माघ १७, काठमाडौँ । आज २०८१ साल माघ १७ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि । सोनाम ल्होसार । तदनुसार सन् २०२५ जनवरी ३० तारिख।
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।
कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।
यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।