काठमाडौँ । तीनकुनेमा राजावादी सर्मथकहरुको प्रदर्शनका क्रममा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपाका नेता रवीन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनिहरुलाई न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । । यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
राजावादी समर्थकहरुको प्रदर्शनलाई उग्र बनाई अवान्छित गतिविधि गरेको आरोपमा उनीहरुविरुद्ध राज्य विरुद्धको कसुरमा अनुसन्धान भैरहेको छ । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राजिरी जमानीमा रिहा भएका छन् ।
हाल परिसरको हिरासतमा ६४ जना छन् । अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूमध्ये २१ जनालाई भने मुद्दा चलाइने गरि हाजिरी जमानीमा छोडिएको छ ।
प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र किर्तिपुरका एक नागरिकको मृत्यु भएको थियो ।