डा.मधु ज्ञवाली–
चैत्र १५, काठमाण्डौँ । सूर्यबाट निस्किने हानिकारक किरणहरुको कारणले हुने क्षतिबाट छालालाई जोगाउन प्रयोग गरिने साधन नै सनस्क्रिन, सन ब्लक वा सनक्रिम हो । सूर्यबाट निस्किने ताप र प्रकाश हाम्रो लागि उपयोगी भए पनि पराबैजनी किरणहरु (Ultraviolet rays) छालाको लागि हानिकारक हुन्छन् । विभिन्न अध्ययनहरुका अनुसार अधिकांश मानिसहरुमा घामको नराम्रो असर र यसबाट जोगिने उपायहरुबारे पर्याप्त ज्ञान नभएको देखिएको छ ।
घामले छालामा पर्ने असरहरु
-
छाला रातो हुनु, पोल्नु, डढ्नु
-
घमौरा आउनु
-
छालामा डाबर आउनु, चिलाउनु
-
घामको एलर्जी हुनु
-
काला दाग-धब्बा एवं चाया-पोतो आउनु
-
उमेर नपुग्दै छाला चाउरी पर्नु
-
छालाको क्यान्सर हुनु
घामबाट जोगिनै पर्ने व्यक्तिहरु
-
घामको किरणले एलर्जी हुने व्यक्ति (जसको छालामा घाम पर्ने बित्तिकै चिलाउन थाल्छ)
-
घामले असर गर्ने छाला (लुपस जस्तै अन्य छालाको बाथ भएका व्यक्तिहरु)
-
छालामा कालो दाग-धब्बा, चाया-पोतो आदि समस्या भएका व्यक्तिहरु
-
सेतो दुवी (पाण्ड रोग/Vitiligo) भएका व्यक्तिहरु
-
घाममा बसेर काम गर्ने व्यक्तिहरु
-
आफ्नो छालाको स्याहारप्रति संवेदनशील व्यक्तिहरु (प्राकृतिक रुपमा हुने बुढ्यौलीलाई रोक्न त सकिँदैन, तर उचित तरिकाले नियमित रुपमा सनस्क्रिनको प्रयोग गर्नाले अस्वभाविक वा उमेर नपुग्दै देखिने बुढ्यौलीका चिन्हहरुलाई चाँहि केहि हदसम्म रोक्न र फर्काउन पनि सकिन्छ)
घामको असरबाट जोगिने उपायहरु
-
मध्यदिनको घाममा सकभर बाहिर ननिस्कनुहोस् ।
-
घाममा निस्किनै परे पुरा छाला ढाक्ने गरि लामो बाहुला भएको लुगा लगाउनुहोस् ।
-
सन ग्लासको प्रयोग गर्नुहोस् ।
-
घाममा जाँदा छाता ओढ्नुहोस् ।
-
फराकिलो घेरा भएको टोपी, छतरी वा ह्याट लगाउनुहोस् ।
-
सनस्क्रिनको प्रयोग गर्नुहोस् ।
सनस्क्रिन प्रयोग कसरी गर्नुपर्छ ?
घाम वाट जोगिनुको अलावा हरेक दिन उचित तरिकाले सनस्क्रिनको प्रयोग गरेमा सूर्यका किरणहरुले छालामा गर्ने असरलाई रोक्न सकिन्छ । हामी धेरैले जानेर वा लहैलहैमा सनस्क्रिन लगाईरहेका छौं । तर उचित र प्रभावकारी तरिकाले यसको प्रयोग नहुँदा यसबाट जति फाईदा हुनुपर्ने हो, त्यति फाइदा पाउन सकेका छैनौं । बिशेषगरि युवती र महिला माझ यो लोकप्रिय देखिए पनि वालक, महिला र पुरूष सबैले यसको प्रयोग गरेर फाइदा लिन सकिन्छ ।
-
कम्तिमा पनि SPF-30 को (Water Resistant) पानी प्रतिरोधक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
-
पराबैजनी किरण ए (UV A) र पराबैजनी किरण बी (UV B) दुवैबाट बचाउने Broad Spectrum सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
-
चिल्लो छाला भएको व्यक्तिले Water Based र सुख्खा छाला भएको व्यक्तिले Cream Based सनस्क्रिन लगाउनु पर्छ ।
-
सूर्यको किरण छालामा पर्नु भन्दा १५-२० मिनेटअघि नै सनस्क्रिन लगाई सक्नुपर्छ । यो लगाउँदा नमाडीकन ‘दुधको तर’ जस्तै पत्र हुने गरि लगाउनु पर्छ ।
-
अनुहार र घाँटीको छालामा लगाउनको लागि करिब आधा चिया चम्चा सनस्क्रिन पर्याप्त हुन्छ ।
-
अनुहारबाहेक लुगाले नछोपेको सबै भाग जस्तै: ओठ, कान, घाँटी, गर्दन, पाखुरा, आदिमा पनि सनस्क्रिन लगाउनु पर्छ ।
-
घाम नलागेको दिन (जस्तै: बादल लागेको, पानी परेको दिन) मा पनि पराबैजनी किरण बादललाई पार गरेर पृथ्वीमा आउने भएकोले यस्तो बेलामा पनि सनस्क्रिन लगाउनु पर्छ ।
-
घाममा बसेर गर्नुपर्ने काम जस्तैस् खेति(किसानी, पौडी खेल्नु, हाइकिङ/ट्रेकिङ गर्दै हुनुहुन्छ भने हरेक २-२ घन्टा फरकमा सनस्क्रिन लगाउनु पर्छ ।
सूर्यको प्राकृतिक प्रकाशबाहेक कृत्रिम प्रकाश जस्तै स् एल ई डी, मोबाइल, कम्प्युटर आदिबाट निस्किने प्रकाशले पनि हाम्रो छालालाई असर पुर्याउने हुनाले यी साधनहरु प्रयोग गर्दा पनि आफ्नो छालालाई जोगाउनु पर्छ ।
जहिले पनि यो कुरा याद गर्नुहोस( कुनै पनि सनस्क्रिन हाम्रो छालालाई जोगाउन आफैँमा पूर्ण रुपमा सक्षम हुँदैनन् । त्यसैले सनस्क्रिन सँग–संगै घामबाट जोगिने अन्य उपायहरु पनि अवलम्बन गर्नुपर्छ ।
(सह-प्राध्यापक डा.ज्ञवाली आरोग्य स्वास्थ्य सदन, जाउलाखेलमा छाला (चर्म) तथा यौन रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)