फागुन १८, काठमाण्डाैँ । युगाण्डामा आउँदो साताबाट सुरू हुने महिला टी–२० आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलो पटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए ।
मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एशोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी–२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।
नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३–३ खेलको शृंखला खेलेको थियो । नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।