । प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे ।
उनले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कारबाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाइ नगर्ने पनि स्पष्ट पारे ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय योजना आयोगको ४५ औँ राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पुगेका उनले नागरिक र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रको विकास निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर नागरिकलाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र नागरिकको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै त्यही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।
बैठकमा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रिपरिषद्का सदस्यहरु तथा सरकारका सचिवहरुको सहभागिता रहेको थियो ।