अधिकमासलाई समन्वय गरी चाडपर्व शुद्ध समयमा मनाऔं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २३, सोमबार (५ साल अघि)
  • ११५ पटक पढिएको
Post Thumbnail

– बलराम श्रेष्ठ/

धर्म कर्म गर्न शास्त्रले तोकेको अयन, ऋतु, नक्षेत्र योग करण आवश्यक पर्छ । यी मध्ये एक मात्र अंग जुरेन भने पनि पर्व अपांग हुन्छ । साइत नपरेको कामले विघ्न गर्छ । पर्वहरु लगायत सम्पूर्ण कार्य शास्त्र निर्देशित शुद्ध समयमा मनाउनु पर्छ । अयन चलनले एक दिनमा ३।३३ सेकेन्ड, वर्षमा २० मिनेट, ७२ वर्षमा एक दिन र २१५० वर्षमा एक महिना सारेर मन्वन्तर ऋतु सर्ने अनुसारले ऋतु २४ दिन अगाडि सरी सकेको छ भने अर्काेतिर एक सिङ्गो चान्द्र महिना नै सरीसकेको स्थिति छ । जसले गर्दा सौर्य, चान्द्र, आर्तव मितिहरुको समन्वयमा नराम्ररी असन्तुलन ल्याई सकेको छ । यसर्थ पञ्चाङ्गमा वैज्ञानिक सुधार आवश्यक देखिएको छ । संक्षेपमा पर्व समय सुधार अशुद्ध पञ्चाङ्ग पात्रो र विग्रेको पर्व समय सुधारेर धार्मिक कृत्य र पर्वादि कर्म पवित्र पारी धर्म शास्त्र जोगाउनु छ ।

प्रकृतिमा भई रहने निरन्तर प्रकृया अनुसार हामीले पञ्चाङ्ग पात्रो सुधार गर्न जरुरी छ । छोटो दिन, लामो दिन र दिन र रात बराबर हुने दिनबाट विश्वमा भएका पात्रोहरु निर्माण हुन्छन् । हाम्रो मान्यता माघ १ देखि उत्तरायण र साउन देखि दक्षिणायन हुन्छन्, उत्तरायण भनेको छोटो दिन र दक्षिणायन भनेको लामो दिन हो । तर वास्तवमा अहिले आएर पुष ६ गते सायन उत्तरायण आरम्भ र असार ६ गते सायन दक्षिणायण आरम्भ हुन्छ । यो कुरा पात्रोमा अध्ययन गर्दा पनि थाहा हुन्छ । सायनलाई ब्रम्हा जीको दिन भनिन्छ । त्यसमा हामीहरुले धर्मकर्म गर्न पाउँदैनौं । हामीले धर्मकर्म गर्ने निरायण संक्रान्ति र सायन संक्रान्ति एउटै पूर्णिमा क्षेत्रभित्र पर्ने गरी शुद्ध समयमा चाडपर्व मनाउन जरुरी छ । पुष १ निरायण संक्रान्तिलाई माघ १ बनाई धर्मकर्म गरेमा शुद्ध समयमा कर्म गरेको पुण्य फल प्राप्त हुन्छ । मुसलमानहरुले पनि चन्द्रमास मान्छन् । हामीहरु पनि चन्द्रमास मान्छौं । मुसलमानहरुको शुद्ध चन्द्रमास मात्र हुन्छ । उनीहरुको चन्द्रमासलाई ऋतुसँग आबद्ध गरिएको हुँदैन भने सनातनी हिन्दुहरुले चन्द्रमासलाई ऋतु आबद्ध बनाई धर्मकर्म गरिन्छ । त्यसैले पौष पूर्णिमालाई उत्तरायन पूर्णिमा र असार पूर्णिमालाई दक्षिणायन पूर्णिमा भनिन्छ ।

२०७५ सालमा असार पूर्णिमा (गुरु पूर्णिमा) साउन ११ गते परेको थियो भने २०७६ सालमा असार ३१ गते परेको थियो । असार पूर्णिमाले हाल साउन सूर्यलाई अगाडि पछाडि जेष्ठ पूर्णिमाले खेलेको हुँदा दक्षिणायन सम्बद्ध पूर्णिमा जेष्ठ पूर्णिमा भयो । किनभने २०७५ सालमा जेष्ठ पूर्णिमा असार १४ गते र २०७६ सालमा असार ३ गते परेको थियो । यी कुरालाई नेपाल सरकारबाट गठित पर्व सुधार राष्ट्रिय कार्यदल २०६३ को प्रतिवेदनमा उल्लेख भएको आधारमा नेपाल सरकारले २०६५।०९।१६ मा मन्त्री परिषद्बाट क) २०६६ को सौर्य चैत्र महिना हटाई २०६७ को वैशाख सुरु गर्ने ख) २०६७ को वैशाख महिनामा पर्ने अधिकमासलाई साधारण सरह गरी चान्द्र पर्वहरु १ महिना वर तान्ने भन्ने निर्णय भएको थियो । त्यतिबेला केहि विरोधीहरुले ११ महिनाको १ वर्ष बनाउन लाग्यो, आइतबार पछि मंगलबार आउँछ, मंगलबार पछि शनिवार आउँछ, हाम्रो धर्म संस्कृति सबै खोलामा जान्छ भनी गलत हल्ला पैmलाई सो कार्य हुनबाट रोकी जनताले प्राप्त गर्ने पूण्य फल प्राप्त गर्न वञ्चित गरेका थिए ।

सो सम्बन्धमा जनमानसमा उठ्न सक्ने केही प्रश्नउत्तरको माध्यमबाट प्रष्टाउने काम गरेका छौं ।

१) पर्व सुधार भनेको के हो ?
हाम्रा चाडपर्वहरु पहिले पहिले आकाशीय ग्रहस्थितीसँग ठ्याक्कै मिल्ने गर्दथे । तर विगत केही वर्ष देखि सो मिल्न छोडेकोले यसलाई समयानुकूल सुधार गर्न खोजेको हो । चाडपर्वहरुको समय सारणीमा सुधार गर्ने कार्य नै पर्वसमय सुधार हो ।

२) पर्वसमय सुधार गर्दा एक अधिकमास छोड्न मिल्छ र ?

वेदांग ज्योतिष अनुसार ३८ वर्षमा १५ अधिकमासको सट्टा १४ मात्र मान्ने चलन भएकोले हाम्रो प्रचलनमा गणना मिलाउन अधिकमास छोड्न मिल्छ ।

३) पर्वसमय बिग्रेर के हुन्छ त हामीलाई ?

यसबाट तिथिमा आधारित चाडपर्व समेतमा असर परी विवाह, व्रतबन्ध, चिनाटिप्पणका मान्यतामा फरक परी कालान्तरमा बिग्रिने क्रम बढ्दै गई भयावह स्थिति आउन सक्छ । जस्तो कि, जाडो श्रावण, भाद्रमा र वर्षा पुष माघमा पर्न जान्छ । उत्तरायण र दक्षिरायनमा पनि फरक परी विवाह व्रतबन्ध दक्षिणायनमा गर्नुपर्ने स्थिति र उत्तरायण महिना भने खाली रहने स्थिति हुन जान्छ । यस्तो अवस्थामा सम्पन्न पर्वहरुबाट मिल्नु पर्ने कुनै पुण्यफल प्राप्त हुन सक्दैन ।

४) वराहमिहिरादिले सायन र निरयणको मिलान गरी पर्वसुधार गरेको भए त्यसका आधार प्रमाण के के छन् ?

(क) पहिले अयन सारेको इतिहास : अथर्ववेद संहितामा “भानुराश्लेषा अयन मघा” भनि उल्लेख गरेको पाइएको हुँदा त्यसबेला अयन मघा नक्षत्रमा रहेको थियो भन्ने बुझिन्छ । यदि मघामा अयन रहेको भए त्यसवेला उत्तरायण विन्दु माघ पूर्णिमामा रहेको हुनुपर्दछ । करिव ३३०० वर्ष अगाडी वेदांग ज्योतिषले धनिष्ठाको शुरुबाट अर्थात माघशुक्ल प्रतिपदादेखी उत्तरायण शुरु हुन्छ भनि एक पक्ष सारेको देखिन्छ । आजभन्दा १६०० वर्ष अगाडी वराहमिहिर समेतले कर्कटको शुरु अर्थात् पुनर्वसुको तेस्रोपाउमा दक्षिणायन विन्दुलाई सारेको र उत्तरायण विन्दुलाई पौष पूर्णिमाक्षेत्रमा कायम गरेको कुरा उनकै बृहत्संहिताबाट बुझिन्छ । यसबाट हाम्रो इतिहासमा लामो अवधिसम्म एउटै अयन मानेर निरयण पद्धति अपनाइ आएको देखिन्छ र सिंगो एक एक चान्द्रपक्ष गरी माघ पूर्णिमाबाट पौष पूर्णिमामा सारेको पाइएको छ । मकरराशि देखि दिन बढ्दै जाने र कर्कराशीदेखि रात बढ्दै जाने कुरा वराहमिहिरले पञ्चसिद्धान्तिकामा नक्षत्रादिच्छेद भन्ने प्रकरणको ८ श्लोकमा सो उदाहरण उल्लेख गरेकाले उनले केवल दक्षिणायन र उत्तरायणको उल्लेख मात्र गरेका छैनन्, प्रयोगै गरेका हुन भन्ने प्रमाण मिल्छ । उसबखत संक्रान्तिको प्रचलन नभएको हुँदा एक एक पक्ष अयन सार्नु तर्कयुक्त नै देखिए पनि हाल संक्रान्तिद्धारा चान्द्रमहिनाहरु नियन्त्रण गर्ने गरिएकोले अयनसंक्रान्ति वा पूर्णिमालाई सिंगो एक महिना अगाडि सार्नु पर्ने एक मात्र विकल्प देखिन्छ । यसरी नै हामीले हाम्रो धार्मिक तथा ज्योतिष परम्परालाई निरन्तरता दिन सकिन्छ ।

(ख) हाल एक महिना अगाडी सार्ने विषय केही रुपमा सयाैं वर्षअघि नै नेपाली परम्परामा भित्र्याई सकेको छ । यःमधिपुन्हि र ज्यापुन्हिलाई क्रमशः लामो रात र लामो दिन मान्ने प्रचलनले उत्तरायण र दक्षिणायन विन्दुहरुलाई करिव ४०० वर्ष अगाडिदेखी नै एक महिना अगाडि सारेको पाइन्छ ।

५) विश्वमा पात्रो सुधारको काम भएका छन् त ?

हाल प्रचलित ऋतुसित सम्बन्धको नकारात्मक क्रम बड्दै गएको गणनालाई तोडी सुधारोन्मुख क्रमतर्फ लैजाने उद्देश्यले समय सुधार गरी पर्वहरु यथोचित फलयुक्त अवस्थामा पु¥याउने लक्ष्य अनुरुप १ महिना सार्ने निर्णय गरिएको हुँदा पुरानो कालक्रम टुट्न गएको जस्तो देखिनु स्वभाविक हो । भारतले सन् १९५७ मा लागु गरेको राष्ट्रिय शकसंवत्मा ७ दिन, सोभियत रुसले सन् १९१८ मा मिलाएको समय सुधारमा १४ दिन र पोप गे्रगोरीले १५८२ मा मिलाएको सुधारमा सौर गणनामा कुनै फरक नपरेको देखिन्छ । पहिलो पटक हाम्रो व्यवस्थामा राशी व्यवस्था भित्र्याइएको बखतमा पनि पुरानो वेदांग ज्योतिषको क्रम टुट्न गएको थियो । हालको सुधारक्रममा पनि यो क्रम टुटेको देखिनु स्वभाविक छ । विक्रमसंवत्को नवौ, दशौ शताब्दीदेखी मात्र अयनचलनन नाप्ने कार्य शुरु भएको हुंदा शुरुमा यसको सूत्र नबन्नु कुनै आश्चर्यको कुरा भएन । हालको राशी नक्षत्रयुक्त अवस्थामा हुन गईरहेको ऋतु सुधार नेपालमा यो पहिलो पटक हो । यस क्रममा नवीन सुधार सूत्र पूर्णिमा संक्रान्ति क्षेत्रको आधारमा पछिको प्रयोजनको लागी समेत हुने गरी समन्वयात्मक पर्वसुधार पद्धतीलाई परिभाषित गरेकोछ । यो नै हाल र आगामी युगको लागी समयक्रम मिलाउने सूत्रको रुपमा लिन सकिन्छ । यसलाई सूर्य सिद्धान्तमा २७÷२७ अंश सार्ने गरी मन्वन्तरको परिभाषा गरेको बुझिन्छ । उस बखत दुई नक्षत्र सारी कृत्तिकादी नक्षत्रलाई अश्विन्यादी नक्षत्रमा सारेको पाइन्छ । हाल संक्रान्ति प्रचलनमा सवा २ नक्षत्र सारी मेष संक्रान्ति यस प्रचलनले पनि ३०÷३० अंशको १ मन्वन्तरको निरयण संक्रान्ति सारी पुरानो मन्वन्तरलाई केही संशोधन गर्नु परेको हो ।

६) सूर्य सिद्धान्तमा सूर्य २७ अंशमा पुगे पछि फर्कन्छ भन्ने सन्दर्भमा ।

२७ अंश मा सूर्य फर्किन्छ भन्ने कुरा सूर्य सिद्धान्तबाटै खण्डित भई सकेको अवस्था छ । अथर्ववेदमा मघामा रहेको नक्षेत्रबाट हाल मृगशिरा नक्षेत्रमा उत्तरायण हुँदा ५ नक्षेत्र हुन्छ । एउटा नक्षेत्रको मध्यमान भोग १३.३ हुन्छ । ६५ डिग्री हुन्छ । २७ दुना ५४ मा फर्किनु पर्ने सूर्य अहिले ६५ डिग्रीमा पुगि सकेको छ ।

७) पाँचौ पण्डित सम्मेलनले त पर्व सुधारलाई पश्चिमा शक्तिको प्रभावमा गर्न लागेको र धर्म संस्कृति मास्न लाग्यो भनेर आरोप छ त ?

पाँचौं पण्डित सम्मेलन पण्डितहरुको सम्मेलन भने पनि त्यस्तो गम्भिरता अध्ययन गर्न नचाहने व्यक्तिहरुको समूह रहेछ भनी उनीहरुले पास गरेको आठौं बुँदाबाट थाहा हुन्छ । राष्ट्रिय धर्मसभाले पारित गरेको बुँदा, “परम्परा एवं शास्त्र निर्देशित निरायण पद्धति मासेर पाश्चात्य परम्पराका आधारमा चलेको सायन पद्धति भित्र्याउन खोज्ने ११ महिनाको १ वर्ष मानि अशास्त्रीय, अमर्यादित र परम्परा विरुद्धको कार्य गरी समाजलाई दिग्भ्रमित गराउन खोज्ने तथा कथित पर्व सुधारको षड्यन्त्रलाई यो पण्डित सम्मेलन घोर भत्सर्ना र अस्वीकार गर्दछ । यस्ता अशास्त्रीय हो हल्लाको पछि नलाग्न समस्त पण्डित समाज र सर्व साधारणलाई सूचिकृत गरिन्छ ।”

(क) हाम्रो पद्धति सधैं निरायण नै हुन्छ । गाई मारेर गधा पोष्ने काम हामीबाट हुँदैन । अर्थात हाम्रो निरायण पद्धति मासेर सायन पद्धति हामीबाट हुँदैन । हाम्रो पद्धति मन्वन्तर एक महिना २१५० वर्ष मात्र निरायण हुन्छ । सो पश्चात सायन संक्रान्तिसँग मिलाउन एक मन्वन्तर वा एक महिना सार्ने कुरा इतिहासले बताउँछ । सुर्य सिद्धान्त लेखिँदा सायन संक्रान्तिसँग मिलाउन आश्विनी नक्षत्रबाट सुरु गरियो । सो भन्दा अगाडि बेदाङ्ग ज्यातिश कालमा कृतिका नक्षत्रलाई पहिलो नक्षत्र मानिएको कुरा जान्नु आवश्यक छ । तसर्थ बेदाङ्ग ज्योतिश चाक्षुष छैठौं मन्वन्तर र सिद्धान्त ज्योतिश वैवस्वत सातौं मन्वन्तरका शास्त्र हुन् । हाल पुनः ऋतु मिलाउन पूर्व भाद्र पदको अन्त्यबाट सावर्णी आठौं मन्वन्तर शिद्ध भई सकेको कुरा जानकारी गराएका थियौं । यहाँ कुनै पाश्चात्य कुरा भित्रयाउन खोजिएको छैन । हाम्रो धर्म जोगाउन हाम्रै पद्धति अनुसार सुधार गर्नु परेको हो । लामो कालपछि मन्वन्तर फेरीन्छ भन्ने बुझ्नु पर्ने हुन्छ ।

(ख) हाम्रो धर्म शास्त्रमा महिना भनेको चन्द्रमास हो । अधिकमास १३ महिना चन्द्रमासलाई शुद्ध मास मानि १ महिना वर ल्याउने कुरा भएकोले सुधारको सुरुको वर्षमा पनि १२ चन्द्र महिना हुने भएकोले मन्वन्तर पद्धति हाम्रो शास्त्रले अँगालेको पद्धति हो । हाम्रो धार्मिक कार्य सबै तिथिकै आधारमा हुन्छन् । सायन संक्रान्ति र निरायन संक्रान्ति दुबैलाई तिथियुक्त चान्द्र महिनाद्वारा समन्वय गर्नु पर्ने हुनाले पर्व सुधारको कार्यलाई षड्यन्त्रको संज्ञा दिएर घोर भत्सर्ना र अस्वीकार गर्नु पर्ने कारण छैन । हाम्रो पञ्चाङ्ग गणना गर्दा तिथि, बार, योग, नक्षत, करण यी सबै चन्द्रमासमा आधारीत हुन्छन् । सौर्यमासको राशी पञ्चाङ्ग गणनामा आउँदैन । गणनामा नै नआउने कुरा अगाडि सारेर २४ दिनमात्र सरेको १ महिना पुग्न ६ दिन अझै बाँकी छ भन्नु यस अर्थमा असान्दर्भिक हो । स्मरण रहोस् चन्द्र तिथिकै आधारमा छोटो दिन लामो दिन सम्बद्ध पूर्णिमाहरु मंसिर पूर्णिमा र जेष्ठ पूर्णिमा सरी सक्यो भनी २०७५ साल देखि पात्रोहरुमा समेत जनाई सकेको अवस्था छ ।

राष्ट्रिय धर्मसभालाई उनीहरुले मिति २०७५ कार्तिक ९ र १० गते जयन भवन, कमलादीमा पाँचौं पण्डित सम्मेलनबाट पारीत बुँदा नं. ८ को सम्बन्धमा २०७५।०७।३० गते पत्र बुझाई सो सम्बन्धमा लिखित जवाफ माग गरेकोमा १ वर्ष हुँदा सम्म त्यसको कुनै जवाफ दिन नसकी मुखमा बुजो लगाई बसेको छ । हाम्रा चाडपर्वहरु मनाउन र श्राद्ध आदि गर्न संक्रान्ति सहितको चान्द्र महिनालाई पुरुषयुक्त शुद्ध महिना मान्ने धर्मग्रन्थहरु र ज्योतिश ग्रन्थको आदेश भएकोले पर्व सुधार, पात्रो सुधार, शुद्धता अभियानलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी वेदमा उल्लेख भएको समय वलवान हुन्छ भन्ने वाक्यलाई चरितार्थ पारौं । धर्मकर्म शुद्ध समयमा गरौं ।

“धर्माे रक्षति रक्षितः धर्मलाई हामीले रक्षा गरे मात्र धर्मले हामीलाई रक्षा गर्छ ।”

जय पर्व सुधार अभियान ।

लेखक श्रेष्ठ पर्व समय सुधार राष्ट्रिय समाज नेपालका सचिव हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस