कांग्रेसमा फेरि विवादः पौडेल र सिटौला पक्ष नगएपछि अनुशासन समिति गठन हुन सकेन

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७५ फागुन १५, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुन १५, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष चिढिएको छ।

पार्टी विधान पारित गर्दाको विवाद सेलाउन नपाउँदै अनुशासन समिति गठनबारे तनाब देखिएको छ।

देउवाले मंगलबार केन्द्रीय समितिको बहुमतबाट समिति गठन गर्न खोजेपछि संस्थापन इतरपक्षले विरोध गरेको थियो । विरोधकै कारण बैठक स्थगित भएको छ । आइतबार पार्टी विधान पारित गर्दा पनि बहुमतबाट निर्णय भएको थियो।

पौडेलले अनुशासन समिति र निर्वाचन समिति पार्टीका अर्धन्यायिक निकाय भएकाले एकैसाथ र सर्वस्वीकृतिमा गठन हुनुपर्ने माग राख्दै आएका छन्।

मंगलबार पनि पौडेल र सिटौलाले सभापति देउवासँग पार्टी कार्यालयमा त्यही माग दोहोर्‍याए । देउवाले निर्वाचन समिति तत्काल गठन गर्न चाहेनन् । बरु पाँच सदस्यीय अनुशासन समितिमा दुई जनाको नाम दिन पौडेललाई आग्रह गरे। पौडेलले अस्वीकार गरे।

सिटौलाले पनि अनुशासन समितिमा पनि बहुमत र अल्पमतबाट निर्णय गर्ने हो भने मेरो तपाईंलाई साथ हुन्न भन्दै देउवाको कार्यकक्षबाट बाहिरिए।

देउवा आफ्नो पक्षबाट संयोजकसहित दुई सदस्य राखेर मंगलबारै समिति गठन गर्ने तयारीमा थिए । देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार भीष्म आङदम्बेको संयोजकत्वमा संस्थापन पक्षबाट सदस्यहरू देवेन्द्रराज कँडेल, किशोरसिंह राठौंर र मोहन बस्नेतमध्ये दुई जना राख्ने तयारी थियो।

तर पौडेल र सिटौला पक्ष नगएपछि बैठक थाल्न आवश्यक संख्या नै नपुगेकाले देउवाले स्थगित गरे।

पौडेलपक्षले आफ्नो विरोध गर्नेहरूलाई कारबाही गर्ने नियतबाट समिति गठन गर्न खोजिएको भन्दै संशय प्रकट गरेको छ । प्रस्तावित संयोजक र सदस्यहरूप्रति नै पौडेल पक्षको आपत्ति छ। निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नेलाई स्थान नदिएर कट्टर समर्थकलाई राखिएको उसको बुझाइ छ।

‘अनुशासन र निर्वाचन समिति पार्टीका न्यायिक समिति हुन् । यी समिति पारस्परिक विश्वास र सहमतिमा गठन हुनुपर्छ,’ पौडेलले भने, ‘समितिमा बहुमत सदस्यहरू तपाईं (देउवा) नै राख्नुहोस् तर सल्लाह र सहमतिबाट गरौं भन्दा जबरजस्ती पेलेरै बनाउन खोजेपछि बैठक हलमा नगएका हौं।’ मंगलबार महामन्त्री शशांक कोइरालासमेत बैठक हलमा नगई पौडेलकै कार्यकक्षमा बसेका थिए।

संस्थापन पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने सहमतिबाटै समिति गठनको पहल गर्न सभापतिले बैठक स्थगित गरेको दाबी गरे । ‘सकभर सहमतिबाटै समिति गठन होस् भनेरै बैठक सुरु नगरिएको हो, बहुमत नपुगेर होइन,’ उनले भने, ‘अब केही दिन सभापतिले सहमतिकै लागि सबै पक्षसँग छलफल गर्नुहुनेछ । त्यसपछि मात्रै समिति गठन हुनेछ।’

ताजा अपडेट

खोजी गर्नुहोस