आश्विन २६,काठमाडौँ । काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहजरूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको शनिबारदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ।
उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ। सुरूङ मार्ग दुई खण्डमा निर्माण हुनेछ। पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ।
अहिले अध्ययन भएको टोखा–छहरे खण्डको लम्बाइ चार किलोमिटर छ। ‘हामीले भने यसलाई ८ किलोमिटर बनाउनुपर्ने प्रस्ताव गरेका छौं। त्यति भयो भने सडकका मुख्य घुम्ती सकिन्छन्,’ स्रोतले भन्यो। दोस्रो खण्ड बेत्रावती-स्याफ्रुवेंसी सुरूङ हो। यो सुरूङ १७ देखि २४ किलोमिटर लामो हुनेछ।
अहिलेको प्रारम्भिक अध्ययनअनुसार स्याफ्रुवेंसीबाटै सुरू गरेर बेत्रावतीसम्म सुरूङ बनाउने हो भने त्यसको लम्बाइ २४ किलोमिटर हुन्छ।
रसुवाको सदरमुकाम धुन्चेभन्दा केही माथिबाट सुरूङ सुरू गर्ने हो भने १७ किलोमिटर हुन्छ। ‘सुरूङ निर्माण ठ्याक्कै कहाँबाट सुरू गर्ने भन्ने विस्तृत अध्ययनपछि तय हुनेछ,’ स्रोतले भन्यो, ‘अहिलेसम्मको अध्ययन हेर्दा दुइटा सुरूङको लम्बाइ लगभग ३० किलोमिटर जति हुने देखिन्छ।’
यो सुरूङ मार्ग बनेपछि काठमाडौं-केरूङको जम्मा लम्बाइ ८२ किलोमिटरमा झर्नेछ। यी सुरूङ मार्गले काठमाडौं–केरूङ सडक पहिरोले अवरुद्ध भइरहने समस्या पनि अन्त्य गर्नेछन्। त्यसपछि बाह्रै महिना काठमाडौं-केरूङबीच सडक यातायात निर्वाध चल्नेछ।