चैत्र ३०, काठमाण्डौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ ले आफ्ना केन्द्रीय अध्यक्ष तथा राजावादी संयुक्त जनआन्दोलन परिचालन समितिका कमान्डर दुर्गा प्रसाद प्रसाईंको गिरफ्तारीको विरोध गरेको छ । महाअभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईँले स्वेच्छिक रूपमा प्रहरीसमक्ष उपस्थित भएर आत्मसमर्पण गरे पनि सरकारले नियोजित रूपमा उनलाई पक्राउ गरी जनताको आवाज दबाउने प्रयास गरेको आरोप लगाएको छ । विज्ञप्तिमा उनको गिरफ्तारी देश र जनताको हितविपरीत भएको दाबीसहित सरकारले भ्रष्टाचार, बेथिति, धर्मविरोधी गतिविधि, तस्करी र माफियाविरुद्धको अभियान रोक्न खोजेको आरोप लगाइएको छ ।
महाअभियानले प्रसाईंसहित सम्पूर्ण अभियन्ताहरूको अविलम्ब रिहाइको माग गर्दै बन्दी बनाइएका व्यक्तिहरूको मानवअधिकार र जीवन सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेको छ। त्यस्तै, तीनकुने घटना लगायत विगतका कतिपय घटनामा दुर्गा प्रसादलाई झूटो आरोपमा फसाउने प्रयास अस्वीकार्य भएको स्पष्ट पारिएको छ । चैत १५ गते भएको तीनकुने घटनालाई लिएर सरकारले बनाएको तथाकथित घटनाविवरण अस्वीकार गर्दै, महाअभियानले उच्चस्तरीय संसदीय न्यायिक छानबिन समितिू गठन गर्न माग गरेको छ।