बैशाख २७,धादिङ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (क) मा आगामी आर्थिक बर्ष २०७६/७७ का लागी योजना तर्जुमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार प्रदेश ३ का ३३ जिल्लामा सो कार्यक्रम गरिएको थियो । सोही किसिमको कार्यक्रम धादिङको थाक्रे गाँउपालिका–६ स्थित महादेववेशीमा पनि गरिएको हो । कार्यक्रममा प्रदेश सभा क्षेत्र (क) मा आगामी बर्ष समेट्नु पर्ने योजनाका विषयमा छलफल भएको थियो । प्रदेश सांसद तथा नेकपाका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्छी गाँउपालिका,थाक्रे गाँउपालिका र धुनिवेशी नगरपालिकामा आवश्यक सडक,खानेपानी,बिद्यालय,पार्क,बिद्युत,सहकारीका लागी आवश्यक बजेट र योजना छनोटका विषयमा गाँउपालिका प्रमुखहरुले आफ्ना पालिकामा रहेको समस्या,योजनाको सुची र बजेटका सन्र्दभमा विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा सांसद पाण्डेले गत बर्ष आफ्नो क्षेत्रमा १६ करोडको योजना पार्न सफल भएको भन्दै आगामी बर्षको योजना व्यविस्थत बनाउन योजना तर्जुमा सम्बन्धी कार्यक्रम गरिएको बताए । उनले पहुँच र पदिय हैसियत भएकाले मात्रै आफ्नो क्षेत्रमा योजना थुपार्ने र पहुँच नभएका नेताको क्षेत्रमा योजना नै नपर्ने बेथीतीको अन्त्यको लागी आफुले प्रदेश सरकारसामु प्रस्ताव राखेको र सोही प्रस्ताव अनुसार नै १३ वटै जिल्लामा योजना छनोटको लागी अन्तक्रिया कार्यक्रम राखिएको बताए । उनले केन्द्रबाट आउने योजना र प्रदेशबाट आउने योजना नजुधोस् भनेर यस्तो किसिमको अन्तक्रिया गरिएको बताए । नेता पाण्डेले ठेक्का प्रणालीमा सबैभन्दा कम रकम कबोलेर ठेक्का हात पार्ने र कामै नहुने स्थितीको अन्त्य हुनेपर्ने बताउदै आफुले केन्द्रिय तहमै छलफल गरेको बताए ।
उनले अवका दिनमा आफुले ल्याएका योजनालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न योजना तर्जुमा देखी योजना कार्यान्वयन नभइन्जेल सम्म विभिन्न चरणका छलफल र भेला गरिरहने बताए । उनले भने–’अब योजना समयमै सकाउन मेरो क्षेत्रमा रहनुभएका जनप्रतिनिधि र कर्मचारीसंग नियमित संवाद छलफल गर्छु,त्यतीमात्रै होईन, योजना छनोट,योजनाको कार्यान्वयनको अवस्था र योजना सम्पन्न भएपछि पनि कस्तो रह्यो भन्ने विषयमा जनतादेखी जनप्रतिनिधिसम्म छलफल चलाउछु ।’ सांसद पाण्डेले आगामी जेठ ४ सम्ममा आफ्नो वडा तथा पालिकामा आवश्यक योजना तर्जुमा गरी पठाउन आग्रह गरे ।
कार्यक्रममा थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यले सांसदहरुले योजना ल्याउदा गाँउपालिकासंग पनि समन्वय गरेर ल्याउन आग्रह गरे । उनले आफुहरु जनताको विकासका लागी हरेक काम गर्न निरन्तर लागि परेको बताउदै सबैले साथ दिनुपर्नेमा जोड दिए । प्रमुख आचार्यले गाँउपालिकामा आफु अध्यक्ष भएर आएदेखी ६ वटा प्रमुख कार्यकारी फेरीएको बताउदै अहिले वडामा कार्यालय सहायकको भरमा वडा चलिरहेको यर्थात प्रस्तुत गरे । उनले कर्मचारी समायोजन चाँडै टुङग्याउन आग्रह गरे ।
यस्तै गल्छी गाँउपालिका प्रमुख कृष्णहरी श्रेष्ठले आफ्नो प्रदेशबाट योजना ल्याउन व्यवस्थित रुपले योजना छनोट कार्यक्रम गर्नु सकारात्मक रहेको बताए । धुनिवेशी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले आफ्नो नगरमा परेका योजना कार्यान्वयन हुने अवस्थामा रहेको बताए । उनले प्रदेशबाट आएका योजनालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा तिनवटै पालिकाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सांसद राजेन्द्र प्रसाद पाण्डेद्धारा प्रस्तुत योजना मापदण्ड र प्रक्रिया ढाँचा