कोरोनालाई जितेपछि…….

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • ७८ पटक पढिएको
Post Thumbnail

– सम्झना श्रेष्ठ                                                

जब मेरो मोवाईलमा फोन आयो , नम्वर नयाँ थियो । फोन उठाँए , त्यहिबेला केहि समयपछि फोन आयो, एम्बुलेन्स लिन आउछ भाईलाई ठिक पर्नु भन्नु ।

त्यसपछि संगै हाँस्दै बसिरहनु भएको घरबेटी आन्टि पनि आत्तिएर यता नजिक नआउ भन्दै आफ्नो रुमतिर जानुभयो लगतै घरबेटीले तिमिहरु लुगाहरु प्याक गरेर गैईहाल भन्नुभयो । हुन त रोग नै त्यस्तै हो, तर घरबेटीले हेपेको महशुस भयो ।

घरमा बुबा–ममी दादा दिदिलाई विस्तारै भन्ने प्रयास गरेँ । जे नहुनु थियो त्यो भइसकेको थियो । भाई म तिर हेर्दै, दिदि मलाई निको भईसक्यो ज्वरो आएको, कसरी पोजेटिभ आयो ? कसले फोन गरेको ? मलाई कोरोना लागेको नै छैन, म ठिक छु भन्नथाल्यो । हुनपनि भाईलाई ज्वरो आएको निको पनि भईसकेको थियो । तर पोजिटिभ भनेर जानकारी आइसकेको थियो । भाईलाई ठिक पर्न आग्रह गरेँ । केहि समयमा नै कल आयो– ‘कहाँ आउनुपर्ने हो लिन ?’ मैले तिनकुने बाग्मती खोलानेर आउनुस भने । भाईलाई हामी बसेको घरभन्दा अलि टाढा एम्बुलेन्समा पुर्याएर म फर्किएँ । भाइसंगै जान मिल्ने रहेनछ । म रुम त आए तर घरबेटीले मलाई पनि कहाँ जाने हो, लुगा ठिक पारेर जाउ पो भन्न थाले । अव यस्तो अवस्थामा म कहाँ जाने ? मैले केहि सोच्नै सकिन । भाईको पिर एकातिर, अर्कोतिर घरबेटीको टर्चर ! तिमि भाईसंग बसेकोले तिमिलाई कोरोना लागिसक्यो, पिसिआर गराउ ! यहाँबाट अहिल्यै निस्किहाल् भनेर फोन, म्यासेज गर्न थाले । रोगले भन्दा पनि घरबेटीको टर्चरले मलाई पिडा दियो । भाईलाई कोरोना संक्रमण भयो भन्नसाथ म घरबाट कतै ननिस्कि कोठाभित्र बसिरहे । तर घरबेटीको कचकच अत्ति थियो । उनिहरुले पिडामाथि पिडा थप्ने काम गरे । आफन्तले कल गरेर सान्तवना दिने सिवाय मेरो घरमा बस् भन्ने कसैले आँट गर्नसक्ने अवस्था थिएन ।

गाँउमा दादा–दिदिलाई सबैकुरा भनेँ। सबैलाई तनाव भयो । झन घरबेटीलाई दादाले कल गरेर अनुरोध गर्नुभएछ तर पनि मलाई म्यासेज कल आइरहेको थियो । सोचे म कहाँ जाउ ? जङ्गल गएर बस्छु भन्ने नी सोच नआएको होईन । यति पिडा भयो कि कसरी व्यक्त गरौँ ? मनलाई बुझाउदै साहस लिँदै सहेर बसे । दिदिले बहिनिको पिसिआर रिपोर्ट नआउन्जेल बस्न दिनुस् भनेर घरबेटीलाई फोन गर्नुभएछ । त्यसपछि मलाई फोन,म्यासेज आउन छोड्यो । तर परिवार जसरी बसिरहेको घरबेटीले हेप्न थाले । मनमा साह्रै नरमाइलो लाग्यो । पिसिआर रिपोर्टको लागि ३ दिनको पर्खाईमा थिएँ । मेरो रोएरै दिन वितिरहेको थियो । मन मिल्ले साथिसंग कुरा गर्दै रुने हास्ने गरिरहे । परिवारको साथ थियो । सबैजनालाई पिडा भईरहेको थियो । तर म एक्लो थिँए । कसैले मलाई भेट्न मिल्ने अवस्था थिएन किनकी कोरोनाको डर थियो । खानेकुराहरु ठुलो मामाले सबै बाहिर गेटसम्म ल्याइदिनुभयो । पिर नगर भन्दै सम्झाउनुभयो ।

घरबेटीको टर्चरमा दिन बित्दै थियो । तिन दिनपछि नयाँ नम्वरबाट फोन आयो । फोनमा भन्नुभयो–’तपाई सम्झना हो ?’ मैले हो भने । फेरी फोनमा ती व्यक्तीले भने – ‘तपाईको कोरोना पोजेटिभ देखिएको छ ।’ रुँदारुँदा आफै कडा भईसकेको थिएँ । तरपनि आशुँ आइहालेछ । फोनमा भनियो– ‘केहि समयपछि एम्बुलेन्स आउछ, ठिक परेर बस्नु ।’ मलाइ पिडा भएपनि घरबेटीको घर छोड्न पाउदा आनन्द महशुस पनि भयो । म घरभन्दा अलि टाढा बागमती खोलाछेउ आउछु, त्यहि आउनुस् भने । किन हल्ला गर्नु भन्ने सोचे । लुगा, खानेकुरा सबै व्यागमा हाले । कोठाको साँचो लगाएर निस्किए । मनमा अनेक कुराहरु खेलिरहेको थियो । एम्बुलेन्स साइरन बजाउदै आइपुग्यो । अरु मान्छेहरु म तिर हेर्दै थिए । म एम्बुलेन्समा चढेँ । मुटु ढुकढुक भयो । मलाई कहाँ लैजादैछन् ? भन्ने महशुस भयो । एम्बुलेन्समा म एक्लै थिए । तिनकुनेबाट कोटेश्वर, सातदोवाटो, बल्खु हुँदै मलाई कृतिपुर आर्युबेदिक हस्पिटल ल्याइयो । जहाँ भाई पनि थियो । कृतिपुर आर्युवेदिक अस्पताल कोरोना संक्रमितलाई राख्ने स्थान बनाइएको रहेछ । भाईसंगै हुन्छु भन्ने थियो तर मान्छे धेरै बढेको हुनाले मलाई अर्को भवनमा लगियो।

जव म एम्बुलेन्सबाट आर्लिए, रिङ्गटा लागे झै भयो भित्तामा अढेस लगाउन पुगेछु । एकजाना पाले दाईले त्यहाँ अढेस लगाउनु हुन्न भन्नुभयो । म झसङ्ग भएँ । केहि समयपछि मलाई माथि १५ नम्वर कोठामा जानु भन्नुभयो । मेरो पछि–पछि एकजना व्यक्ति स्प्रे छर्किदै आउनुभयो । सायद किटाणु सर्छ भनेर हुनुपर्छ । जव म कोठामा पुगे, कता–कता आए झैँ लाग्यो। अनायसै आखाँबाट आशुँ पो आएछ । जसले कल गरेपनि आशुँ आउने भएछ, आँखा त्यसै रसाउने पो भएछ । तर त्यहाँ म जस्तै अन्य बिरामी पनि थिए , परिचय गरेँ । सबै कोठामा म जस्तै संक्रमितहरु राखिएको रहेछ, पछि मन बुझाए ।

जतिबेला म त्यहाँ पुगेको थिएँ,त्यतीबेला त्यहाँ खाजा खाने बेला भएको रहेछ । खाजा खाए । बेलुका भयो, खाना आयो, खाना खाएँ । नयाँ ठाँउ भएर पनि होला, निन्द्रा भने परेन् । छुट्टै पिडा भएर होला टाउको दुखे झै भयो, राति सोच्दा सोच्दै निदाएछु । बिउझिने बित्तिकै म कहाँ छु जस्तो भएछ । फेरी निन्द्रा परेन् । त्यतीकै उज्यालो भयो । बिहान भयो । खाजा आयो, खाजा खाँए । त्यसपछि त्यतीकै बसिरहे । बिहानको खाना आयो, खाना खाँए । त्यसपछि विस्तारै रमाउन थालेँ । म जस्तै विरामीसंग गफ गर्न थालेँ ।
उनिहरुको कुरा सुनेपछि शारीरिक पिडा त केहि थिएन,सबैलाई मानसिक पिडा भने दिने रहेछ भन्ने बुझे । कोरोना खासै केही होईन रहेछ भन्ने मलाई महशुस हुँदै थियो । मलाई त्यस्तो गाह्रो पनि केहि भएन । मात्र परिवारसंग टाढा भएर गुफा बसेको जस्तै महशुस भयो । आत्माबल बढाउन थाले, रमाउन थाले । म गएको ८ दिनपछि भाईको नेगेटिभ रिपोर्ट आयो भन्ने खवर सुनेँ । खुसीको सिमा रहेन् । भाइ १६ औँ दिनमा डिस्चार्ज भयो । साथिभाई मलाई भेट्न आईपुगे । म झ्यालबाट हेरेर गफ गरे । मन साहैँ रमायो ।

दिनहरु बित्दै गयो । म हस्पिटल बसेको पनि १० दिन भएछ । त्यो दिन पिसिआर टेष्ट गरियो । अव तिन दिनको पर्खाइमा थिए । तिन दिनको दिन मलाई निन्द्रा लागेन । म्यासेज मोवाईलमा कतिखेर आउछ होला ? भनेर हेर्दै सुत्दै, छटपट हुन थालेको थियो । विहान भएपछि म संगै पिसिआर दिएका साथिहरुसंग कुरा गर्दै थिए । उनिहरु सबैको नेगेटिभ भनेर म्यासेज आयो । तर म संगै अरु तिनजना साथिहरुको भने म्यासेज आएन अनायासै आँसु आयो । म ढुक्क थिए, नेगेटिभ आउछ भनेर । त्यसैले पनि निराश भएँ । सबैले पछि आउछ भने धैर्य गरे । तर ४ दिनको दिन रिपोर्ट आयो–पोजेटिभ भनेर । त्यसपछि त म छाँगाबाट खसे झैँ भएँ । मैले सोचे– ‘मलाई केहि भएको छैन, किन पोजेटिभ आयो ?’ मनलाई बुझाउन गाह्रो भईरहेको थियो, मेसिन बिग्रेछ कि झै लाग्यो । मनमा धेरै कुरा खेल्नु नहाँ कुरा थिएन तर मन बुझाउदै बसे । निको भएर जानेहरुसंगै अरु नयां कोरोना सङक्रमित आउनेको लाईन थियो । नयाँ साथी एकजना दिदि आउनुभयो । मिलनसार हुनुहुन्थ्यो उहाँलाई पनि खासै त्यस्तो केहि भएको थिएन । गफगाफ भयो । सबैजना देखेर खुशी पनि भए ।

दिन गनेर नै समय बितिरहेको थियो । पाँच दिनपछि फेरि पिसिआर परिक्षण गरियो । अव नेगेटिभ रिपोर्टको पर्खाईमा थिएँ । एक किसिमले डरपनि लागिरहेको थियो , रमाइलो पनि भईरहेको थियो । हस्पिटलको बसाई पनि खाजा, खानाको राम्रो व्यवस्था थियो । कोहिपनि त्यहाँ बिरामी जस्तो देखिदैन थिए । सबैजना स्वस्थ नै देखिन्थे । साच्चै पहिले–पहिले पनि रुघाखोकी लाग्थ्यो । ज्वरो आउथ्यो, त्यस्तै सामान्य नै लागि रहेको थियो मात्र आत्मबल नै यसको औषधी थियो । साथै इम्युनिटी पावर बढाउनको लागी आर्युवेदिक औषधि पनि दिईएको थियो ।

हस्पटिल बसेको १९ दिनमा मोवाइलमा विहानै म्यासेज आयो– कोरोना नेगेटिभ भनेर । त्यसपछि खुशिको सिमा रहेन । आज १९ दिन पछि कोरोनालाई जितेर कोठा फर्केको छु । अहिलेको समयमा कोरोना भाइरसको महामारी फैलिएको छ । त्यो नयाँ कुरा होईन । तर यो रोग त्यस्तो जटिल रोग होईन रहेछ । जटिल त मान्छेको व्यवहारले बनाईरहेको छ, मान्छेलाई शारीरिक पिडाले भन्दा पनि समाजका मान्छेको व्यवहारले मानसिक पिडा भईरहेको छ।

कोरोना संक्रमण पछि मलाई लागेको यो रोग जो कोहिलाई हुनसक्छ तर कोरोना पोजेटिभ देख्न साथ हेँला गर्ने, दुर्व्यवहार गर्ने, हेप्ने , वस्न नदिने, विभिन्न तनाव दिनेहरु चाहि कोरोना भाईरस भन्दापनि महाभाईरस हुन् । अपराधी हुन ।

म त भन्छु–’विभिन्न रोगहरुको कारण मान्छेहरुको मृत्यु भईरहेकै हो । तर यो भन्दा अगाडी पनि मान्छलाई ज्वरो आउने, रुघा लाग्ने , टाउको दुख्ने नभएको होईन । यो पनि एउटा फ्लु हो ।आफुले हेलचेक्क्र्याई नगर्ने र सावधानी अपनाउदा ठुलो क्षती हुन पाउदैन् । हुन त विश्वभरी यो भारइसको संक्रमणले सबैलाई हायलकायल बनाइरहेको छ । यसबाट बच्न त अवश्य पर्छ नै तर रोगभन्दा बाहिरी डर, त्रास र दवावले मानिसलाई झन कमजोर बनाउन भएन् । उनिहरुलाई हौसला दिनुपर्ने बेलामा, आँट दिनुपर्ने बेलामा उनिहरुलाई निराशामा बदल्नु भएन् ।
धेरै रोगहरुले आक्रमण गरेको विरामीलाई कोरोना भाइरसले अलि गार्हो भएको छ ।’

तर अहिल्यै त्यसै मान्छेहरु अत्याउने आत्तिने काम भईरहेको छ । तसर्थ संक्रमितहरुलाई हौसला र माया दिनुस् । जसले रोगसंग लड्ने क्षमता बढाउछ । उनिहरुको आत्मबल बढ्छ । डाक्टर नर्सहरुलाइ सम्मान र माया गर्नुहोस् । जसले यो महामारीमा दिनरात नभनी विरामीको सेवा गर्दैछन । सक्नुहुन्छ सकरात्मक सोच राख्नुहोस् , कोरोना संक्रमित व्यक्तिहरुलाई हौसला ,माया र सम्मान गर्नुहोस् सकिदैन भने दुखी बनाउने , टर्चर दिने काम नगर्नुहोस् । पृथ्वी गोलो छ, सबैको पालो घुमिफिरी आउछे । भोली आफु संक्रमित हुँदा सोही व्यवहार अरुले गरेभने आफुलाई नी त्यस्तै गाह्रो हुन्छ भन्ने बुझौँ ।

कोरोना संक्रमणपछि मलाई लागेको आत्मवल नै कोरोनाको औषधी हो तर पोजेटिभ देखिएपनि बिरामी छु भन्ने महशुस भने खासै भएन तर मानसिक तनाव भने सबैमा भएको छ । यो रोगले त्यस्तो गाह्रो केहि हुन्न मनलाई बलियो बनाउन भने जरुरी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस