जेठ १४,काठमाडौँ । नेपाली सेनाले मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र तराई क्षेत्रमा सीके राउत समूहका गतिविधि चुनौतीका रुपमा आउन सक्न विश्लेषण गरेको छ । मुलुक स्थिरतातर्फ गइरहेका बेला यस्ता गतिविधिले चुनौती थप्न सक्ने सेनाको विश्लेषण छ ।
आइतबार र सोमबार दुईसम्म चलेको नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकमा विभिन्न पृतनाको कमाण्ड गरिरहेका उच्च सैनिक अधिकारीहरुले विप्लवका गतिबिधि हिंसात्मक दिशामा गएको रिपोर्ट गरेको स्रोतले जनाएको छ ।
सैनिक अधिकारीहरुले विप्लव समूहलाई सरकारले कसरी व्यवहार गर्छ भन्ने प्रष्ट हुनुपर्ने सुझावसमेत दिएका थिए ।
बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको थियो । पृतनापति सम्मेलनलाई समापन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विद्यमान परिस्थितिको मुल्यांकन गर्दै सम्भावित चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन मातहतलाई निर्देशन दिएका छन् ।
प्रधान सेनापतिले नेपाली सेनाका अपरेसनल, तालिम तथा बन्दोबस्तीका पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका विभिन्न विभागीय प्रमुख र पृतनापतिहरुको सहभागिता रहेको बैठकमा सुरक्षाका समग्र विषयमा छलफल भएको बताइएको छ ।