कोरोना भाइरस र नेपालको जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १२, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

-अरुणराज सुमार्गी

छिमेकी राष्ट्र चीनबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कहर विश्वभरि फैलिइरहेका बेला अर्को छिमेकी राष्ट्र भारतले पनि भाइरससँग लड्न आह्वान गर्यो । जनताले त्यसको स्वागत गरे । हामी नेपालीहरू मनमैत्री भएर होला, परेपछि मात्र विश्वास गर्ने बानीले यो महामारीमा ठूलो संकट बेहोर्नुपर्ने जस्तो देखिन थालेको छ ।

चीनबाट सुरु भएको कोभिड १९ इटालीसम्म पुग्दा त्यहाँका देश र जनताले गरेको हेलचेक्र्याइँले गर्दा जुन नियति भोग्नुपरेको छ, त्यसको मूल्य चुकाउन त्यो देशलाई लामो समय संघर्ष गर्नुपर्छ । तर, हाम्रो देशका जनता राज्य सञ्चालकलाई कसले सम्झाउने हो, बडा पीर लागेको छ । के हामीले यसको नियन्त्रण गर्न सक्ने अवस्था छ ? हामीले संयमता अपनाई यो भाइरस हामीहरूको बीच आउन नदिनु नै आजको मूल चुनौती हो । उसका लागि अरूले होइन, आफैंले सुरक्षित भइरहनुपर्नेछ । कोभिडको अर्थ को भिड्ने होइन, हामी आफैं आफ्ना लागि र देशका लागि भिड्ने हो ।

हिजोअस्तीको जस्तो बन्दलाई मनोरञ्जनात्मक बनाएर दिन काट्ने, साथीभाइसँग तास खेल्ने, भेटघाट गर्ने, मादक पदार्थ सेवन गर्ने वा आफ्नो–आफ्नो स्वार्थको दल गुटका लागि जम्मा हुने बेला यो होइन । सबैले सचेत हुनुपर्यो । यसको जन्मका बारेमा फरक–फरक अड्कलबाजी भइरहेका बेला वेद र धर्महरूको व्याख्या र मान्यताका आधारमा वा देवमुनि भएका कारणले वा हाम्रो क्षमता शक्ति (इमुनिटी पावर) बढी भएका कारणले पशुपतिनाथले रक्षा गर्छन् भन्ने अवधारणाहरूले झूटो आश्वासन देखाएर देश र जनतामाथि हामी खेलबाड नगरौं । अमेरिकाले बनाएको मानवनिर्मित जीवाणु होस् वा चीनले बनाएको ल्याबबाट निस्केको भाइरस होस्, यो खतरनाक छ, यसबाट हामीले हाम्रो समाज देश र जनताको रक्षा गर्नुपर्छ ।

हाम्रो देशको पूरा तन्त्रलाई हिजोआज सामाजिक सञ्जालको जालबाट बाहिर निस्कनुपर्ने खास बेला आएको छ । हिजोका पुराना उखानहरूलाई आत्मसात् गर्नुपर्ने बेला आएको छ । कसले हो कुन्नि मर भन्दैमा साढे मर्दैन, बूढी मरी हैन, काल पल्केको बुझ्नुपर्छ । यस्ता युक्तिहरूलाई आत्मसात् गर्न आजका संवेदनशील नागरिकको दायित्व हो । काठमाडौंमा बस्ने विभिन्न देशको स्वार्थका लागि लागिपरेका तथा हाम्रो राजनीतिमा बुद्धिजीवी घमिरा बढी ढोडे पल्केकाहरूको आवाज होइन, यो बेला नपरी आफैले आफैंलाई भन्नुपर्ने बेला आएको छ । तपाईंको घरबाट तपाईं ननिस्कनुपर्ने तपाईंले देशमा आउन लागेको संकटको मोचन गरेको बुझिनेछ । नजानेकोलाइ सिकाऔं, जानेकाले सुनाऔं । देश र जनता रहे दल रहने हो । कृपया सबै दलका भ्रातृ संगठनहरूमार्फत राष्ट्रिय नेताहरूमार्फत सबैले सबैमा पुग्ने गरी भन्नु जो जहाँ छ त्यहाँबाट सहयोग गरौं ।

उद्यागी–व्यवसायीहरूले आआफ्नो वस्तुका प्रयोगकर्ताहरूसम्म देश कोभिडको मायाजालमा फस्न नदिन विगुल फुक्न पर्यो । इटलीको मिलान सहर लासहरूको ठूलो चिहान बनिरहेका बेला चीनको वुहानमा चिता जलिरहेका बेला विश्वको सबैभन्दा शक्तिमान राष्ट्र अमेरिका यो समस्याबाट जुध्न नसकिरहका बेला हामी जस्तो प्रकृतिले धनी तर स्रोतसाधनले गरिबीको रेखामुनि रहेको नेपालको रक्षार्थ हामी सबै मिली देशलाई बचाऔं । यो महामारी मात्र हैन, यो हाम्रो भविष्य र वर्तमानको लागि अभिशाप पनि हो र हाम्रो भाग्य उदयको नयाँ मार्ग पनि हो ।
विक्रम संवत् १४०६ तिर पनि यस्तो महामारी विश्वमा फैलिएको इतिहास छ ।

त्यो बेला विश्वको जनसंख्याको एकतिहाइ मानिसले आफ्नो ज्यान गुमाएका थिए । तर, त्यो अज्ञानता थियो । हिजोआज सूचनाको पहुँच सबैजसोलाई सजिलोसँग छ । अब यो अवस्थामा पनि नेपाली, नेपाल र हामीले यो परिस्थितिलाई आत्मसात् गर्न सकेनौं भने यसको भयावयबाट हामीलाई पशुपतिनाथले पनि बचाउन सक्ने छैनन्, । राज्यद्वारा प्रेषित र स्वास्थ्य संगठनद्वारा दिएका कार्यहरू अनुशरण नै योबाट बच्ने मुख्य आधार हो । यो भाइरस हावामा ३ घण्टा, तामाको भाँडामा ४ घण्टा, कागजमा २४ घण्टा, स्टिलको भाडाकुँडामा २ दिनदेखि ३ दिनसम्म, प्लास्टिकका वस्तु तथा भाँडाहरूमा ३ दिनसम्म रहने हुँदा आफ्नो भाँडा, आफ्नो सामान आफैं चलाऊँ, बाहिर नजाऊँ, सेनेटाइजर प्रयोग गरी सबैलाई भनौं र आफू पनि गरौं ।

ताजा अपडेट

खोजी गर्नुहोस