कार्तिक २९,धादिङ । धार्के सितापाइला सडक खण्डमा सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले वातावरण प्रभावसम्बन्धी मुल्याङ्कन गर्ने भएको छ । सोही अवसरमा शुक्रबार धार्केमा सार्वजनिक सुनुवाई गरिएको छ । वातावण प्रभावसम्बन्धी मुल्याङ्कन गर्ने जिम्मेवारी लिएको आईएमएस टोटल म्यानेजम्यान्ट सर्भिसेस प्रा.लि ले धार्के सितापाईला सडकको हालको अवस्था, स्थानियको गुनासो तथा सुझाव संकलन,वातावण प्रभावका विषय समेटेर एक महिनामा प्रतिवेदन बुझाउने कम्पनीले बताएको छ । सार्वजनिक सुनुवाईमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धार्के सितापाईला सडक राजधानी भित्रने महत्वपुर्ण बैकल्पिक मार्ग भएकोले राज्यले सो सडकलाई मुख्य प्राथामिकतामा राख्नुपर्ने बताएका छन ।
उनले अबपनि कुनै बहानामा धार्के सितापाईला सडकलाई पछि धकेल्ने प्रयास गरिए सबै जनता मिलेर दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सर्वसाधरणले २०५१ सालदेखी खनिएको बाटोले पुर्णता नपाउनु दुखद रहेको बताएका थिए । सार्वजनिक सुनुवाईमा बोल्दै स्थानीय अगुवा रामचन्द्र आचार्यले दशकौ देखी जनताले हिलो,धुलोसहित कष्ट ब्यहोर्नु परिरहेको बताउदै अबपनि कुनै बहानामा सडक निर्माणलाई सरकारले ढिला गर्नु धादिङबासीको मात्रै नभई समग्र देशको विकास रोकिनु हो भने । सोही क्रममा स्थानीयले बस्ने बास नै उठिबास लाग्दासमेत मआब्जा नदिइएको गुनासो व्यक्त गरे ।
सुनुवाई कार्यक्रममा नगर प्रमुख आचार्यसहित उपप्रमुख निरु खेरल, नेकपा नेता सुबोध लामिछाने,नेपाली कांग्रेस नेता विदुर अकौलिया लगायत स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । सडक विभागले वातावरण सम्बन्धी प्रभाव मुल्याङकन एक महिनाभित्र तयारी पारेर बुझाउने बताएको छ । सरकारले धार्के सडक खण्डलाई तिव्रताका साथ अघि बढाउने तयारी गरिरहे पनि सरकार आफैले निर्माण गर्ने की बैदेशिक सहयोगबाट काम अघि बढाउने अझै टुंगो लागिसकेको छैन । तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको अगुवाईमा कुवेत सरकारले सडक निर्माण गर्ने समझदारी भएतापनि कुवेती सहयोगमा काम अघि बढेको थिएन । अहिले कुवेत सरकारले चासो देखाएपछि वातावरणिय प्रभाव सम्बन्धी मुल्याङकनको काम अघि बढेको हो । नागढुंगा–सिस्नेखोलामा झै यस सडकमा पनि सुरुङमार्गको प्रस्ताव कुवेती सहयोगको डिपिआरमा समावेश गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेलले पनि धार्के–सितापाईला सडकलाई सरकारले उच्च प्राथामिकतामा राखेको यसअघि नै बताईसकेका छन ।