असार १८,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विभाजित राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहाले मिलाई दिन थालेको नभइ सिद्धान्तको आधारमा मिल्न थालेको बताएका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टी एकीकरण अन्तिम चरणमा पुगेको बताए ।
निर्बाचनमा पार्टीले पराजय भोग्नु र मुलुकमा एकदलिय सर्बसत्ताबाद बढ्दै गएपछि पार्टी एक हुन थालेको उनको भनाई छ ।
उनले पूर्वराजासँग पटकपटक भेटघाट भएपनि पार्टी एकिकरणको बारेमा छलफल नभएको समेत बताए ।
सरकार सरकार एकदलिय सर्बसत्ताबादको खतरातिर जान सक्ने खतरा औंल्याएका उनले भने, ‘सरकारको बारेमा ठोस निश्कर्ष निकाल्नु उपयुक्त बेला त होइन । तर ५ महिनाको गतिबिधि हेर्दा जनतामा केहि आशा र जनतामा बढि आशंकाको स्थीति देखापरेको छ ।’
थापाले अगाडि भने — ‘२ तिहाइको बहुमतको कारण एकातर्फ स्थिरता,आर्थिक बिकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्तााबादको आशंका पनि देखिन्छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाली जनताले निरंकुशता र सर्बसत्ताबाद नस्वीकार्ने कुरा प्रमाणित भैसकेको बताए ।
अहिलेको अबस्थामा दलहरुबिच एकता र सहकार्य गरेर सरकार अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका निम्ति निरन्तर संघर्ष गरिराखेको भन्दै उनले साउन २ देखि हिन्दु जागरण अभियान लिएर देशभर हिँड्ने उल्लेख गरे ।