जेठ २९,काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै काँग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको बताएका छन ।
नेपाल विद्यार्थी संघ काठमाडौँले सोमबार आयोजना गरेको ‘अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उनले भने, “१३ औँ महाधिवेशनको परिणाम अहिले भोगिरहेका छौँ । वरिष्ठ नेता पौडेलले सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको बताए । “सत्तारुढ दल पैसाको खोल ओढेर कांग्रेस सिध्याउने खेलमा लागेका छन्, कांग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको छ, कांग्रेस समयमै सचेत हुनु जरुरी छ,”–उनले भने।
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि विधानलाई उल्लंघन गरेर पार्टी चल्न नसक्ने बताए । “पार्टी नै विधानअनुुसार चल्न नसक्दा भ्रातृ संस्था लथालिंग अवस्थामा पुगेको छ,” उनले भने । पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामन्तवाद र चाकडीबाज संस्कारले काँग्रेस अगाडि बढ्न नसक्ने बताए । “सभापतिले ४० सांसद मनोनीत गर्दा मजदुर, बुद्धिजीवी, वकिल कसैलाई पनि नगर्नु दुःखद् कुरा हो, यस्तो तरिकाले कांग्रेस चल्न सक्दैन,”, उनले भने । पार्टीभित्र नीति, कार्यक्रम र सांगठनिक संरचना परिवर्तन आवश्यक भएको उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसलाई पहिलो बनाउने दृढ संकल्प बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सबै जनतालाई समेटेर अगाडि बढे मात्र पार्टी सशक्त हुने बताए ।
केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसलाई बलियो बनाउन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तय गरी जनतामाझ जानुपर्ने बेला आएको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व, सिद्धान्त, व्यवहार र आचरण सुधार गरे मात्र कांग्रेस सुध्रिने बताए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले र नेता दीपक भट्टराईले वर्तमान नेतृत्वका कारण नेविसंघ कमजोर भएको छ भन्दै नेविसंघ जोगाउन सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए। नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले कांग्रेस र भ्रातृसंस्थालाई चलायमान बनाउन नेविसंघ काठमाडौँले समय समयमा रचनात्मक काम गर्दै जाने बताए ।