असोज २३,काठमाडौँ । दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडक प्रयोग गर्ने सवारीको संख्या बढेको छ ।
यो सडक २४ किमीको छ । सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ । करिब १ दशमलब ५ किलोमिटर कालेपत्रे गर्न बाँकी रहेको सडकमा अहिले पनि काम भैरहेको छ । केही साना खोलाहरुमा कजवे बनाउन बाँकी रहेको छ ।
अहिले अधिकांश साना सवारी साधन हाइस, जिप, कार सीतापाइला–धार्के सडक भएर जाने गरेका छन् । । नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तत्थ्याङ्क नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ। नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौँतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ।
यो सडकको विस्तृत परियोजना प्रतिवेदन डिपिआर राजेन्द्र प्रसाद पाण्डे स्थानीय विकास मन्त्री हुँदा तयार पारिएको थियो । झन्डै रु १५ करोड खर्चिएर डिपिआर तयार गरिएको बताइएको छ। धादिङका सांसदसमेत रहेका पाण्डेको पहलकदमीमा यो बैकल्पिक सडक निमार्णको अन्तिम चरणमा रहेको छ ।
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |