–सन्दिप सापकोटा
मुदं कुर्वन्ति देवानां मनांसि तारयन्ति च ।
तस्मात् तन्त्र इति ख्यातो दर्शितव्यः कुलेश्वरी : ।।
–कुलार्णव
(तन्त्रले मुदिता पार्छ ,देव मानव जसलाई पनि ।तन्त्रको दर्शन गर्नै पर्छ । अनि पार लाग्छ ।)
असभ्य जंगली मानिसलाई सभ्य र ज्ञानवान् पौरखी बनाउन पाषाणयुगमा हाम्रै श्लेष्मान्तक वनमा किँरातको भेषमा पार्वती परमेश्वर शिवले प्रकट गर्नु भएको मानव धर्म हो तन्त्र धर्म ।तन्त्र शास्त्र भगवान आशुतोष शिवजीद्वारा निःशृत भएको मान्ने गरिन्छ । यसका तीन हाँगा रहेका छन् । जसलाई आगम, यामल र निगम भनेर चिन्ने गरिएको छ । यामल तंत्र शिव र शक्तिको एकताको प्रतीक हो । शिवको अर्धनारीश्वर स्वरुप तन्त्रस्वरूप मानिएको छ ।
यहाँ शिव विशुद्ध चैतन्यको प्रतीक हो भने शक्ति विशुद्ध गुणात्मक ऊर्जा हो । प्रत्येक व्यक्तिको शक्ति , कुण्डलिनी शक्तिको रूपमा विराजमान भएको हुन्छ । तन्त्र शास्त्रले जे कुरा यो ब्रह्माण्डमा छ त्यहीकुरा हाम्रो शरीर भित्र पनि रहेको हुन्छ भन्ने गर्दछ । यसैका कारण मान्छेले आफ्नो चेतना शक्तिद्वारा ब्रह्माण्डसँग सम्पर्क स्थापित गर्न सकेको हुन्छ ।मानवीय चेतना असीमित रहेका हुन्छन् । शिव संहितामा कुण्डलिनी शक्तिलाई सुप्तसर्पिणी जस्तो भनिएको हुँदा धेरै प्राचीन विद्वानहरुले यसलाई ‘जीवन अग्नि’ भनेर व्याख्या गरेका छन् । शास्त्रले हाम्रो मूलाधार चक्रमा कुण्डलिनी शक्ति रहेको हुन्छ भनेर बताएको छ । तन्त्र शास्त्र त्यै कुरालाई झंकित गर्दै जुनसुकै मान्छेले चक्र र कुण्डलिनीमा ध्यान दिन सकेको खण्डमा त्यो मान्छे सबै विद्यामा निपूण हुन सक्दछ भन्ने कुरा बताएको देखिन्छ ।
तन्त्र भनेको के ?
तन्त्र, सनातन परम्परासँग गाँसिएको आगम ग्रन्थ हो । शैव सिद्धान्तको ‘कायिक आगम’मा यसको अर्थ लाउँदै भनिएको छ–“तन्यते विस्तार्यते ज्ञानम् अनेन, इति तन्त्रम् ।” तन्त्र शब्दको निरुक्ति ‘तन्’ (विस्तार गर्नु ) र ‘त्र’ (ष्ट्रन) (रक्षा गर्नु ), यी धातु एक ठाउँमा जोड्दा त्यस्तो शास्त्र जसद्वारा ज्ञान विस्तार गर्न सकिन्छ भन्ने बुझिन आउँदछ । ‘तन्त्र’ को अर्थ लाउँदा जुन साधनाले प्रकृति र परमेश्वरलाई आफनो अनुकुल बनाउन सकिन्छ । यहाँ ‘तन्’ पदले प्रकृति र परमात्मा तथा ‘त्र’ ले स्वाधीनता बताउँदछ ,त्यसकारणले त्यो तन्त्र हो पनि भन्ने गरिएको छ । तन्त्र शब्दले सन्धी ‘विधि र उपाय’लाई जनाएको हुन्छ ।
यहाँ विधि र उपाय भनेको सिद्धान्त होइन । सिद्धान्तको कुरो गर्दा शास्त्र र व्यक्ति , व्यक्ति व्यक्ति बीच मतभेद हुन् सक्दछ । विग्रह हुन सक्छ ,वादविवाद हुन सक्दछ तर, विधिको कुरो गरे , त्यसमा कोही कसैको , कुनै प्रकारको मतभेद देखिनु हुँदैन । नदीमा डूब्न लाग्दा , त्यसबाट जोगिन , पौडेरै निस्किनै पर्दछ । बिजुली चाहियो भने पानीको वहावलाई रूपान्तरण गर्नै पर्दछ , दौडिनु पर्दा खुट्टो चाल्नै पर्दछ । हिमाल चढ्नु परे ऊँचाई तर्फ लम्किनै पर्दछ , अरु उपाय अपनाएर हुँदैन । यही क्रियालाई ‘विधि’ भन्ने गरिएको हो । यही कुरा व्याख्या गर्दै व्याकरण भन्दछ – “तनोति त्रायति तन्त्र” अर्थात जे कुरा तान्दा , विस्तार गर्दा वा र फैलाउँदा त्राण पाइन्छ त्यो नै तन्त्र हो । अर्थात् जुन कुराले मान्छेको ज्ञान क्षेत्रलाई विस्तार गर्दै, सो अनुरुपको आचरण गराई मान्छेलाई त्राण दिलाउँछ ः त्यो तन्त्र हो । यहाँ तन्त्र साधना भनेको “गुह्य या गूढ़ साधना” भन्ने जनाउँदछ । नेपालको हिन्दू र बौद्ध परम्पराको महायान र बज्रयान पन्थमा तन्त्रको प्रयोग व्यापक रुपमा हुने गर्दछ । यसबाहेक हाम्रो नेपालको सनातनी हिन्दू समाजले कुनैपनि व्यवस्थित ग्रन्थ, सिद्धान्त, विधि, उपकरण, प्रविधि वा कार्यप्रणालीलाई पनि तन्त्र नै भन्दै आएको छ । निमित्त मात्र हो । तन्त्रको निमित्त साधन शरीर नभई चेतनाको उच्च शिखरमा मान्छे पुग्न सक्दैन ।
सर्वेऽथा येन तन्यन्ते त्रायन्ते च भयाज्जनान्।
इति तन्त्रस्य तन्त्रत्वं तन्त्रज्ञाः परिचक्षते।।
‘जुन शास्त्रद्वारा सबै मन्त्रार्थ अनुष्ठानको विस्तारपूर्वक ज्ञान प्राप्त हुन्छ तथा जस अनुसार कर्म गरेर मानिसले भयबाट मुक्ति पाउँछ ,त्यो ‘तन्त्र’ हो । ज्ञान ,दर्शन, योग, कर्मकाण्ड, विशिष्ट साधना , पद्धति तथा समाजिक आचार विचारको नियम, सांख्य तथा वेदान्त दर्शनको अद्वैत विचारको प्रभाव तन्त्र ग्रन्थमा परेको छ । तन्त्र शास्त्रमा प्रकृति सँगै शिव, अद्वैत दुईटैको कुरो गरिएको छ तर तन्त्र दर्शनमा ‘शक्ति’ (ईश्वरको शक्ति) मा विशेष बल दिईएको छ ।यति मात्र नभई तन्त्र प्रकृतिको अनिवार्य नियम हो ।
तन्त्र परम्परा नेपालको सनातन हिन्दू ,बौद्ध ,जैन ,सिख ,बोन , किराँत ( टों ), वहर्थमान , दाओ तथा जापानको शिन्तो आदि परम्परामा प्रशस्त प्रयोग हुने गर्दछ । नेपालमा तन्त्र मुख्यतः शैव र शाक्त सम्प्रदायसँग जोडिएपनि यसको प्रयोग वैष्णव पन्थमा पनि हुने गरेको छ । बौद्ध धर्मको वज्रयान परम्परा तन्त्र ज्यादै लोकप्रिय हुन पुगेको छ । हिन्दू, बौद्ध र जैन दर्शनको तन्त्र परम्परा मिल्दा जुल्दा हुन्छन् । तन्त्र ग्रन्थ कति छन् भन्न सकिने अवस्था छैन तर ६४ तन्त्रको प्रभाव विश्वभरी फैलिन पुगेको देखिन्छ । हिन्दू, बौद्ध, जैन, तिब्बती धर्ममा प्रचलित तन्त्र साधना यसैको प्रभाव हो । तन्त्रले हरेक कुरामा स्वीकारभाव राख्दछ । तिनबाट भाग्नुभन्दा तिनको अस्तित्वलाई स्वीकारेर तिनलाई अद्वैतको साधन बनाउनका लागि तन्त्रले निर्देशन गरेको छ । “विज्ञानभैरव” ग्रन्थको तलको श्लोक :
यत्र यत्र मनस्तुष्टिर्मनस्तत्रैव धारयेत् ।
तत्र तत्र परानन्दस्वरूपं सम्प्रवर्तते ।।७४।।
अर्थात् जहाँ जहाँ मनले सन्तोष प्राप्त गर्न सक्दछ , त्यहाँ मनलाई अल्झाउनु सकिन्छ , त्यसो गरे मानवको परमानन्द स्वरूप आफै प्रकाशित हुन पुग्दछ । त्यसैले तन्त्र अथवा आगममा व्यवहार पक्ष मुख्य मानिएको हो । तन्त्र विज्ञानको एउटा उदाहरण महाभारतमा भीष्मको इच्छामृत्यु, तीरको शैयामा लम्पसार पर्दा पनि नदुख्नु भनेको ‘सेन्टर अफ सेन्सलाई ट्रान्सफर’ गर्न सक्नुले हो । क्राइष्टलाई किला ठोकेर झुण्ड्याउँदा क्राइष्टले कुनै चित्कार नगर्नु पनि यही हो । हिटलरको डिक्टेटिङ् पावर, नेपोलियनको चमत्कार, गान्धीको सत्याग्रह–बन्दे मातरम् ,महेन्द्रको सन्तान थरी थरीका, यी यस्ता आवाज थिए जसले अरुको ध्यान खिच्न सफल थियो, सुन्नेलाई एकाग्र पारेको थियो । यसलाई ‘पोलिटिकल हिप्नोटिज्म’ भन्न सकिन्छ । मानसिक, अध्यात्मिक र भौतिक स्रोतको सन्तुलन शक्तिमा परिणत हुनु तन्त्र हो । तन्त्र एउटा यस्तो विन्दू, केन्द्रमा निश्चल हुन्छ, त्यो केन्द्रलाई समाधिको केन्द्रविन्दू मानिन्छ । त्यहाँ कुनै फोर्सको प्रभाव हुन्न । बुद्धको निर्वाणको विन्दू पनि त्यही हो । तन्त्रको विन्दू पनि त्यही । भौतिकवाद र अध्यात्मवादको फ्यूजनको केन्द्रविन्दू तन्त्र हो । मन्दिरका टुँडालहरु कलात्मक तन्त्र हुन्, कतिपय ठाउँमा तामस कलाकृतिमा तन्त्रका अनेकन आकृतिहरु अङ्कित देखिन्छन् ती पनि तन्त्र हुन् ।
नेपाली समाजमा तन्त्र
तन्त्र मुख्यतः शिव र शक्ति सँग सम्बन्धित रहेको र यसैबाट अधिकतर तन्त्र ग्रन्थको उत्पत्ति हुन पुगेको देखिन्छ । तन्त्र ग्रन्थहरुमा विभिन्न साधना , त्यसको पूजा विधिको वर्णन तथा ज्ञानविज्ञान प्रक्रिया समेटिएको हुन्छ । यसैकारण ऋग्वेदले तन्त्रलाई ज्ञानको तान भनेर अथ्र्याइ दिएको छ र त्यो तान बुन्दै जाँदा ज्ञान बढ्दै जाने विश्वास गरिएको हुन्छ । तन्त्र पद्धतिमा शैव, शाक्त, वैष्णव, पाशुपत, गणापत्य, लकुलीश, बौद्ध, जैन आदि सम्प्रदायहरुको उल्लेख भएतापनि शैव तथा शाक्त तन्त्र मात्रै हाम्रो देशमा बढी प्रचलनमा रहेको छ । शैव तन्त्रले ज्ञान दिने भएकोले यसमा ज्ञान प्राप्त गर्ने तरिका मात्र वर्णन गरिएको छ । शैवागम वा शैव तंत्रलाई भेद, भेदाभेद तथा अभेद्वाद गरेर तीन भागमा बाँडिएको छ । त्यसैकारण भेदवादी शैवागम र शैव सिद्धान्त भनेर चिह्निन पुगेको छ । वीर शैवलाई भेदाभेद भनेर चिह्निन्छ तथा अभेद्वादलाई शिवाद्वयवाद भनेर चिन्ने गरिएको छ । यी समस्त प्रकारका शिव सूत्रहरुको उद्गम स्थल हिमालय रहेको मानिएको छ ।विभिन्न तन्त्रशास्त्रका ज्ञाताहरुले तन्त्रलाई मुख्य तीन भागमा बाँडेको देखिन्छ । (१ )श्री सदा शिवोक्त तन्त्र ( २ )पार्वती कथित तन्त्र ( ३ ) ऋषिगण प्रणीत आर्ष तन्त्र । यो एउटा स्वतन्त्र शास्त्र हो । जुन पूजा र आचार पद्धतिको परिचय दिएर पनि इच्छित तत्वलाई आफनो अधीन बनाउने मार्ग देखाउँछ । यस प्रकारको यो साधना शास्त्र हो । यसमा साधना अनेक प्रकारका दिइएको छ, जसमा देवताका स्वरुप, गुण, कर्म आदिको चिन्तन प्रक्रिया साथै ‘पटल, कवच, सहस्त्रनाम तथा स्तोत्र’ । यिनै पाँच अंग वाला पूजाको विधान छ ।
तनोति विपुलान् अर्यान् तत्वमन्त्र समविन्तान् ।
त्राणं च कुरुते यस्मात् तन्त्रमित्यभिधियते ।।
–तन्त्रान्तर पटक
(तन्त्रले रहस्यका थुप्रै अर्थ छन् ।आमाको काखै त हो तन्त्र,जहाँ सुरक्षै सुरक्षा छ ।)
कर्मकाण्ड र पूजाउपासना गर्ने तरिका सबै धर्ममा फरक फरक हुन्छन् । तर तन्त्रको प्रक्रिया झन्डै झन्डै सबैतिर उस्तै उस्तै खाले हुने गर्दछ । सबै धर्मले मानव मित्र अनन्त ऊर्जा भएको स्वीर्काछन् । जसको पाँच सात प्रतिशत मात्र प्रयोगमा आएको हुन्छ । शेष भाग खेर गई रहेको हुन्छ । सबै धर्म सम्प्रदायले यो कुरा स्वीकारेको हुन्छ र आ–आफ्नो हिसाबले त्यसको बाटो बताएको हुन्छ । ती सबैले एक नासको विधि अवलम्ब गरि आफु भित्रको शक्ति जगाउने काम गरेको हुन्छ । तन्त्रोक्त मतानुसार मन्त्रद्वारा यन्त्रको माध्यमले भगवानको उपासना गर्नु तन्त्र हो । तन्त्र शास्त्रले सिद्धान्तको कुरो गरेपनि आगम शास्त्रको तीन चौथाई भागले विधि नै इंगित गरेको छ । तन्त्र शास्त्रको सबै ग्रन्थ शिव र पार्वतीको संवादबाटै प्रकट भएका छन् । आगम शास्त्र अनुसार गर्नु नै जान्नु हो र त्यो जान्नु ज्ञान होइन । जब सम्म क्यै गरिन्न , तबसम्म मान्छे साधनामा प्रवेश गर्दैन । जबसम्म उसले आफैले साधना गर्दैन , तबसम्म उसले तन्त्रको उत्तर वा समाधान पाउँदैन ।
तन्त्र, मन्त्र र यन्त्र : पारस्परिक अन्तरसम्बन्ध
देवी देवताको विग्रह मन्त्रको रुपमा रहेको हुन्छ । देवताहरु तीन रुपमा रहेका हुन्छन् – १. परा २. सूक्ष्म ३. स्थूल । सामान्यतः मान्छेले देवीदेवताको स्थूल रूपको उपासना गर्ने गरेको हुन्छ तथा त्यसकै सहाराले मानव देविदेवताको सूक्ष्म रूप सम्म पुग्न सक्तछ । तन्त्र शास्त्रमा अधिकतर कार्य मन्त्रद्वारा नै गर्ने गरिन्छ । थोरै उच्चारण गरेर धेरै जान्नु तन्त्र हो । असंख्य अर्थहरूलाई व्यक्त गर्नसक्ने विचार, भाव वा तत्व तन्त्र हो । मानव शरीर तन्त्र, मन्त्र र यन्त्रले चल्दछ । हाम्रो शरीरको व्यवहार तन्त्र हो भने शरीरमा बसेर जो विचार पलाउँछ त्यो मन्त्र हो । यस अर्थमा मानव शरीर स्वयं यन्त्र हो । तन्त्र सिद्ध भयो भने अष्टसिद्धि प्राप्त हुन्छ । तन्त्र नेपालको एक आध्यात्मिक परिपाटी हो ।
नेपालमा तन्त्र प्रयोग
तन्त्रको एक विशिष्ट उदाहरणका रुपमा हामीले पाटनमा अवस्थित कान देवताको प्रसंगलाई लिन सक्छौँ । मल्लकालीन समयमा तत्कालीन कान्तिपुर र पाटन राज्यका राजा बीच गहिरो वैमनस्यता थियो । आपसी वैरभावका कारण एक अर्का राज्य माथि हमला हुनु पनि स्वभाविक नै हो । यसै क्रममा पाटनका राजाले तन्त्रको प्रयोग मार्फत एक षड्यन्त्र रचना गरे । तान्त्रिक गुरुपुरोहितको मद्दतबाट पाटनका राजाले काठमाडौँका राजाको कमजोरी थाङ्का (पौवा) चित्र हो भन्ने थाहा पाइ तीन यन्त्रको सिर्जना गरे र अत्यन्त कलात्मक स्वर्ण लिखित पौवा चित्रमा यन्त्रलाई गुप्त रुपमा राखी कान्तिपुरका राजालाई भेट गरे । कान्तिपुरका राजाले विशिष्ट व्यक्तित्वबाट प्राप्त उपहार आफ्नो अन्तःपुरमा झुण्याई राखे । अर्को यन्त्र बाग्मती किनारमा एउटा ठूलो खम्बा बनाई कानको आकृतिरुपको यन्त्र र अर्को यन्त्र पाटनकै राजाको दरबारमा राखे । त्यो तीन यन्त्र एक आपसमा अन्र्तसम्बन्धित थियो । कान्तिपुरको गतिविधि र गोप्य संवादलाई पौवा यन्त्रले कानदेवतामा पठाउँथ्यो र कान देवताले पाटन दरबारमा फ्याँक्थ्यो । यसरी कान्तिपुरको गोप्यता पाटनका राजाले थाहा पाउँथे । पछि गएर कान्तिपुरका राजा र रानीको राज्यको विषयका गोप्य संवाद पाटनमा यत्रतत्र सर्वत्र फैलियो ।कान्तिपुरका राजाले यो के भयो भनी गुरुपुरोहितको सहायताबाट विचार गर्दा पाटनका राजाको सबै कर्तुत थाहा पाएर कान्तिपुरका राजाले पनि यन्त्रलाई नै ठीक विपरीत गरेका थिए र यो क्रिया पनि पाटनमा ज्ञात भए पछि पाटनका राजाले यन्त्र निष्कृय गराउन लगाएका थिए । तत्कालीन नेपालमा गोरखनाथले नवनागलाई आफ्नो आसनमनि बाँधेर राखे पछि वर्षा गराउन करुणामय मच्छिन्द्रनाथलाई कामरुप कामाख्याबाट ल्याउँदा भक्तपुरका राजा नरेन्द्र देव ,कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र पाटनका ललिचा ज्यापुले तन्त्रको सहायता सिहायता लिएका थिए । १४ औँ शताब्दिमा राजा हरिहर सिंह देवले तुलजा भवानीलाई नेपालमा स्थापित गर्न पनि तन्त्रकै प्रयोग गरेका थिए ।
यति मात्र नभई वर्तमान नेपालमा तन्त्र अदृश्य अस्त्रका रुपमा स्थित भएको देखिन्छ । टुनामुना, कुण्डलिनी जगाउने, पूर्वजन्मका आख्यानहरु, आखेट हेर्ने, जोखना हेर्ने, जन्मकुण्डली, ग्रहदशा, मोहनी लगाउने, भूत भगाउने, केही लाग्यो भनेर पन्छाउने, झारफुक, क्षेत्रपाल, नाग लाग्यो वा देवी देउता रिसाए भनेर पूजा गर्ने, कूल देउता, मूल देउता खुशी पार्ने, नाडी हेर्ने, धामी–झाँक्रीको प्रयोग, ग्रह दशा मोचन वा मठ–मन्दिरको स्थापना, जात्रा, स्थानान्तरण वा पूजा गर्दा तन्त्र, मन्त्रबाट मात्र गर्ने यी सबै साधन साध्यका रुपमा विकसित भएर आएका देखिन्छन् ।
नेपालको शाह वंश र ६४ तन्त्र
मन्दिरै मन्दिरको देश नेपालमा तन्त्र जनजीवनमा व्याप्त छ । बच्चा जन्मेदेखि मरेपछि पनि तन्त्र र मन्त्रको चौघेरामा उसको अस्तित्व र आत्मा घुमिरहेको हुन्छ । तोडल तन्त्र र सर्वोल्लास तन्त्रमा उल्लेख गरिएका ६४ तन्त्रहरुको नाउँ चतुःशती र श्रीकण्ठीको तन्त्र सूचीसँग मेल खाँदैनन् । जसमा काली , मुण्डमाला , तारा सहित कामाख्या तन्त्रमा उल्लेख भएको ६४ तन्त्रहरुको नाउँपनि समावेश छ । यी तन्त्रहरु सन् १७५४ ई० लिपिबद्ध गरिएको हस्तलिखित पुस्तक इण्डिया अफिस लाइब्रेरी लण्डनमा व्रिटिश शासकहरुले पु¥याएका छन् भने , ८औं शताब्दी भन्दा पहिलेको जयद्रथयामलतन्त्रको धेरै कुरा यही ग्रन्थले प्रष्ट पारेको छ । आठ किसिमको यामल तन्त्रको मूलग्रन्थ ब्रह्मयामल तन्त्रलाई मानिएको छ ।यसका प्रमुख उपासक नेपालका श्री ५ महाराजधिराज प्रतापसिंह शाह रहेका थिए । त्यो पुस्तक तत्कालीन नेपालको राज दरवारमा रहेको थियो भने ११७४ ई० मा लेखिएको पिंगलातन्त्र नामक ग्रन्थ ,जसलाई ब्रह्मयामल तन्त्रको परिशिष्ट भएको भन्ने गरिएको छ , त्यो पनि तत्कालिन नेपालको राजदरवारमा रहेको थियो । अहिले तन्त्र शास्त्रका ती दुर्लभ ग्रन्थहरु कहाँ पुु¥याइएको छ खोजीको विषय हो । यिनै तन्त्र शास्त्रहरूको साधकहरु तत्कालिन नेपालमा प्रशस्त भएकाकारण तन्त्रशास्त्र अनुसार नेपालमा छाग,महिष ,मेष ,कुखुरा हाँस बलिदिने चलन बसेको हो र हाम्रो तन्त्र सभ्यताको महत्वपूर्ण सोच बलिप्रथा जीवनको पूर्ण परम मूक्तिसँग गाँसिएको मानिन पुगेको हो ।
संवत् २०५३ मा कमलादी गणेशले दूध खाएको , दोलखा भीमसेनलाई पसीना आउँदा उपद्रो हुने विश्वास र क्षमा पूजा , सर्वाध्या परमेश्वरी तुलजा भवानीले कुनै बेला राजासँग प्रत्यक्ष पासा खेलेको ,पाटन राज्यमा एक बालिका र एक करिब ५९ वर्षकी हालसम्म रजस्वला नभएकी कुमारी आदी लगायतका प्रसङ्गले तन्त्रलाई अझ नेपाली सन्दर्भमा व्यापक बनाएको छ । राजा राम शाहले तन्त्रकै बलमा न्यायका उदाहरण बन्न सफल भए । प्रताप मल्ल, लक्ष्मीनृसिंङ्ग मल्लको युग तन्त्रमन्त्रले भरिपूर्ण थियो । पृथ्वीनारायण शाहका भाई सिंहप्रताप शाहले काठमाडौं शमशान भूमिमा मृत महिलाको यौनाङ्गमा तन्त्र साधना गरेर सिद्धि प्राप्त गरेको आख्यान अहिले पनि हामीले सुन्न सक्छौँ ।भारतमा दिगम्बर बाबा, लकडबाबा, अघोरी बाबा, नागाबाबा, धीरेन्द्र ब्रम्हर्षी, चन्द्रास्वामी, सिद्ध, जयन्द्र सरस्वतीलगायत, तान्त्रिकहरु अदृश्य केन्द्रशक्तिका रुपमा स्थापित रहेका छन् ।
नजिकको तीर्थ हेला
नेपालको तन्त्रमन्त्रको रहस्य पत्ता लगाउन विदेशी मुलुक कस्सिएका छन् । राजधानीको फोहर सफा गर्ने नाममा, काठमाडौं, भक्तपुर र पाटन ‘दरवार स्क्वायर’ सफा गर्ने, पुननिर्माण गर्ने नाममा तन्त्रमन्त्रको अनुसन्धानमा डुब्ने गरेका छन् । पाटन दरवार स्क्वायरको पुननिर्माणमा सघाएर कृष्ण मन्दिर र आसपासका मन्दिर ,गुठीमा व्यापक अनुसन्धान गरेका थिए । आज पनि लामा, राई, तामाङ् मन्त्र सिक्न र लामा तन्त्र शिक्षा आर्जनका लागि वर्षको दुई हजारभन्दा बढी विदेशीहरु नेपाल आउने गरेका छन् । हामी आधुनिकतालाई अंगालेर पुरातनलाई फ्याक्दै र बिसर्जन गर्दै गइरहेका छौं, विदेशीहरु पुरातनताभित्र के छ भनेर खोतल्दै र संकलन गर्दै गइरहेका छन् । जर्मनी कानुनले धामीझाँक्री अध्ययनलाई मान्यता र महत्व नै दिएको छ । पूर्वीय दर्शनका हामीहरु अग्रगमनको नारा लगाइरहेका छौं, युरोपियन मूल पूर्वीय दर्शनभित्र विचरण गर्न थालेका छन् । हामी सभ्यता र संस्कृति मासिरहेका छौं, सभ्यहरु पृथ्वीदेखि चन्द्रमासम्मका सभ्यता अनुसन्धान गरिरहेका छन् । त्यसैले नेपाललाई बौद्धिक बन्दकीमा परेको मुलुक भन्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।
युरोपियन राष्ट्रका एक विद्वत टोलीले नेपालमा काग पूजा, कुकुर पूजा, गाई पूजा, शालिग्राम पूजा र बोक्सीका बारेमा अनुसन्धान गर्न थालेका छन् । उनीहरु हनुमान ढोकामा नाइटो किन गाडिन्छ, किलागलमा किन पैसालाई किला ठोकिन्छ, मन्दिर र जात्रामा तन्त्रपूजा किन गरिन्छ भन्नेसम्मका विषयमा अध्ययन गरिरहेका छन् । हाम्रा समाजशास्त्री र सरकारलाई यसबारे अत्तोपत्तो छैन ।पाश्चात्यहरु जे कुरालाई पनि महत्व दिन्छन् र अग्रगामी बन्छन् ।हामी पछाडी पर्नुको मुख्य कारण हामीले आफ्नोपन बिस्यौँ , हामी अग्रगमनको नारा मात्र लगाइरह्यौँ ।
(लेखक – अध्यक्ष : नेपाल सामाजिक विकास पुस्तकालय, ९८५११८०९४०, ९८०८७२९४८८)