-राज ढुंगाना/सुर्दशन अर्याल
एउटा सफल, गतिलो उदाहरण हो सरकारी संस्थानको ‘भारतीय हेवी ईलेक्ट्रिक कम्पनी’ । केही साताअघि म भारतको कर्नाटक राज्य अन्तर्गत बैग्लोर पुगेको थिए । त्यहाँ एउटा सफल भारतीय सरकारी संस्थानका विषयमा अध्ययन गर्ने अवसर मिल्यो । जुन हो भारतीय हेवी ईलेक्ट्रिक लिमिटेड । जसका प्रमुखहरुसंगै बसेर कम्पनीको सवालमा जान्ने मौका मिल्यो । यसकै पाटोलाई लिएर एउटा सामाग्री लेख्दै गर्दा नेपालले के सिक्न सक्छ त यस्ता सफल संस्थानबाट भन्ने लागेर नलेखी बस्नै सकिन । खासगरी सरकारी संस्थानहरुको सन्दर्भमा नेपालको अभ्यास हेर्ने हो भने नेपाल सो विषयमा असफल जस्तै रहेको छ । दुई दर्जन भन्दा बढी सरकारी संस्थानहरु मध्ये एक दुईवटा बाहेक अरु सबै घाटामा र केही त टाट पल्टिसकेका छन । केही कारखाना बन्द भएको त लामै भइसकेको अवस्था छ । सरकार धनी र सफल हुन आफुले चलाएका संस्थान नाफामा हुनुपर्छ । ती सबै व्यवस्थित रुपमा चल्नुपर्छ । तीनले राज्यको विकासमा केही महत्वुपर्ण योगदान गर्नुपर्छ । तर नेपालमा त्यासो भईरहेको छैन किन त ? हाम्रा मुलुकका सरकारी कर्मचारीहरु विकसित र धनी देशहरुमा बर्षैपिच्छे लाईन लाएर भ्रमण गर्ने गर्दछन । तर के सिकेर आउछन ? गभ्मिर प्रश्न यहाँनेर छ ।
उनिहरु योजना लैजाने ठाँउमा हुन्छन , कार्यान्वय गर्ने ठाँउमा हुन्छन । खासगरी नेपालको विकासमा अहिलेको स्थितीलाई हेर्ने हो भने मुख्य छिमेकी देश चिन र भारतको मुख्य भुमिका रहेको छ । उनिहरुले नै विभिन्न योजनामा काम गरिरहेका छन । उनिहरुको देशमा नै विश्वलाई चकित पार्ने योजनाहरु सम्पन्न भईसकेका छन । यी दुई छिमेकी देश अहिलेको समयमा विश्वको व्यापारलाई नै लिडिङ गरिहेका छन । यो विषयहरु कोट्याईरहेको कारण हो छिमेकबाट नै हामीले विकास र सम्बृद्धीका धेरै कुराहरु सिक्न सक्छौ । अर्को तर्फ यो पंङतीकारले उठाउन खोजको मुख्य विषय देशमा सार्वजनिक संस्थानलाई सरकारले नै किन पाल्न परिरहेको छ ? किन उनिहरु घाटामा छन ? नेपाल वायु सेवा निगम, खाद्य संस्थान, साल्ट टे«डिङ,जनक शिक्षा सामाग्री लि.चल्न नै हम्मे हम्मे परिरहेको छ भने हरिसिद्धि इँटा टायल कारखाना, बालाजु कपडा उद्योग, कृषि आयोजना सेवा केन्द्र, हेटौडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना लिमिटेड, कृषि औंजार कारखाना लिमिटेड, विराटनगर जुट मिल्स,जनकपुर चुरोट कारखाना,नेशनल टे«डिङ, गोरखकाली रबर, भृकुटी कागज,हिमाल सिमेन्ट आदी त बन्द नै भए । आजसम्म यी संस्थानहरु किन धरासायी भयो ? कसैले न कुनै अध्ययन गरेका छन ।
नत कसैले बनाएको प्रतिवेदनमाथी छलफल गरेर नयाँ ढंगको योजना अघि सारिएको छ । भारतीय हेवी ईलेक्ट्रिक कम्पनी यस्तो भारतीय सरकारी संस्थान हो, जसले विश्वको १५ ठुलो व्यावसायीक कम्पनीको रुपमा छवी बनाएको छ । भारतको कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशतको भुमिका छ ।
विश्व बजारमा भारतीय हेवी ईलेक्ट्रिक
सन् १९६४ सालमा स्थापना भएको भारतीय हेभी इलेक्ट्रोनिक्स लिमिटेड भारतको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सार्वजनिक संस्थान हो । अहिले यसको ६७ प्रतिशत हिस्सा भारत सरकारको र बाँकी हिस्सा निजी क्षेत्रको रहेको छ । वर्षेनी आफ्नो उत्पादन र व्यवसायमा विस्तार गर्दै भारतको आर्थिक विकासमा एउटा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सो संस्थान फोब्र्स पत्रिकाले २०१४ मा सार्वजनिक गरेको बलिया सार्वजनिक संस्थानहरुको सूचीमा भारतको १५ औं स्थानमा परेको कम्पनी हो ।
वार्षिक कूल २ खर्ब ७८ अर्ब रुपैयाँको कारोबार र १५ अर्ब ८५ करोड रुपैयाँभन्दा धेरै मुनाफा मात्रै कमाउने गरेको सो संस्था अहिले भारत सरकारले लिएको ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्ने लक्ष्य पूर्तिमा समेत सहायक सिद्ध हुने देखिएको छ । जब जब भारतले आर्थिक विकासमा फड्को मार्ने गरी आर्थिक बृद्धिको लक्ष्य लिने गरेको छ । त्यतिबेला बीएचईएलको भूमिका सधैं महत्वपूर्ण हुने गरेको छ । इलेक्ट्रोनिक्स क्षेत्रमा यो कम्पनीहरुसँगै अन्य क्षेत्रका पनि विभिन्न कम्पनीहरु समेत भारतको आर्थिक विकासका मेरुदण्डहरु हुन् । तर, झण्डै आधा शतक अघिदेखि सञ्चालनमा आएर निजीकरण र उदारीकरणपछि झनै फस्टाएको यो कम्पनीको प्रगति पक्कै पनि लोभलाग्दो रहेको छ ।
कम्पनीको न्यूक्लियरसम्मको यात्रा
सुरुमा यो कम्पनी भारतमा उद्योगधन्दाको विकासको लागि आवश्यक पर्ने विद्युतहरु उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो। योजना आयोगले त्यतिबेला विभिन्न परियोजनाहरुको लागि आवश्यक सबै प्रकारका भारी विद्युतीय उपकरणहरुको निर्माणको लागि यो कारखानाको स्थापना गर्न सिफारिस गरेको थियो । भारत सरकारले पनि सोही सुझाव अनुसारको भारी विद्युत उपकरणहरुको निर्माणको लागि मध्यप्रदेशको राजधानी भोपालमा एक कारखानाको स्थापना गरेको थियो । जसको नाम एसोसिएटेड इलेक्ट्रिकल इन्डस्ट्रिज (एईआई) राखियो । २९ अगस्ट, १९५६ मा उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गत सार्वजनिक क्षेत्रमा हेवी इलेक्ट्रिकल्स (इन्डिया) लिमिटेड (एचई (आई) एल) को रुपमा कम्पनी दर्ता गरिएको थियो ।
यो कम्पनीले शताब्दीको अन्तसम्ममा १ लाख मेगावाटसम्म बिजुली उत्पादनको लागि देशमा स्थापित क्षमतालाई बढावा दिने संकल्प गरेर काम सुरु गरेको थियो । सोही कम्पनी ७० को दशकसम्म आइपुग्दा देशमा परमाणु ऊर्जा कार्यक्रमलाई समर्थन गर्नको लागि कठिन र अति आवश्यक रहेका आवश्यकताहरुलाई पूरा गर्नको लागि समेत सक्षम बनायो । अहिले पनि कम्पनीले परमाणु उर्जाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै आएको छ । ८० को दशकमा बजारलाई प्रतिस्पर्धी बनाउने जिम्मा ८० को दशकसम्म आईपुग्दा कम्पनीसामु एउटा ठूलो जिम्मेवारी आईपुग्यो । यो दशकमा विद्युत परियोजनाहरुको लागि संसाधनहरुको कमिका कारण भारतीय कम्पनीहरुलाई विदेशीसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै थियो । त्यतिबेला प्रचुर मात्रामा विद्युतको आवश्यकता परिरहेको थियो । त्यो आवश्यकताको पूर्तिका लागि कम्पनीले आन्तरिक रुपमा उत्पादन र व्यावसायीकरणमा जोड दिएर ग्यास टर्बाइन, लोकोमोटिव र तरल पदार्थ बेड कम्बस्शन बोयलर जस्ता नयाँ सम्भावित विकास क्षेत्रहरुमा प्रवेश गर्यो ।
अब के गर्दैछ भारतीय हेवी ईलेक्ट्रिक ?
८० को दशकको मध्यसम्ममा कम्पनीले ५०० मेगावाट थर्मल पावर उपकरणको आपूर्ति शुरू गरेर देशमा एक प्रमुख सार्वजनिक क्षेत्रको संगठनको रुपमा आफैंले आफैंलाई विकास गर्न सफल भयो । जुन पर्यावरणद्वारा उत्पन्न कुनैपनि चुनौतीको सामना गर्नको लागि सक्षम थियो । सन् १९९० को दशक उदारीकरण र डब्ल्यूटीओ राजमा व्यापारमा आउने बाधाहरुलाई कम गर्नको लागि कम्पनीले आफ्नो कारोबारको शैलीमा ठूलो भिन्नता ल्यायो । अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धात्मकतामा वृद्धि, प्रमुख उत्पादन इनपुटको निर्माणका लागि घरेलू क्षमता विकसित गर्नु, निर्यातमा जोड दिनु, र नयाँ उत्पादन र व्यापार क्षेत्रहरुको शुरूवात गर्न तर्फ कम्पनीले ध्यान केन्द्रीत गरेको थियो । सन् १९९० को दशकको कर्पोरेट प्लानले कम्पनीलाई सशक्त बनाउन र परियोजना उत्पादन क्षमताहरुलाई पुनर्गठन गर्दै मजबूतीका साथ चुनौतीहरुको सामना गर्न सक्षम बनायो । यही चुनौतीका कारण बीएचएनएल अहिलेसम्म पनि सक्षम सार्वजनिक संस्थानको रुपमा स्थापित छ ।
अहिले यही कम्पनी २१ औं शताब्दीको दोस्रो दशकको अन्त्यसम्म आउँदा अत्याधुनिक प्रविधिहरु सहित उर्जा, ट्रान्समिसन, उद्योग, यातायात, तेल तथा ग्यास, नवीकरणीय उर्जा, पानीको व्यवसाय, सैन्य तथा अन्तरिक्ष, उर्जा संकलन क्षेत्र लगायतमा उत्पादन र व्यवसाय गरिरहेको छ । पछिल्लो समय सरकारी निर्देश अनुसार परमाणु ऊर्जा उत्पादन संयन्त्रहरु, उद्योग र भारतीय रेलवेमा समेत विद्युत स्टेशनको लागि बीएचईएल जनरेटिङ्ग र ट्रान्समिशन उपकरणको आपूर्ति सुनिश्चित गर्नको लागि विभिन्न महत्वपूर्ण कदम उठाईरहेको छ ।
अहिले यो कम्पनीले भारतीय अन्तरिक्ष सम्बन्धी सबै परियोजनाहरुमा आवश्यक पर्ने उर्जाको लागि सोलार प्रविधि मार्फत् बेट्रीमा शक्ति सञ्चय गर्ने प्रविधि तयार पार्ने गरेको छ । केही समय अघि भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ मा पनि प्रयोग भएको बेट्री र सोलार प्रविधि यही कम्पनीको उत्पादन थियो । यसका साथै भारतीय रक्षा संयन्त्र तर्फ भारतीय सेनाका लागि एसआईएम फायर, आईडब्लूईएसएस, र एसएटिएस जस्ता प्रविधिहरुको उत्पादन समेत गर्दै आएको छ ।