काठमाडौं । भारतको जम्मु कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलाको नेपाल सरकारले कडा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आतङ्कवादका जघन्य कार्य अस्वीकार्य रहेको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन् ।’
साथै नेपालले शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडलले आतंकवादी हमलाप्रति दुख व्यक्त गर्दै निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य निन्दनीय भएको बताएका छन् ।
पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका छन् ।
आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
पहलगाममा भएको आक्रमणमा परी एक जना नेपाली सन्दीप न्यौपानेसहित २६ जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफले उक्त आक्रमणको जिम्मा लिएको छ । कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।
पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ ।