-राज ढुंगाना
मंसिर १०, काठमाण्डौ । राजधानीका अधिकांश चोक,गल्ली र मुख्य केन्द्रहरुमा अहिले कोठा भाडामा छ, टु लेट, घर भाडामा, फ्ल्याट खाली जस्ता पप्लेट विभिन्न घरका ढोका,भित्तामा टाँसिएको देख्न पाइन्छ । कुनै बेला थापाथली चोकमा सटर लिन बर्षौ कुर्नपर्ने थियो । त्यही कोठा÷सटर मिलाउन कमिशन समेत दिनपर्ने अवस्था थियो । राजधानीको कालीमाटी चोकमा सटर पाउनु भनेको ठुलै युद्ध जितेजस्तो हुन्थ्यो । राजधानीका त्यही मुख्य चोक कलंकी, थापाथली,जमल,कालीमाटी लगायत अधिकांश ठाँउमा सटर,कोठा खाली छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला नेपाललाई पनि प्रभावित पारिरहेको छ । यसको असर खासगरी व्यापार, व्यवसाय देखि हरेक साना तथा घरेलु उद्योग, साना सेवाग्राही कार्यालयमा परेको छ । व्यापार चौपट भएपछि ती व्यवसायहरु बन्द हुने क्रम अझै जारी छ ।
उपत्यकाबाट दैनिक कोठा,सटर,र फ्ल्याटका सामान बोकेर गाडीहरु मुख्य नाकाहरु नागढुंगा,जगाती,टोखा र फर्पिङबाट बाहिरिरहेका छन् । कलंकीबाट आफ्नो कोठाको सामान उठाएर चितवन जाँदै गरेका बिमल तामाङ भन्छन्–अहिले दैनिक ४०÷५० वटा भन्दा बढी मिनीट्रकहरु भएभरका सामान उठाएर नाकाबाट बाहिरिरहेको छ , यहाँ घरबेटीलाई भाडा दिने कमाई पनि नभएपछि किन बस्ने ? दिनभरी दुख गर्यो, कोठा भाडा पनि तिर्न नपुग्ने गुजारा काम छैन् । अब त गाँउमै जाने हो ,जे सकिन्छ त्यही काम गर्ने । बरु आफ्नै घरमा बस्ने । उनिसहित उनको परिवार नै चितवन बाहिरिएको हो । यो त प्रतिनिधी उदाहरण मात्रै हो ।
राजधानीका मुख्य चोकहरुमा एउटा सटरको भाडा न्युनतम २० हजार पर्ने गरेको भाडावालहरु बताउछन् । दशैँतिहार अगाडी नै धेरै साना व्यवसायीले उपत्यका छोडिसकेका छन् । कोही भने दशै तिहारमा राम्रो व्यापार होला की भन्ने आशा गरेर बसे । तर मुख्य चाडवाडमा पनि सोचेजस्तो नभएपछि उनिहरु पसल बिक्रिमा, सटर खाली जस्ता पम्पलेट टाँसेर बसेका छन् । उनिहरु केही समयभित्रै पसल बिक्रि गर्न नसकिएमा पसलको सामान नै छोडेर पलायन हुने मनस्थितीमा पुगेका छन् । उपत्यकामा कोरोना भाइरसको थप जोखिम कायमै छ । बढ्दो भाडादर, घरबेटीको नियमित करकर, घरभाडाको उचित व्यवस्थापन नहुँदा भाडामा बस्नेहरु पिडामा छन् । कोरोना भाइरस अगाडी उपत्यकाका घरबेटीले मनलाग्दी भाडा असुल गर्थे । ती भाडादरको कुनै मापदण्ड राज्यले बनाएको थिएन् । न त व्यवसायीमैत्री भाडादर घरबेटीले लिने गर्थे । कोभिढ १९ पछि पनि सरकारले भाडादरसम्बन्धी नयाँ व्यवस्था नल्याएपछि व्यवसायी तथा कोठामा बस्नेहरु थप मारमा परेका हुन् । लकडाउनमा समेत सरकारले व्यवसाय बन्द गर्, सम्पुर्ण कुरा ठप्प पार भन्ने तर सटर लगाएर बस्दापनि त्यो अवधिभरको भाडामा कुनै छुटसमेत नहुँदा व्यवसायी थप पिडामा परेको बताउछन् उपत्यकामा होटल÷रेष्टुरेन्ट व्यवसाय गर्दै आइरहेका विकास थापा । हुन त केही मनकारी घरबेटीले समय सहज नहुन्जेल मासिक भाडामा ५० प्रतिशत छुट दिएका छन् । तर अधिकांश घरबेटीले बरु कोठा÷सटर खाली होस् भाडा एक रुपैया पनि घटाएका छैनन् । उनिहरुले नियमित दबाव दिएर भएपनि व्यवसायीसंग भाडा उठाइरहेका छन् । ठमेलमा रेष्टुरेण्ट व्यवसाय गर्दै आइरहेका शिवराज अर्याल भन्छन्– कोरोना महामारीको अन्त्य होला्, समय सहज होला भन्ने आशमा रहेको थिए । तर परिस्थती त्यस्तो बनेन्, भाडा तिर्दातिर्दा हैरान भइसकियो । उनले भने–बरु बेरोजगार बस्दा खर्च घट्ला, व्यवसाय गर्दा भाडाकै मारले पिरोलेको छ । केही समय बरु बेरोजगार नै बस्ने सोच बनाएको छु । उनको दुखेसो छ–सरकारले नै यस्तो बेलामा न्युनतम भाडा कायम गरिदिए हुन्थ्यो । तर राज्यले यस विषयमा कुनै पहल भने गरेको छैन् ।
उपत्यकामा अन्य व्यवसाय नभएका, घर भाडामा लगाएर जिवन निर्वाह गरिरहेका घरधनीको आफ्नो कोठा खाली हुँदा त्रसित बनेका छन् । सटर र कोठा खाली भएपछि उनिहरुको एकमात्र आम्दानीको स्रोत सुकेको छ ।