माघ ३०, काठमाण्डौँ । ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी राजनीतिले तातो लिएको छ । विभिन्न विचारधारासँग सम्बन्धित विद्यार्थी नेताहरू आआफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा छन् । यसैबीच नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का तर्फबाट पवन यादवको नाम चर्चामा छ। यादव अनेरास्ववियुको पर्सा जिल्ला कमिटीका सचिवसमेत हुन् । संगठनले उनलाई स्ववियु निर्वाचनको उम्मेदवारका रूपमा चयन गरिसकेको छ ।
मिलनसार, मृदुभाषी र विद्यार्थीको हकहितका लागि निरन्तर संघर्ष गर्न सक्ने नेताका रूपमा परिचित यादवलाई अर्को कुनै विकल्प नरहेको अनेरास्ववियुका विद्यार्थी नेताहरूको भनाइ छ ।
ठाकुर राम बहुमुखी क्याम्पसमा देखिएका बेथिती अन्त्य गर्न र क्याम्पसको पुरानो साख पुनःस्थापित गर्न आफू चुनावी मैदानमा होमिएको यादवले नेपाल पोस्ट डेलीलाई बताए। उनले संगठनभित्र राय–सल्लाह भइसकेको र अनेरास्ववियुबाट आफ्नो प्यानलमै निर्वाचनमा जाने पक्का भएको जानकारी पनि दिएका छन्। ठाकुर राम क्याम्पसमा स्ववियु निर्वाचन आउँदो चैत ५ गते हुने कार्यतालिका रहेको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।