काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान भएको वार्ता निष्कर्षमा नपुगि सकिएको छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्तामा आफूहरुका माग र आन्दोलनबारे जानकारी गराउने काम भएको बताए । उनले वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने बताए । तर अर्को वार्ताको समय टुंगो लागिनसकेको बताए । यस्तै वार्तासँगै आन्दोलन पनि जारी राख्ने उनले बताएका छन् ।
शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार गएका थिए । यसअघि सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि मन्त्रालयले २५ जनाको नाम तोकेर बोलाएकामा आपत्ति जनाउदै शिक्षकहरु वार्त नगरी सिंहदरबार गेटबाटै फर्किएका थिए ।
नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू २५ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षालगायतका शैक्षिक गतिविधि ठप्प भएको छ ।