हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी विजयी

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ४,काठमाडौँ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी ६ हजार ४०७ मत सहित निर्वाचित भएका छन् । कतिपयले यो परिणामलाई मधेसमा जनमत पार्टीको लोकप्रियताको रुपमा पनि बुझेका छन् । नगरपालिकाका १० मध्ये २ वटा वडामात्र जितेको जनमत पार्टीले नगर प्रमुखमा जित हासिल गर्नु, सोही पार्टीबाट उपप्रमुखमा हार्नु भने आफैमा अनौठो हो ।

२०७४ सालको निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रमुख दुवै पद तत्कालीन राजपा नेपालले जितेको थियो । त्यतिबेला प्रमुखमा राजपा नेपालका शैलेशकुमार साह र उपप्रमुखमा पनि राजपाकै सरितादेवी यादव सिपालिया निर्वाचित भएकी थिइन् ।

तत्कालीन संघीय समाजवादी र राजपा नेपालबीच एकता भइ जसपा नेपाल बनेपछि साह र यादव दुवै स्वाभाविक रुपमा जसपा नेपालमा आवद्ध भए । तर जसपा नेपाल विभाजन हुँदा तत्कालीन राजपाका कतिपय जनप्रतिनिधिहरु महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालमा गए पनि उनीहरु दुवै जसपामै रहे ।

स्थानीय तहको निर्वाचन २०७९ मा सो नगरपालिकाको प्रमुखमा जसपा नेपालले शैलेशकुमार साह र उपप्रमुखमा सरितादेवी यादव सिपालियालाई नै उम्मेदवार बनायो । तर प्रमुखमा उम्मेदवार बनेका साहलाई १६१ मतले पराजित गर्दै जनमत पार्टीका माझी निर्वाचित भए । उपप्रमुखमा भने जसपा नेपालकै सिपालिया निर्वाचित भएकी छन् । उनले ६ हजार ५१२ मतका साथ जित हासिल गरेकी हुन् ।

नगरप्रमुखमा जसपा नेपालका शैलेशकुमार साहले ६ हजार २४६ मत पाए । यस्तै, नेकपा माओवादी केन्द्रका राहुलकुमार मण्डलले ३ हजार ८७३, नेपाली काँग्रेसका उमेशकुमार मिश्रले एक हजार ५९२ र नेकपा एमालेका शरिफ रहमानले एक हजार ७९ मत पाए ।

उपप्रमुखमा भने सिपालियाकी निकटतम प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस