नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ । यातायात ठप्प हुँदा आफ्नो गन्तव्यमा जाने यात्रु समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा भने बन्दको असर खासै देखिएको छैन । सरकारले राष्ट्रघात र जनताको स्वाभिमानमाथि कुठराघात गरेको भन्दै प्रतिरोधस्वरुप नेकपाले बन्द आह्वान गरेको हो ।
नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् ।
आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।
धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।
चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि आइतबार बिहानै बम विस्फोट भएको छ । विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको प्रहरीले बताएको छ ।
त्यस्तै आइतबार बिहान चितवनको लोथरमा पनि वम विस्फोट भएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले वैशाख ३० गतेका लागि नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।