बिद्युत प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ४, आईतबार (२ महिना अघि)
  • ८३ पटक पढिएको
बिद्युत प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पायो

फागुन ४,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरेर सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।

चुक्ता पूँजी झन्डै तीन खर्ब रुपैयाँ कायम गरी प्राथमिक शेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्रिमियमसहित प्राधिकरणको शेयरको मूल्य प्रतिकित्ता मूल्य झन्डै तीन सय रुपैयाँ हुनेछ । तर यसका लागि नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ ।

प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढी छ । प्राधिकरणले क्रेडिट रेटिङमा यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ ।

वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्व लगायतको विश्लेषण गरी रेटिङ गरिएको हो । ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको बुझाउँछ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारबाट स्वीकृति पाउनासाथ शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताए । उनले भने, ‘सर्वसाधारणलाई शेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका छौँ, सरकारबाट स्वीकृति पाउनसाथ शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, शेयर निष्कासनबाट सङ्कलन गरिएको रकमलाई ठूला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौँ ।’

घिसिङले विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र बिजुली आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस