शिरोमणि दवाडी
बिश्व आज कोरोनाले त्राहीमाम छ । नेपालमा पनि भित्रभित्रै भाइरस सल्किएको स्थिति स्पष्ट अनुमान गर्न सकिन्छ। बेला बितेपछी बुद्धि आउने नेपाली राजनीतिक स्वाभावका कारण आम नेपालीले दुःख भोगिरहेका छन् । थप दुःख भोग्न बाध्य हुनुपर्ने अवस्था छ । सरकारले गरेको अहिलेको लकडाउनको निर्णय ढिलै गरेपनि राम्रै गर्यो भनेर चित्त बुझाउनुको अब बिकल्प पनि रहेन । तर नेतृत्व तहको आपसी लडाइ र सत्ताको मोहमा अल्झिने नेपाली राजनीति र अदुरदर्शी सरकारी नितिले जनताले गणतान्त्रिक नेपालको इतिहासको पहिलो पानादेखि भोग्दै आएको दुःख फेरि दोहोरिएको अवस्था छ । कोरोनाको सन्दर्भमा यो प्रसङ्ग त्यसै जोडेको होइन ।
घटनाक्रमले प्रमाणित गर्छ। ४ महिना अघि चिनबाट सुरु भएको यो समस्या बिश्वभरी एक फन्को मारेर नेपाल आइपुग्दा सरकार चलाउने र सरकार जोगाउने दुबै कुर्सी अर्थात सत्ता भागबण्डा मै अल्झिए ।कोरोनाले कानै निमठे पछि मात्र होस खुल्यो। चिनबाट फर्किएका नेपालीमा संक्रमण देखिएको नै महिनौं अघि हो। त्यो बेलासम्म यो संक्रमण चीनबाहिर फैलिने क्रम सुरू भइसकेको थियो । त्यति नै बेला तयारी गर्नुपर्नेमा हामी भने कानमा तेल हालेर बस्यौँ ।
हाम्रो राजनीतिक नेतृत्व त्यो बेला आफ्नै खेलमा अल्झिएको थियो । त्यसबेला पार्टीभित्र आन्तरिक कलह थियो । सभामुखको विषयलाई लिएर सत्तासीन पार्टीभित्र ठूलो खिचातानी भयो । प्रधानमन्त्री केपी ओली नजिकका नेता सभामुख बन्ने कि पूर्व माओवादी नेता सभामुख बन्ने भन्नेमा राम्रै कस्साकसी चलेको थियो । आखिर माघ १२ गते नेकपाका अग्नीप्रसाद सापकोटा सभामुख बने । त्यसले पार्टीभित्रको शक्ति संघर्षमा थप नुनचुक दल्यो । नेकपाकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकातिर उभिँदा पार्टीभित्रको शक्ति असन्तुलित बन्यो।
अन्ततः प्रधानमन्त्री अल्पमतमा नै परे । अमेरिकाले दिने एमसिसीअन्तर्गतको ५० अर्ब रूपैयाँ अनुदान संसदबाट चाँडै अनुमोदन गर्ने प्रधानमन्त्रीको इच्छाविपरीतको माम्लाले झनै राजनीति गिजोलियो। बिनासंशोधन प्रतिवेदन पास हुन नसक्ने प्रतिवेदन कार्यदलले दिएपछी प्रधानमन्त्री थप अप्ठ्यारोमा परे ।त्यस लगत्तै वामदेव प्रकरण सुरु भयो । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर राष्ट्रिय सभामा लैजाने प्रस्ताव फागुन १० गतेको पार्टी सचिवालय बैठकमा पेस गरियो । यस कुराले पार्टीभित्रको शक्ति संघर्ष झनै उत्कर्षमा पुग्यो ।
के खोज्छस कानो आँखो भने झैँ प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न फागुन १९ गते अस्पताल भर्ना हुने निर्णय सुनाएपछि पार्टीभित्रको झगडा केही समय सेलायो । यदि त्यसो नभएको भए अहिलेसम्म सबै यही खिचातानीमा अल्मल्लिएका हुन्थे । कोरोना भाइरसको कहरले सत्तामा उक्लिने र ओराल्ने अनि आफू अनूकुल राजनीतिक दाउपेचमा लाग्ने रहरको अन्त्य हुँदैन थियो । सबैतिरबाट गाँजिएपछी, व्यापक जनदबाब बढ्न थालेपछी, बिश्व स्वास्थ्य संगठनले बारम्बार चेतावनी दिएपछि मात्र तातो लागेको अवस्था हो ।
अस्पताल जानु एक दिनअघि प्रधानमन्त्री ओलीले फागुन १८ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोनाविरूद्ध तयारी गर्न उच्चस्तरीय समिति गठन गरेका हुन । त्यसपछि मात्र यो समितिले काम गर्न थालेको हो । अझ प्राधानमन्त्री अस्पतालबाट डिस्चार्ज नभएसम्म कुनै सक्रियता देखिएको थिएन। छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत आत्तिएपछी बल्ल होस खुलेको हो । अहिले पुरै नेपालमा लकडाउन गरिएको छ । एक सातालाई म्याद समेत थपिएको अवस्था छ। उल्लंघन गर्नेले गर्न छाडेका छैनन् । बिरामी बढेका बढयै छन् । अन्यत्रको हवाइ तथा स्थल यातायात बन्द गरिए पनि खुला सिमा रहेको भारतबाट अनेक बैकल्पिक बाटो हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूको लर्को उस्तै छ ।
यो अवस्था कुन स्थितिसम्म पुग्ने हो ? के नेपालले पनि चीन, अमेरिका र युरोप जस्तो बिडम्बना त ब्यहोर्नु पर्दैन ? के नेपालको यही श्रोत,साधनले यो माहामारीलाई नियन्त्रणमा ल्याउन सक्छ ? आम जनमानस त्राश र शंकामा छन् । सायद आम जनताको भावनालाई बुझेर बिश्व परिवेशले सिकाएको पाठ सिकेर सरकारले आज गरेको काम २,४ साता अघि मात्र गरिदिएको भए सम्भावित भय र माहामारी बेलैमा तह लागिसक्थ्यो । आशा गरौँ त्यस्तो भयावह अवस्था नेपालमा नहोला । तर अब पनि सरकार चुक्नुहुँदैन । जानाजान गल्ती गरेर झुक्नुहुँदैन ।