काठमाडौं । वीरगञ्जस्थित कृषि औजार कारखानाको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले ३२ महिनामा १६ थरिका कृषि औजार विकास गरेको छ । कारखानाका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म साना–ठूला गरी १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए ।
केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्नेर गोड्ने, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।
केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ ।
तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिन देवले माग गरे ।
२०२४ सालमा स्थापना भएको कारखानाबाट विदेशमा समेत कृषि औजार निर्यात हुने गरेका थिए । तर कारखाना व्यवस्थापनमा भएका कमजोरीले २०५९ सालसम्म कारखाना बन्द भइको थियो ।