कोरोनाले सिकाएको पाठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २७, शनिबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

घनश्याम रिजाल                          

जिन्दगीमा न कसैले कल्पना गरेको थियो न चाहेको थियो, यस्तो पनि दिन आउँछ भनेर । तर, जिन्दगी हो के केसँग पौंठेजोरी खेल्नुपर्छ भनेर थाहै हुँदैन । हाम्रा पुर्खाहरूले पनि अनेकौं व्‍यहोरेको हामीले सुनेकै हौँ । हाम्रा सन्ततिले के–के व्‍यहोर्लान् के–के चुनौती आउला ? अहिले कल्पना नगरौँ । जीवितहरूको संसारमा सबैभन्दा अब्बल मान्छे । आज मान्छेले धेरै विकास गरेको छ । चेतनशील प्राणी हो मान्छे । सबै कुराको तारतम्मे मिलाउन सक्छ मान्छेले । हो हामीले कहालीलाग्दो धेरै घटनाहरूको सामना गरेकै हौँ ।

आज पनि हामीमाथि विश्व महामारीको रूपमा उदाएको एउटा अदृश्य शक्ति देश, जिल्ला, नगर हुँदै हाम्रै नजिक आएर हामी सबैलाई निकै सतर्क गरायो, ठूलो चुनौती थपिदियो । समस्या आएपछि नै समाधानको बाटो खोज्ने हो । जे पर्छ सामना हामीले नै गर्ने हो, अरूबाट आशा राख्नुभन्दा सिक्नु चाहिँ पक्कै राम्रो हुन्छ ।

कोरोना जित्नकै लागि विभिन्न उपायको सामना गरेकै हो, गरिरहेका छौं । डराएर भागेर केही हुँदैन सामना गर्ने हो, नयाँ परिस्थितिलाई चिर्दै अगाडि बढ्दैछ मान्छे र परिस्थितिलाई सामान्य पनि मान्दैछ मान्छे ।

नोक्सानीको साझेदारी तीनै पक्ष रहनुपर्ने माग

मनबाटै सामान्य हुँदै गर्दा सर्वसाधारणका लागि आर्थिक समस्या उत्पन्न भएको छ । साना व्यावसायीको समस्या सुनेपछि मन कटक्क कुँडिएर आउँछ । आज हामीमाथि केही चुनौती थपिएको छ । जसको स्थायी जागिर छैन, जसको मनग्य भाडा आउने घर छैन, कमाइ हुने हरेक बाटोहरू बन्द छन् । छोरा–छोरीको पालनपोषण, शिक्षादीक्षा, बुढा बाबुआमाको हेरचाह औषधि उपचार नियमित सेवन गर्नुपर्ने औषधिको जोरजाम, घरमा चाहिने खाद्यान्नको जोरजाम, टेलिफोन खर्च, बैंकको ऋण, सावाँ–ब्याज मोटर साइकलको किस्ता,घरको भाडा, अझ साना व्‍यवसायी भएमा सटर भाडा, पसलमा भएको सामानहरू ड्यामेज ! घाटा, उफ कति हो कति ? घाटा भनेर साध्यै छैन । यो अवधिभर दुई पैसा कमाइ छैन । सरकारले एक महिनाको भाडा छुट दिन अनुरोध गरेको छ । निर्णय गरेको होइन मनकारी घरबेटीहरूले ३ महिनाकै भाडा छुट गरेका छन् । सबै घरबेटीको स्तर एउटै हुने कुरा पनि भएन । खान लाउनै मुस्किल घरबेटीहरू पनि छन् । उनीहरूलाई पनि राहतको व्‍यवस्था हुनुपर्छ । तर, एक डेढ महिनाको भाडा नलिँदैमा जहाजै डुब्नेहरू बाहेकले छुट् दिन हिचकिचाउन हुन्न कि भन्ने लाग्छ । सक्नेहरू र मनकारी मानवता भएकाहरूले लाखौं रुपैयाँ राहत बाँडेका छन् ।

उनीहरूको स्पष्ट उत्तर छ, ‘धर्म गर्न मन्दिर जानै पर्दैन’ यदि मानवीय धर्म निभाउने हो भने । कतिले पुण्य कमाउने राम्रो अवसरको रुपमा लिएका छन् यसलाई । सरल स्वभावका मान्छेका लागि कुनै बहाना नै चाहिँदैन उनीहरू आफैँ कुरा बुझ्छन् । तर, थोरै मान्छेहरू यही समाजमा छन्, जसले यस्ता सामाजिक भावलाई नकारात्मक रूपमा मात्र चित्रण गर्छ । उसले नभएको आफ्नो समस्या मात्र अगाडि ल्याउँछ अरू कसैको सुन्दैन । कम्तीमा पनि स्थानीय रूपमा वडाको रोहबरमा कुनै हेल्प–डेस्कको स्थापना अथवा एउटा छुट्टै समिति बनाएर आफ्नो वडाभित्र आएका समस्याहरूलाई वैज्ञानिक ढंगबाट हल गर्ने उपाय निकाल्नै पर्ला । कुनै पनि व्‍यवसायको दर्ता, भाडा कर, घरको ऋण, भाडा रकम सम्झौता आदिको अध्ययन पनि सँगै गर्न सकिने र समस्या हल गर्न राम्रो भूमिका खेल्न सक्ने देखिन्छ । यसका लागि घरधनी, व्‍यवसायी, नागरिक अगुवा, वडा जनप्रतिनिधि सबैको लागि उदाहरणीय बन्ने एउटा राम्रो मौकाको रूपमा लिन सकिएला । दीर्घकालीन समाधान र योजना कार्यान्वयनका लागि सबैको अभिभावक सरकारकै पहलमा यो सम्भव होला, लकडाउनको समयमा भएको नोक्सानी क–कसले व्‍यहोर्ने ? व्यवसायी एक्लैले ? घरधनी र व्यवसायीले ? अथवा घरधनी, व्यवसायी र सरकारले ? लकडाउनको समयमा भएको नोक्सानीको साझेदारी तीनै पक्ष रहनुपर्ने माग व्यावसायीहरूले उठाएका छन् । कुनै पनि बिन्दुमा पुगेर यसको निराकरण हुनैपर्छ नत्र यसैबाट वैमनष्‍यता उत्पन्न हुनसक्ने देखिन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ । कुरा यति मात्रै हो कि समाधानको ताल्चा कसले खोल्न सक्छ ?

ठमेलबाट सिक्ने कि

हुन त ठमेलका व्यवसायीहरू र केही घरधनीहरूले लगभग टुंगो लगाएका छन, एक वर्ष भाडामा ५० छुट लिनेदिने । यसमा सरकारको ठूलो भूमिका देखिँदैन तर जे होस् यो अरूका लागि एउटा उदाहरण बन्नसक्छ । घरधनी र व्यवसायी बीचको घाटामा साझेदारीको यो एउटा उदाहरण हो । यतिबेला समस्यामा नरहेका निकै कम होलान् यो २/४ दिनको समस्या पक्कै होइन दीर्घकालीन रुपमै यसको असर पर्ने देखिन्छ । त्यसैले हामीमाथि अर्को चुनौती थपिएको छ । दीर्घकालीन समाधान कसरी गर्ने ? निकै संयमतापूर्वक निर्णय लिन सक्ने खुबी आवश्‍यक छ । यसका लागि पहलको सुरुवात कहाँबाट गर्ने ? कसले गर्ने ? निचोडसम्म कसरी पुग्ने ? पहिलो चरणमा कोभिडसँग लडेका हामी अहिले आर्थिक अभावसँग पनि लड्न पर्नेछ । कहिलेसम्म लडिरहने ? हाम्रो समाजमा घरबेटी र भाडावालबीच तीन किसिमको व्यवहार देखिएको छ ।

१. कुनै हालतमा भाडा छुट नदिने
२. एक महिनाको दिने
३. तीन महिनाको दिने

व्‍यापारीहरू यो तीन महिना त शतप्रतिशत नै नोक्सान व्‍यहोर्नुपर्‍यो । अझै देशको स्थिति कोल्टे फेरिन कति समय लाग्ने हो कति समय नोक्सानीमै डराई–डराई व्‍यापारमा अल्झिन पर्ने हो भन्ने चिन्ता देखिन्छ । योसँगै गर्नुपर्ने खर्च कुनै घट्नेवाला छैन । ऋणको बोझ थपिँदै जाने चिन्ता उनीहरूमा देखिन्छ । त्यस्ता घरबेटी जसले ऋण लिएर मुस्किलले किस्ता तिरिरहेका छन्, उनीहरूलाई ठूलो समस्या छ । जसको आफू खुम्चिएर घरमा बसेर २, ३ कोठाको भाडाले जीविकोपार्जन गरेका छन्, उनीहरूलाई समस्या हुन सक्छ । यस्तो अवस्थामा ठ्याक्कै अवस्था बुझेर निर्णय दिनसक्ने को होला ? जहाँ बिबादरहित समाधान हुन्छ त्यहाँ कुनै समस्या भएन तर जहाँ विवाद सृजना हुन्छ त्यहाँ समाधानको बाटो तयार गर्नुपर्छ, र यो विषम परिस्थितिमा यस्तो किसिमको समस्या धेरै देखिन सक्छ । यो अवस्थामा सम्बन्धित सबै किसिमको प्रतिनिधित्व हुनेगरी स्थानीय निकायको नेतृत्वमा यसको पहल हुनु जरुरी देखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस