असार ७,काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राङ्गणमा आज योग दिवस मनाइएको छ । स्टेजको पहिलो लहरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीलगायत लाम लागेर योग सम्बन्धी अभ्यास गरेका छन ।
चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार बिहान पतञ्जलि योगपीठले योग कार्यक्रमको आयोजना गरेको थियो । बिहानैदेखि वर्षा भए पनि त्यसको पर्बाह नगरी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीदेखि सर्वसाधारणसम्मले योगको आनन्द लिए ।
योगा आशनपछि बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताए ।
आम जीवन पद्धतिका रुपमा योगको महत्त्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि योग केन्द्र अपरिहार्य रहेको उनको भनाइ थियो ।
रक्षामन्त्रीसमेत रहेका पोखरेलले योगको लोकप्रियता बढेर अहिले शैक्षिक संस्थाले पनि अतिरिक्त क्रियाकलाप तथा औपचारिक विषयका रुपमा पठनपाठन र अभ्यास गराउन थालेको बताए ।
भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।