जेठ १ ,काठमाडौँ । स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ ।
निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले) का अध्यक्ष ओलीको नेतृत्वमा गत फागुन ३ गते सरकार गठन भएको थियो । चुनावी घोषणाबमोजिम समाजवादउन्मुख अर्थतन्त्र र प्रणाली स्थापनाको दिशामा अग्रसर सरकारले यही जेठ ७ गते आफ्नो पहिलो नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरेको छ ।
एमाले र माओवादी केन्द्रको एकताको तयारी घनिभूतरुपमा अघि बढिरहेकाले एकतापछि सरकारले आफ्नो घोषित गन्तव्यमा तदारुकताका साथ काम गर्ने देखिएको छ । संविधान कार्यान्वयनका लागि कानून र संरचनाको निर्माण, भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउने निर्णय र सुशासनका आधारहरु तय गरेकाले सरकारको एक सय दिन उत्साहजनक देखिएको छ ।
भारत र चीनसँगको सन्तुलित सम्बन्धको प्रयास
ओली नेतृत्वको सरकारले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गरी दुवै देशलाई नेपालको आवश्यकता र प्राथमिकताका आधारमा सहयोग दिन लगाउन ध्यान केन्द्रित गरेको छ । कुनै एक देशलाई काखा र अर्र्कोलाई पाखा नगरी दुवैसँग नेपालको सार्वभौमिकता र स्वाधीनताका आधारमा सन्तुलित सम्बन्धका लागि प्रधानमन्त्री ओलीले पटकपटक आफू कटिबद्ध रहेको स्पष्ट पार्दै आएका छन ।
आशाको दियो पलायो
सोही प्रतिबद्धताअनुसार प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म छिमेकी मुलुक भारतको राजकीय भ्रमण गरी भारतसँगको सम्बन्धमा नयाँ आयाम थप्नुभयो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८ र २९ गतेको नेपालको राजकीय भ्रमणले आपसी सम्बन्धलाई थप मजबुत बनाएको अनुभव गरिएको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा रेलमार्ग, कृषिको आधुनिकीकरण, जलमार्ग विकास लगायतका विषयमा नयाँ सहमति भए भने वीरगञ्जमा एकीकृत सुरक्षा जाँच चौकी सञ्चालनमा आएको छ ।