काठमाडौँ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लागेर जीपमा आगो लाग्दा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई रहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए ।
घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ । एसपी दाहालका अनुसार ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।