असार २२,काठमाडौँ । नेपाल र भारतले संयुक्तरुपमा रामायण तथा बुद्ध परिपथमा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गर्ने भएका छन् । दुई देशको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो ।
पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा सडक विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम गतिविधि अगाडि बढाउन लागिएको हो । दुई देशबीच गठित संयुक्त कार्यदलको आज यहाँ सम्पन्न बैठकले उक्त निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार दुई देशबीच पर्यटन प्रवद्र्धनसम्बन्धी १४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
गत वैशाख २८ र २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको भ्रमण गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण परिपथको महत्वबारे प्रकाश पार्नुभएको थियो । प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीले संयुक्तरुपमा रामायण परिपथको बस सेवासमेत सञ्चालनको शुभारम्भ गरेका थिए ।
रामायणकालीन धार्मिकस्थललाई जोड्ने सडक अवधारणालाई रामायण परिपथ नाम दिइएको छ । त्यसमा भारतले आफ्ना १५ धार्मिकस्थललाई जोड्न तयार पारेको ‘रामायण परिपथमा नेपालको जनकपुर पनि समेटिएको छ ।
रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थललाई एउटै मार्गले जोडिनेछ । त्यसमा नेपालको जनकपुर भारतको अयोध्या, शृंगवेरपुर, चित्रकुट, विहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगनाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुर रहेका छन् ।
सो परिपथमा सीताको माइती तथा रामको ससुराली जनकपुरधामलाई समेत अब जोडिएकाले नेपालका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । हाल श्रीलंकालाई यो सर्किटमा नजोडिए पनि जोड्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । रामायण सर्किटले जनकपुरको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
यस्तै बुद्ध परिपथमा नेपालतर्फ लुम्बिनीलाई केन्द्रमा राखेर तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदि क्षेत्र समावेश हुनेछ । भारतले बोधगयालाई केन्द्रमा राखेर सारनाथ, कुसीनगर, श्रावस्तीलगायतका स्थानलाई जोडेर करीब ७०० किलोमिटरको क्षेत्रमा बुद्ध परिपथ सञ्चालन गरिरहेको छ । दुई देशको सहमतिपछि दुवै देशको परिपथ एक आपसमा जोडिनेछ ।
दुई देशबीच भएको सहमतिअनुसार पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन लक्ष्यका साथ योजनाबद्ध तवरले अगाडि बढ्ने उल्लेख छ । सहमतिअनुसार नेपाल सरकारको मागअनुरुप भारतीय पक्षले भारतका सरकारी कर्मचारीलाई उपलब्ध गराउने विशेष सुविधामा नेपालका पर्यटकीय क्षेत्रको भ्रमणलाई भ्रमण प्याकेजमा राख्ने सहमति जनाएका छन् । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय पक्षले सम्बन्धित मन्त्रालयलाई आग्रह गर्ने भएको छ ।