वैशाख, १६ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का संयुक्त बैठकमा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने छन् ।
सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपतिसमक्ष सिफारिस अनुरोध गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ । संघीय संसद्को दुवै सदनमा अलग अलग छलफल हुनेछ । करिब एक साता छलफल गरेपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते जवाफ दिने कार्यतालिका बनाइएको छ ।
यस्तै, बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा वैशाख २८ गते नै प्रस्तुत गरिने छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल गर्ने कार्य तालिका छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत स्वीकृत गरेको छ ।