काठमाडौँ । सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गर्नेे चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाएको हो ।
उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनीहरूलाई अहिले जिम्मेवारीमुक्त गरी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ ।
केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा चार जना ट्राफिक प्रहरी संलग्न रही एक व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गरिरहेको देखिन्छन् । गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि गत मंसिर ११ गते कुटपिट भएको हो ।
जिम्मेवारीबाट हटाइएका भनिएका प्रहरीको परिचय भने खुलाइएको छैन ।