बैशाख १५, सङ्खुवासभा । अरुण नदीमा बोलेरो जीप खस्दा चालकसहित तीनजना घाइते भएका छन् । सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खसेको हो ।
सोमबार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो जिप धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा खाँदबारी–९ का ४१ वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० वर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
घाइते भएका तीनै जनाको उद्धार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् ।
प्रहरी उपरीक्षक बस्नेतका अनुसार धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भइ अरुण नदीमा खसेको थियो ।
अरुण नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।