माघ १०, काठमाण्डौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएका हुन् ।
विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए ।